सार्वजनिक सभामा अनुशासन
कुनै विषयको छलफल तीन–चार घण्टासम्म चल्नाले कार्यक्रमकै महत्व कम हुनुका साथै वक्ताहरूको पनि अवमूल्यन हुन्छ
यही असार ४ गते माइतीघर मण्डलामा गुठी सम्बन्धमा एउटा ठूलो सभा भयो। सभामा अनुशासन पालन गरिएको महसुस भयो। गुठी सम्बन्धमा रिसाएका गुठीयारहरूको ठूलो भीड भए पनि कुनै किसिमको तोडफोड भएन। माइतीघर मण्डलामा कोही पनि उभिएनन्। मण्डलाको सम्मान गरे। जस्तै ठूलो भीड भए पनि भागदौड भएन। यतिसम्म कि एम्बुलेन्स गाडीको आवाज सुन्नेबित्तिकै भीडले बाटो खुला गरिदियो। यो सराहनीय कार्य देखियो। उपस्थित प्रहरीलाई शत्रुतापूर्ण व्यवहार गरिएन। उनीहरूलाई आन्दोलनकारीले एउटा फूल प्रदान गरेर मित्रतापूर्ण व्यवहार देखाए। प्रचण्ड घाममा प्रहरीहरूलाई आन्दोलनकारीहरूले पानी पनि पिलाए। प्रदर्शनको समाप्तिमा आन्दोलनकारीहरूले त्यहाँ जम्मा भएको फोहोर पनि बटुले। जोसिला नारा लगाइए पनि आन्दोलनकारीले होसलाई कायम राखे। त्यसकारण यो सभाबाट कसैले अनावश्यक कष्ट उठाउनु परेन। यो सराहनीय काम भयो।
सार्वजनिक अनुभवबाट जनताले धेरै कुरा सिक्न सक्छन्। जस्तो– बन्द। हुन त धेरैजसो दलहरूले बन्द आह्वान गर्न छाडेका छन्। तैपनि यदाकदा यो हुने नै गरेको छ। तर यसमा पनि एक प्रकारको अनुशासन कायम भएको पाइन्छ। दिनभर बन्द भए पनि ५ बजेपछि बन्द खुलेको विश्वास गरिन्छ र यातायात र अरू सार्वजनिक गतिविधि यथावत् चालु हुन्छ। यसबाट पनि मानिसहरूलाई ठूलो राहत मिलेको हुन्छ।
यस्तो अनुशासन अरू सार्वजनिक सभा–सम्मेलनमा पनि अनुसरण गर्नु जरुरी छ। हिजोआज कुनै पनि औपचारिक÷अनौपचारिक सभा–सम्मेलनमा आसन ग्रहण गराउने चलन बढ्दो छ। यसमा अनावश्यक किसिमले आधा घण्टादेखि एक घण्टासम्मको समय खर्चिने गरिएको छ। यसबाट उपस्थित मान्यजनको सम्मान हुने विश्वास गरिन्छ। तर जब अनगिन्ती मानिसलाई आसन ग्रहणका लागि अनुरोध गरिन्छ। त्यसबाट सम्मानको भावना एकातिर हराउँछ। मानिसहरू यसलाई रुचाउँदैनन्। यसले समयको दुरुपयोग भएको मान्छन्। आसन ग्रहणका क्रममा कसैलाई मञ्चमा बोलाउने र कसैलाई सभाकक्षमै बसाउने गरेको देखिँदा पक्षपात गरिएको देखिन्छ। त्यसकारण आसन ग्रहणको काम नै अनुचित र अनावश्यक देखिन्छ।
हिजोआज अर्को चलन पनि बढ्दै गएको पाइन्छ। मञ्चमा जति सक्दो उति धेरै मानिसलाई राख्ने प्रयत्न गरिन्छ। यो पनि अनावश्यक कदम हो। मञ्चमा सिर्फ सभाका सभापतिलाई मात्र स्थान दिइनुपर्छ। यहाँ मुख्य अतिथिसम्मलाई स्थान दिन सकिन्छ। सबै वक्तालाई मञ्चमै स्थान दिनु जरुरी छैन। वक्ताहरू सभाकक्षमै बस्न सक्छन्। मञ्चमा बसाउने कार्यले कतिपय मौकामा बूढाबूढीले कष्ट उठाउनुपरेको पनि देखिएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा त समयको पावन्दी हो। नेपालमा तोकिएको समयमा प्रारम्भ हुने सभा–सम्मेलन अपवादका रूपमा मात्र देखिन्छ। सामान्यतः सभा–सम्मेलनहरू तोकिएको समयभन्दा ढिलो सुुरु हुन्छ। कतै मुख्य अतिथि नै नआएर, कतै सभाकक्ष नभरिएर र कतै टीभी, क्यामेरा नआइपुगेर ढिलो हुने देखिएको छ। समयमै आइपुगेर नेकपाको नेता माधवकुमार नेपालले नै धेरै बेरसम्म कुरेर बस्नुपरेको देखिएको छ।
समयको पावन्दी नअपनाइने प्रथाबाट चिढिएर नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठले तोकिएको समयभन्दा १५ मिनेट पर्खने, त्यति बेलासम्म पनि सभा सुरु भएन भने उठेर हिँड्ने घोषणा गरेका हुन्। समयमा सुरु नहँुदा सभा–सम्मेलनमा निमन्त्रणा गरिएका मानिस मात्र होइन, विशेष पाहुनाहरू पनि असन्तुष्ट पाइएका छन्। ढिलो गरी सुरु गरिएको प्रायः मानिसले नेपाली समय भनेर आफ्नै राष्ट्रको बदनामी पनि गर्ने गर्छन्। गल्ती गर्ने आफूले अनि दोष दिने आफ्नो देशलाई। यसलाई के भनेर बयान गर्ने ? यस्तो अभिव्यक्तिले नेपालीले आफ्नै बदनामी गरेको देखिन्छ। यो अक्षम्य हो।
हाम्रा सभा–सम्मेलनमा कतिपय सहभागीलाई नबोली सन्तोष हुँदैन। बोलेपछि सबै लक्ष्य पूरा भएको महसुस गर्छन्। के यो गतल होइन ?
