विश्वकपमा सर्वाधिक अतिरिक्त रनको कीर्तिमान
विश्वकप क्रिकेटको इतिहासमा सर्वाधिक अतिरिक्त रनको कीर्तिमान सन् १९९९ मा बनेको थियो । त्यो कीर्तिमान अहिलेसम्म पनि कायमै छ । उक्त विश्वकपको पाकिस्तान र स्कटल्यान्डबीचको खेलमा दुवै टोलीले मिलाएर ९६ अतिरिक्त रन दिएका थिए । पहिले बलिङ गरेको स्कटल्यान्डले अतिरिक्त रूपमा ५९ रन दिएको थियो ।
स्कटल्यान्डका बलरले बाईमा पाँच, लेगबाईमा ६, नोबलमा १५ र वाइडमा ३३ रन दिएका थिए । त्यसपछि दोस्रो पालीमा पाकिस्तानका बलरहरूले पनि अतिरिक्त रूपमा ३७ रन दिएका थिए । पाकिस्तानी बलरले बाईमा एक, लेगबाईमा ११, नोबलमा आठ र वाइडमा १७ रन दिएका थिए । चर्चित पाकिस्तानी बलर वसिम अकरमले पनि ६ वटा वाइड फालेका थिए । उक्त खेलमा पाकिस्तान ९४ रनले विजयी भएको थियो ।
यसैगरी सोही विश्वकपको भारत र जिम्बाबेबीचको खेलमा पनि दुवै टोलीले कुल ९० रन अतिरिक्त रूपमा दिएका थिए । पहिलो पालीमा भारतका बलरले ५१ र दोस्रो पालीमा जिम्बाबेका बलरले ३९ रन अतिरिक्त रूपमा दिएका थिए । उक्त खेलमा जिम्बाबे तीन रनले विजयी भएको थियो ।