कलंकी–कोटेश्वर सडकको डिजाइनको त्रुटि सच्याइने
काठमाडौं : सरकारले कलंकी–काटेश्वर सडक निर्माण गर्दा डिजाइनमा भएको त्रुटि सच्याउने भएको छ। साढे ९ किलोमिटरको यो सडक निर्माण गर्दा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको थिएन। चक्रपथ विस्तार आयोजनाले मुख्य लेन छुट्टयाउन मेडियन निर्माण गर्ने तयारी गरेको छ। आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार विस्तारित चक्रपथमा डिभाइडर निर्माण नगरिएकाले पनि दुर्घटना बढ्दो क्रममा रहेको बताए।
उपत्यकाको भित्री र बाहिरी बस्ती छुट्टयाउने चक्रपथ सहरी रणनीतिक सडकका रूपमा छ। तर, यो सडकको डिजाइन गर्दा सुरक्षाभन्दा पनि गतिशीलतालाई प्राथमिकता दिइएको छ। जापानी सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको कोटेश्वर–सूर्यविनायक सडकमा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको छ। तर, कलंकी–कोटेश्वरमा भने डिभाइडर छैन।
सडक विभागले कलंकी–कोटेश्वर खण्डलाई यात्रु र सवारी सुरक्षित राख्न र्यापिड इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसलाई अध्ययन गर्ने जिम्मा दिएको थियो। कन्सल्टेन्सीले नवनिर्मित सडकमा पूर्वाधार थप गरेर सुरक्षित बनाउन सकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। ‘सडक सुरक्षित बनाउन डिभाइडर निर्माण गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ। विपरीत दिशाको सवारी आगमन छुट्टयाउने डिभाइडर नभएकाले सवारी चाकलले लापारबाही गरिरहेका छन्’, सडक विभाग तथा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले भने, ‘तीव्र गति र ओभरटेक गर्दा सवारी दुर्घटना हुने गरेको छ। विपरीत दिशाबाट गुड्ने सवारीलाई एकअर्काबाट अलग गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’
सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको कलंकी–कोटेश्वर सडक ८ लेनको छ।
कलंकी–कोटेश्वर सडकमा सन् २०१९ डिसेम्बरसम्म डिफेक्ट लायविलिटी पिरियड (निर्माण कम्पनीले निःशुल्क मर्मत सम्भार गर्नुपर्ने अवधि) छ। उत्ताm अवधिभर सडकको भौतिक संरचना परिवर्तन गर्दा चीनको स्वीकृति लिनुपर्छ। विभागले गराएको अध्ययनमा सडक सुरक्षित बनाउन यो सडकको बीचमा ग्रिनरी पनि राख्नुपर्ने सुझाव छ। आयोजनाले असार १४ गतेदेखि सडकको ग्रिनरी बेल्टमा बिरुवा रोपने कार्य सुरु गर्ने जानकारी दिएको छ।
चक्रपथ विस्तार आयोजनाले मुख्य लेन छुट्टयाउन मेडियन निर्माण गर्ने तयारी गरेको छ।
यस्तै सडकलाई सुरक्षित बनाउन एक्सप्रेस–वेको बनोटलाई सहरी सडकका रूपमा रुपान्तरण गर्ने गरी चोकलाई व्यवस्थित गर्न भनेको छ। यस्तै पैदल यात्रुका लागि आवश्यक मात्रमा आकाशे पुल नभएकाले पनि जोखिम पूर्णरूपमा बाटो काट्न बाध्य छन्। हाल कोटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल बनेको छ। यो सडक डिजाइन गर्दा मुख्य लेनको अधिकतम गति ५० किलोमिटर र सर्भिस लेनको २० किलोमिटर तोकिएको छ। हाल ट्राफिक प्रहरीले तोकिएभन्दा तीव्र गतिमा सवारी चलाउन प्रतिबन्ध लगाइसकेको छ। सवारीचालक तथा पैदल यात्रुलाई सडकको अवस्था बारेमा पर्याप्त जानकारी दिन ट्राफिक सिंग्नलको व्यवस्था गर्न पनि प्रतिवदेनमा उल्लेख छ। यस्तै सडक किनाराका ढल र नाला खुल्लै छाडिएका दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुने सम्भवना पनि देखिएकाले त्यसलाई छोप्न पनि सुझाव दिइएको छ।
यस्तै यो खण्डको १५ चोकमा ट्राफिक लाइटको पनि व्यवस्था राख्नुपर्नेछ। पर्याप्तमात्रामा ट्राफिक लाइन नहुँदा ट्राफिक प्रहरीको इसाराका भरमा सवारी गुडाउनुपर्ने बाध्यता छ। रातको समयमा सडक उज्यालो बनाउन ४ सयवटा स्ट्रिट लाइटको राख्नु पर्नेछ। यस्तै पैदल यात्रीका लागि जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने र ती मेटिए वा धमिलियमा तत्काल पेन्ट्स गर्नुपर्नेछ। यस्तै पैदल यात्रुलाई जथाभावी बाटो काट्न रोक्न सडकको दायाँबायाँ फलामको बार लगाउन सुझाव दिइएको छ।
प्रमुख रिमालका अनुसार नेपाली परिवेश सुहाउँदो गरी सडकको डिजाइन गर्न आवश्यक छ। त्यसैका लागि विज्ञ टोलीबाट सडक सुधार गर्न अध्ययन गरिएको हो। ‘सडक सुधारका लागि बजेट अभाव छ। सरकारसँग बजेटको माग गरिएको छ’, उनले भने, ‘बजेट व्यवस्था भए डिजाइन परिवर्तन नगरी सडकलाई सुधार गर्न सक्ने कार्य तत्काल अघि बढाउँछौं।’