प्रायः सभा–सम्मेलनहरू एक घण्टाको समयावधिमा समाप्त हुनुपर्छ। खासगरी उद्घाटन समारोह, विमोचन समारोह, सम्मान समारोह आदि यति समयमा टुंगिनुपर्छ। यसभन्दा पनि लम्बियो भने यस्ता समारोह निरस भएर जान्छन्। कुनै विषयको छलफल भने दुई घण्टासम्म सञ्चालन गर्न सकिन्छ। कतैकतै तीन–चार घण्टासम्म पनि यस्ता कार्यक्रम चल्ने गरेको पाइन्छ। यसबाट कार्यक्रमकै महत्व कम हुने गर्छ भने त्यस मौकामा बोल्ने वक्ताहरूको अवमूल्यन हुने गर्छ। सभा–सम्मेलनले उपस्थित मानिसमा कत्तिको प्रभाव प¥यो भनेर आकलन गर्नुपर्छ, वक्ताहरूले पनि आफ्नो बोलीले कति असर गर्न सकियो भनेर आत्मसात गर्नुपर्छ। तर हाम्रा सभा–सम्मेलनमा कतिपय सहभागीलाई नबोली सन्तोष हुँदैन। बोलेपछि सबै लक्ष्य पूरा भएको महसुस गर्छन्। के यो गतल होइन ?
एउटा अनुसन्धानबाट के पत्ता लागेको छ भने आठ मिनेटसम्मको भाषण सबैले एकाग्र चित्तले सुन्छन्। त्यसपछि श्रोताहरूको ध्यान बाँडिन थाल्छ। त्योभन्दा लम्बिएको भाषण कसैले पनि पूरा ध्यान दिएर सुन्दैनन्। त्यसैले प्रायः त्यति समयावधिमा सकिने बोलीको महत्व बढी हुने गर्छ। त्यसपछि फिका पर्न थाल्छ। तर हामीकहाँ जति लामो बोल्यो उति धेरै प्रभाव पर्छ भन्ने विश्वास गरेको पाइन्छ। अझ नेताभनाउँदाहरूले लामो बोलेनन् भने उनीहरू आफैंलाई हीनताबोध हुने गरेको छ भने श्रोताहरूले पनि अयोग्य भनी ठान्छन्। लामो बोल्ने रोगबाट हाम्रो समाजमा सबै पीडित छन्। यसबाट छुटकारा पाउन सके सुन्ने र बोल्ने दुवैको कल्याण हुने थियो।
वक्ताहरूको ताँती भएको अवसरमा प्रभावशाली व्यक्तिहरूलाई बोल्न मनग्गे समय दिइने गरिन्छ। जति मानिस पछि बोल्ने अवसर पाउँछन्, उनीहरूलाई एकदुई मिनेट मात्र दिइन्छ। तर कतिपय वक्ता जबर्जस्ती तोकिएको समयभन्दा धेरै बोल्ने गर्छन्। यो अनुशासनविहीन सभा मानिन्छ। समयको पावन्दीको पालना गराउन सभापतिले एउटा घण्टीको सहयोग लिनैपर्छ। त्यसपछि पनि कुनै वक्ताले नटुंग्याए सो घण्टी बजिराख्नुपर्छ। यस्तो चलन केही समयका लागि लागू गर्दा पछि–पछि मानिसमा बानी पर्न जान्छ। त्यसकारण सुुरुको समयमा अनुशासन कायम गर्नका लागि यो उपाय अपनाउनु आवश्यक छ।
तोकिएको समयभित्र बोल्न सक्नु एउटा दक्षता हो। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा तीनवटा वादविवाद गराउने चलन छ। सञ्चालकले सो वादविवाद कसरी सञ्चालन गर्ने भनेर एउटा विधि अपनाउँछ र त्यसको जानकारी उम्मेदवारलाई दिइएको हुन्छ। उम्मेदवारले तोकिएको समयमा आफ्नो कुरा राख्छन्। वादविवादको सिलसिलामा सञ्चालकले जति समय तोकेको हुन्छ, त्यति अवधिभित्र उम्मेदवारले आफ्नो तर्क पेस गरेको पाइन्छ। त्यहाँ कुनै समयको कमी भएको महसुस हुँदैन। यो अनुशासनबाट सिक्ने कुरा हो। हामीले पनि अनुशासन पालन गर्न थाल्यौं भने सिक्न सकिन्छ। यसबाट पनि सबैको कल्याण हुन्छ।