रेमिट्यान्समा पोखिएको आँसु

रेमिट्यान्समा पोखिएको आँसु

बैंकबाट काम सकेर हिँड्दै गर्दा पछाडिबाट कसैले बोलाएको सुनेर फर्कें। एकजना परिचित दिदी रेमिट्यान्सको काउन्टरबाट निस्कँदै मलाई बोलाइन्। सामान्य भलाकुसारीपछि उनले भनिन्, ‘बहिनी, लामो समयपछि भेट भएको छ। जाऔं न कतै बसेर चिया खाँदै गफ गरौं।’ मेरो मौनता देखेर उनले प्रश्न गरिन्, ‘कि तिमीलाई फुर्सद छैन ? ’ मैले आफूलाई खासै हतार नभएकाले जान सकिने भनेपछि उनको अनुहार एकाएक उज्यालियो। आफ्नो स्कुटीमा राखेर उनले मलाई एउटा नामी रेस्टुराँमा लगिन्। टेबुलमा रहेको मेनु देखाउँदै सोधिन्, ‘भन न तिमी के खान्छ्यौ ? ’ मलाई खानेभन्दा पनि उनको परिवर्तित स्वभाव र व्यवहारबारे जान्ने इच्छा जाग्यो। किनकि, विगत केही समययता उनका बारेमा धेरै चर्चापरिचर्चा सुनिएको थियो।

तिनको सत्यता या असत्यताबारे मनमा जिज्ञासा भइरहे पनि कसैको व्यक्तिगत जीवनबारेको खोजीनीति मेरो प्राथमिकतामा परेको थिएन। वर्षौंअघिकी ती सरल स्वभावकी गाउँले दिदी अहिले यति आधुनिक र रहस्यमयी बनेकी छन्। पहिरन, शृंगार, गहना अनि उनले भिरेको महँगा ब्याग, टाउकोमा सिउरेको दामी गगल्स, हातको आइफोन आदि सबै नियालिरहेकी मलाई झस्काउँदै उनी बोलिन्, ‘हेर, तिमीलाई अब म पहिलाजस्तो चिया खाएको पैसा तिराउन लगाउँदिन नि ! यहाँ तिमीले जे खाए पनि म तिर्न सक्छु। यी हेर न मसँग कति पैसा छ ! अघि भर्खर बैंकबाट झिकेको, तिम्रा दाइले पठाएको पैसा’ भनेर खित्खिताउँदै उनले पर्स खोलेर नोटका गड्डी देखाइन्। मलाई उनको त्यो ठट्टा त्यति स्वाभाविक लागेको थिएन। तैपनि ठट्टाकै रूपमा भनें, ‘दिदीले त काठमाडौंमा भव्य घर बनाउनुभएको छ रे नि ? ’ प्रश्न सकिन नपाउँदै उनले आफ्ना पीडा मेरो अघिल्तिर यसरी ह्वार्र पोखिइन्, ‘हो बहिनी, त्यही भव्य घरका भित्ताहरूले अचेल मलाई तर्साउन थालेका छन् !

हरेक रात त्यहाँबाट निस्कने अनगिन्ती भूतहरूले मलाई पटक्क निदाउन दिँदैनन्। किनकि, त्यस घरका प्रत्येक इँटा मेरो बैंसालु चाहनाले भिजेका छन्। मेरो पतिसुख र स्वाभाविक पारिवारिक जीवनको चिहानमा उभिएको छ त्यो घर।’ लामो सुस्केरा हाल्दै उनी पुनः बोलिन्, ‘पूरा १० वर्ष भइसक्यो, म तिम्रो दाइबाट अलग्गिएको। दुईचार वर्ष त छोराछोरीको भविष्यका लागि कमाउनुपर्छ भन्ने लागेर चित्त बुझाउँथें। त्यसपछिका प्रत्येक वर्ष यो वर्ष त मेरो पर्खाइको अन्तिम वर्ष हो कि भन्ने आशामा बिताएँ। गाउँबाट यहाँ आएर छोराछोरी हुर्काएँ–पढाएँ। एक्ली जवान युवती, समाज उही हो। कतिले सताए, कति कष्ट झेलें तैपनि निराश थिइन।

