डाक्टरले चलाएको कारले ठक्कर दिँदा प्रहरीका वरिष्ठ सईको मृत्यु

डाक्टरले चलाएको कारले ठक्कर दिँदा प्रहरीका वरिष्ठ सईको मृत्यु

विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । दुर्घटनामा संलग्न कार चालक रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

nullहुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजेतिर दुर्घटना भएको हो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भएका अन्दाजी ५० वर्षीय लालकुमार यादव गम्भीर घाइते भएका थिए । उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिए पनि उपचारकै क्रममा दिउँसो ४ः१६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । 

nullदुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवस्था सामान्य रहेकी उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ । मृतक यादव यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए । उनले आफ्नो दरबन्दी कायम भएको जिल्ला प्रहरी कार्यालय सिराहामा जान असार ६ गते रमाना लिएका थिए ।

त्यसअघि बारामा कार्यरत रहँदा सई (प्रहरी नायब निरीक्षक) बाट वरिष्ठ सईमा बढुवा भएका उनको दरबन्दी सिराहा भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रवाना बुझेर बाराबाट हिँडेको भए पनि उनी सिराहामा हाजिर भइसकेका थिएनन् । कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ ।

nullरेडियोलोजिस्ट रहेका उनी नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्ष समेत रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट एक्स–रे सेवा प्रदान गर्न बर्जुको चिमडी बजारतर्फ जाने क्रममा उनी आफैंले चलाएको ईभी कारले दुर्घटना गराएको पत्ता लागेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला कार तीव्र गतिमा गुडिरहेको थियो । कारले ठक्कर दिनासाथ मोटरसाइकलमा आगलागी समेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयको  सक्रियतामा आगो तत्काल नियन्त्रणमा लिइएको थियो ।

मोटरसाइकललाई ठक्कर दिएपछि कार उछिट्टिएर विपरीत लेनमा पुगेको थियो । दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ । यद्यपि, चालक डा. चौधरी भने सकुशल रहेको र उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको कारण, सवारीको गति तथा अन्य प्राविधिक पक्षका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.