भारतमा मन्त्रीकाे भाषण : बन्दे मातरम् नभन्नेलाई भारतमा बाँच्ने हक छैन !
नयाँदिल्ली : भारतको पशुपालन, दुग्ध एवं मत्स्यपालन राज्यमन्त्री तथा भाजपाको तर्फबाट लोकसभा सांसद प्रताप सारंगीले ‘बन्दे मातरम्’ नभन्नेहरुलाई भारतमा बाँच्ने हक नभएको बताएका छन् ।
उनले हालै संसदमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले भनेका छन् ‘पाकिस्तान जिन्दावाद, अफ्जल गुरु जिन्दावाद, हम सर्मिन्दा है अफजल तेरा कातिल जिन्दा है जस्ता नारा लगाउनेलाई देशमा रहने हक छैन !’
केही वर्षअघि जवाहरलाल विश्वविद्यालयमा भएको विद्यार्थी आन्दोलनको प्रसंगलाई लक्षित गर्दै सारंगीले यस्तो अभिव्यक्ति दिएका हुन् । जहाँ अफ्जल गुरुको पक्षमा नारावाजी गरिएको भन्दै थुप्रै विद्यार्थी नेतालाई पक्राउ गरिएको थियो ।
कन्हैया कुमार, जो बिहारमा चुनाव समेत उठेका थिए, उनी लगायत युवा नेताहरुलाई लक्षित गर्दै भाजपाका नेता सारंगीले यस्तो बताएका हुन् । उनी एक योगी तथा हिन्दु कट्टरपन्थी नेताको रुपमा पनि चिनिन्छन् । समाजवादीका सांसद सहफीकर रहमानले सपथ ग्रहणका बेला ‘बन्दे मातरम्’ उच्चारण गर्न नमानेपछि प्रताप सारंगीले यस्तो आलोचना गरेका हुन् ।