उहाँ आएपछि सबै ठीक हुन्छ भन्थें। तर अब त लाग्छ, उहाँले मलाई बिर्सनुभयो ! उहाँ आउने कुरै छैन, खालि पैसा मात्र आइरहन्छ। मन भुलाउन घुमफिर गर्छु। पार्लर जान्छु। सपिङ गर्छु। सिनेमा हेर्छु। अनेक गर्छु। तर यी सबैले मलाई एकान्तमा भतभती पोल्छन् ! अझ हामीजस्तालाई लाहुरेकी स्वास्नी भन्दै बल्छी हाल्नेहरूको भीड पन्छ्याइ नसक्नु छ। एकातिर मरिमरी बाँच्नु, अर्कोतिर चरित्रहीनताको आरोप पनि खेप्नु....।’ बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो। उनका आँखाबाट झरेका आँसुले खुला पर्सका नोट भिज्न थाले।

उनीसँग छुट्टिएपछि म भारी मन बोकेर हिँडिरहेकी थिएँ। जति नै प्रयास गर्दा पनि उनले भक्कानिँदै भनेको कुरा बिर्सन सकिनँ, ‘सबैले हामीजस्ता महिलालाई लोग्नेको पसिनाको कमाइ उडाउने र अनैतिक आचरण भएका भनेर प्रचार गरे। त्यसैले सक्छौ भने बहिनी, तिमीले हाम्रो वास्तविक पीडा र यथार्थ लेखिदेऊ न।’ ती दिदी त एउटी प्रतिनिधि पात्र मात्र हुन्। हाम्रो समाजमा यस्ता असंख्य महिला छन्, जो वैदेशिक रोजगारमा गएका पतिको प्रतीक्षामा आफ्ना बैंसालु चाहना कुण्ठित पारेर बाँचिरहेका छन्। जोरीपारीका पतिपत्नी मस्किँदै र जिस्किँदै हिँडेको दृश्यले भतभती पोलेको छाती रेमिट्यान्सको नोटले हम्केर शीतल बनाउन खोज्दा अनेकौं लाञ्छना र आशंकाको सिकार भइहेका छन्। यति मात्र कहाँ हो र ? आफ्ना अबोध बालाहरूले ‘हाम्रा बाबा कहिले आउनुहुन्छ आमा ? ’ भनेर सोध्दा जवाफ दिन नसकेर सप्काको छेउले आँसु पुछेर हाँसिरहेका दिदीबहिनीहरूको कथा–व्यथा पनि उत्तिकै मार्मिक छ।

धेरै संख्यामा रहेका महिला दिदीबहिनीले पतिको अनन्त पर्खाइमा रेमिट्यान्सका नोटहरूमाथि आँसु झार्दै कहिलेसम्म बाँचिरहने ?

मुलुकमा विद्यमान चरम बेरोजगारका कारण आर्थिक समस्याले पिल्सिएर आमाका गहनादेखि बाबुको पुख्र्यौली थलो बन्धकी राखेर, परिवारको माया मुटुभरि समेटेर बिदेसिएका युवाहरूको कटु भोगाइको कथाव्यथा आफ्नै ठाउँमा छ। ६० डिग्रीमाथि तापक्रमको खाडीमा पसिना बगाउनु उनीहरूको रहर होला र ? नवविवाहित पत्नी, गर्भको वा तोते बोल्दै औंला समातेर अघिपछि गर्ने बालक, डाँडामाथिको घामजस्ता आमाबुवालाई चटक्क छाडेर गएका उनीहरूको सम्पन्न बन्ने सपना कति सहज र साकार भएको होला त्यो बेग्लै पाटो हुन सक्छ। यता उनीहरूका जहानको व्यथा भने अव्यक्त पीडादायी हुने गरेको छ।

