सौताको घाँटी रेटी हत्या
उदयपुर : उदयपुरको कटारी नगरपालिका ४ मरुवाकी १ महिलाको आइतबार घाँटी रेटी हत्या भएको छ। श्रीमान ३१ वर्षीय प्रधान राईले कान्छी ल्याएपछि छुट्टै बसेकी ३० वर्षीया सीता राईले आफ्नी सौता २० वर्षीया लक्ष्मी राईको हत्या गरेकी हुन्।
श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी मानसिकरुपमा विछिप्त रहेको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए। ‘दोस्रो विवाह गरेकै विषयमा पटक–पटक झगडा हुने गरेको थियो,’ कुर्मीले भने, ‘१० दिनअघि पनि सोही विषयमा झगडा भएको थियो।’
श्रीमानको घरबाट १ सय मिटर पर बस्दै आएकी सीताले सौतालाई आफ्नै घरमा बोलाएर दिउँसो १ बजे कोही नभएको मौकाछोपी तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको इन्स्पेक्टर कुर्मीले जानकारी दिए। घटना लगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट पुगेको टोलीले महिला र उनले प्रयोग गरेको चक्कु नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको कुर्मीले बताए।