ढाकाले फेरिएको जीवन
तेह्रथुम : सामान्य परिवारमा जन्मिएकी लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो।तर, उनको आर्थिक हैसियत कमजोर थियो।उनी विद्यालय जाँदा पनि पढाइभन्दा तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्थिन्।ढाकाको टोपी बुनिरहेका महिलालाई सीप सिकाइदिन भन्थिन् ।
२५ वर्ष अघिको उनको बाल्यवस्था यस्तो थियो।तर अहिले उनकोे अवस्था फेरिएको छ।आम्दानी अहिले मनग्गे छ।उनले म्याङलुङ बजारमा ढाका कपडा उद्योग सञ्चालनमा ल्याएकी छन्।सफल ढाका उद्यमीका रूपमा उनको परिचय छ।उनको उद्योगमा ३५ जनाले रोजगारी पाएका छन्।उनीहरूले मासिक १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
सिर्जनालाई यो अवस्थामा पु¥याउने ढाका कपडा व्यसाय हो।२०५७ सालमा घरेलु तथा साना उद्योग विकास समिति र सहयोगी संस्था मेडेपको प्राविधिक सहयोगमा सञ्चालित ढाका कपडा बुनाइसम्बन्धी तीनमहिने तालिममा सहभागी भएकी सिर्जनाले यहीँ व्यवसायबाट जीवनस्तर फेरेकी हुन् ।
तालिममा सहभागी भएमध्ये उत्कृष्ट भएकी सिर्जनालार्ई घरेलुबाट केही इनाम मिलेपछि त्यही आत्मविश्वासले आत्मर्नभर बन्ने बाटो खुल्यो।तीनमहिने सिकाइबाट उनले ढाका कपडाबाट तयार हुने पछ्यौरी, सट, चौबन्दी, साडी, गलबन्दी, स्कार्फ, टाई, कोट, ब्लाउज, रुमाल, बर्को, हाते झोलालगायत विभिन्न किसिमका सामग्री तयार गर्न सिकिन्।सबै व्यवसाय बजार केन्द्रित भएको भन्दै उनीले आफ्नै गाउँघरमा नै तान बुन्न थालिन्।आम्दानी राम्रै हुन थालेपछि बचत पनि हुँदै गयो।घरैमा पनि ढाका कपडाको माग धान्न निकै धौ धौ थियो।त्यही समयमा करिब एक सय जनालाई उनले ढाका कपडा बुन्न सिकाइन् ।
आफ्नो कामका लागि कहिले उनका हात थाकेनन्।उनले बुनेका कपडा कलात्मक र आकर्षक बुट्टा भएका कारण बजारको कहिले कमी भएन।कपडा तयार गर्ने कामले निरन्तरता पाएसँगै त्यहाँबाट आएको आम्दानीबाट घरको अन्य गर्जो टारेर बचेको पैसाले म्याङ्लुङमै उद्योग सुरु गर्ने निधो गरिन्।२०६६ सालमा सिर्जना ढाका कपडा उद्योग दर्ता गरेर व्यावसायिक ढाका कपडा उत्पादनको सुरुवात गरिन् ।
उद्योगबाट मासिक बचत पनि रामैै्र हुन थाल्यो।ढाका बुनाइको सीपमा पनि वृद्धि भएपछि आकर्षक कपडा बुन्ने भएकाले बजारको कुनै समस्या भएन।उद्योगबाट अहिले मासिक एकदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको छ।उनले भनिन्, ‘मेरो उद्योगमा तीन सय बढीले सीप सिकेका छन् ।’ सामाजिक संस्था देउराली सोसाइटीले गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा ढाकाको बजार व्यवस्थापन र मूल्य निर्धारणबारे उद्यमीलाई दिएको तालिममा सहभागी बनेपछि आफ्नो श्रमको उचित मूल्य थाहा भएको बताउँछिन्।‘आम्दानी राम्रो छ अब केही जोहो गरेर बजारमै घर बनाउने तरखरमा छु’, उनले भनिन् ।
ढाका कपडा व्यावसायिक रूपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप सिकेपछि ढाका कपडा तयार गर्ने अन्य महिलालाई पनि सहज भएको छ।जिल्लामा करिब पाँच हजार ढाका उद्यमी छन्।जिल्लाभर तीन दर्जन ठूला ढाका उद्योग र अन्य दुई हजारभन्दा बढी घरेलु ढाका उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग विकास अधिकृत नवीन पौडलले बताए ।
तेह्रथुममा तयार भएका ढाकाका सामग्री नेपालका विभिन्न स्थान तथा भारतको सिक्किम, दार्जिलिङ, कोलिम्पोङलगायत सिंगापुर, हङकङ, यूके, अमेरिका, बेलायत, जापानसम्म निर्यात हुने गरेको छ ।