एकातिर उनीहरूको यौवनित एकल अवस्थाप्रति गिद्देदृष्टि लगाउनेहरू बग्रेल्ती भेटिन्छन् भने अर्कोतिर रेमिट्यान्सका नोटहरूमा र्‍याल चुहाउनेहरूको संख्या पनि उत्तिकै देखिन्छ। महिलाको स्वतन्त्रता, गतिशीलता, यौनिकतालगायत सम्पूर्ण पक्षमाथि नियन्त्रण गरिरहेको पितृसत्तात्मक सामाजिक संरचनाभित्र वैदेशिक रोजगारमा गएका पुरुषका जहान दोहोरो उत्पीडन झेल्न बाध्य देखिन्छन्। एक त प्रकृतिप्रदत्त स्वाभाविक जैविकीय चाहना कुण्ठित हुनुको पीडा र अर्कोतिर त्यसैलाई चारो बनाएर जाल थाप्ने सिकारी पुरुषहरूको चाला ! जालमा परेकालाई पनि आफ्नो स्वार्थपूर्ति भएपछि अनेक लाञ्छना लगाएर बदनाम गराउने र जालमा नपर्नेलाई आफ्नो कुत्सित अभीष्ट पूरा नभएको झोकमा प्रताडित गराउने पुरुषप्रवृत्तिका कारण कैयन्को घरवार बिग्रने अवस्था देखिन्छ। यसको प्रत्यक्ष मारमा महिला वर्ग नै पर्ने गरेका छन्।

किनभने, पितृसत्ताले दोषजति महिलाका पोल्टामा खन्याएर पुरुषलाई उन्मुक्ति दिने हुनाले उसले जति नै अपराध गरे पनि आपूmलाई अपराधी ठान्दैन। हाम्रो समाजमा पुरुषको यौनिक नियन्त्रण नहुनुका साथै त्यसलाई इज्जत र नैतिकतासँग आबद्ध गरिएको हुँदैन तर महिलाका लागि....! उसका लागि त पतिको अनन्त पर्खाइ नै नैतिकताको कसी बनिदिन्छ। त्यसैले त असंख्य महिला तिनै दिदीजस्तै रेमिट्यान्सका नोटहरूमाथि आँसु झार्दै बाँचिरहेका छन्।

वैदेशिक रोजगारका नाममा फेरिइरहने सरकारले युवाहरूलाई विदेशी भूमिमा धकेल्ने प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरूले त्यहाँ युवा जोश रित्याउँदै पठाएको रेमिट्यान्सले अर्थतन्त्र मजबुत भएकोमा गर्वले छाती फुलाउने सरकारी निकायलाई तिनै दिदीजस्ता असंख्य महिलाका समस्याको हेक्का छ ? तिनका निर्दोष लालाबालाका छिन्नभिन्न सपनाको ख्याल छ ? ती महिलाका यौनिक अधिकारको मुद्दा कसैले उठाएको छ ? अहँ ! छैन। किनभने, हरेक सरकार केवल युवाशक्ति बेचेर डलर भित्याउँदै आर्थिक समृद्धिको सपना देख्ने गर्छन्। अन्यथा उनीहरू देशमा रोजगारका अवसर सिर्जना गर्ने, आफ्नो जनशक्ति आफैं परिचालन गरेर मुलुकलाई विकासको गति दिनुका साथै नागरिकको सुखी र सहज पारिवारिक जीवन जिउने अधिकारको सुनिश्चितता गर्दा हुन् ! अनि आज हाम्रा गाउँघर बाला–वृद्धा–महिला र अशक्तहरू मात्र भएका युवाविहीन पनि बन्ने थिएनन्।

सरकारले देशभित्रै विभिन्न अवसरको खोजी गरी रोजगार सिर्जना गरेर दिनहुँ अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने असंख्य युवालाई त्यसरी पलायन हुनबाट नरोक्ने हो भने एकातिर यो मुलुक सदाका लागि परनिर्भर र कमजोर बन्दै जानेछ। अर्कोतिर असंख्य महिला सुखद पारिवारिक जीवन र यौनिक अधिकारबाट वञ्चित भइरहनेछन्। युगौंदेखि सामाजिक–सांस्कृतिक उत्पीडन खेप्दै आएका महिला यसरी यौनिक उत्पीडनमा समेत पर्नुले महिला अधिकार र मुक्तिका प्रयासलाई थप चुनौती दिएको देखिन्छ। त्यसैले अब सरकारले रेमिट्यान्समा पोखिएको आँसुको मर्म बुझेर त्यसलाई सम्बोधन गर्ने अग्रसरता देखाउन ढिलाइ गर्नु हँुदैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.