साविक विजेतासँग भिड्दै आयोजक
लन्डन : यस पटकको विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्ड दुवैलाई उपाधिको दाबेदार टोलीको रूपमा हेरिएको छ। पछिल्लो समय एकदिवसीय क्रिकेटमा यी दुवै टोलीको प्रदर्शन पनि उत्कृष्ट छ। जारी विश्वकपमा मंगलबारको भिडन्त यिनै दुई टोलीबीच हुँदैछ। उक्त खेल लन्डनस्थित लर्डस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ।
जारी विश्वकपमा इङ्ल्यान्ड र अस्ट्रेलिया दुवैले आफ्नो सातौं खेल खेल्न लागेका हुन्। यसअघिका ६ खेलको नतिजालाई हेर्दा भने घरेलु टोली इङ्ल्यान्डभन्दा अस्ट्रेलिया केही बलियो देखिन्छ। यद्यपी, बलियो अस्ट्रेलियाविरुद्धको खेलमा घरेलु मैदान र असंख्य दर्शकको साथ इङ्ल्यान्डका लागि सकारात्मक पक्ष हुन्।
हालसम्म खेलिएका खेलमा अस्ट्रेलियाले पाँच जित र एक हारको नतिजा निकालेको छ। अस्ट्रेलिया १० अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ। जारी विश्वकपमा अस्ट्रेलियन टोली भारतसँग मात्र पराजित भएको छ। इङ्ल्यान्डले भने चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ। इङ्ल्यान्ड आठ अंकसहित तालिकाको चौथो स्थानमा छ।
जारी विश्वकपमा घरेलु टोलीलाई पाकिस्तानले १४ रन र श्रीलंकाले २० रनले हराएका थिए। यो विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्ड दुवै सन्तुलित टोली हुन्। दुवै टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ। तर, अस्ट्रेलियाको तुलनामा इङ्ल्यान्डको ब्याटिङ भने सधैं एकनासको देखिएको छैन। आफूले पहिले ब्याटिङ गरेको अधिकांश खेलमा अस्ट्रेलियाले तीन सयभन्दा बढी रन बनाएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली एकअर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन्। यी दुई टोलीले सन् १९७१ को जनवरी ५ तारिखदेखि आपसमा एकदिवसीय प्रतियोगिता खेल्न थालेका हुन्। हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय खेलको तथ्यांकले पनि इङ्ल्यान्डभन्दा अस्ट्रेलियालाई नै बलियो देखाउँछ।
हालसम्म यी दुई टोलीबीच एक सय ४७ वटा एकदिवसीय खेल भएको छ। ८१ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने इङ्ल्यान्डले ६१ खेलको नतिजालाई आफ्नो पक्षमा पारेको छ। दुई खेल बराबरीमा सकिएको छ भने तीन खेल अनिर्णित रूपमा सकिएको छ। यसैगरी यसअघि विश्वकपमा खेलिएको खेलको नतिजामा पनि इङ्ल्यान्डभन्दा अस्ट्रेलिया नै बलियो देखिन्छ।
विश्वकपमा यी दुई टोलीबीच हालसम्म सात खेल भएको छ। पाँच खेलमा अस्ट्रेलिया विजयी भएको छ भने इङ्ल्यान्डले दुई खेलमा मात्र जित हात पार्न सकेको छ। इङ्ल्यान्डको मैदानमा भने यी दुई टोलीबीच हालसम्म ६८ खेल भएको छ। त्यसमध्ये ३४ खेलमा इङ्ल्यान्ड र ३० खेलमा अस्ट्रेलिया विजयी भएका छन्। बाँकी चार खेल बराबरी र अनिर्णित रूपमा सकिएको छ।
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेललाई मौसमले भने प्रभावित पार्न सक्छ। मौसम विभागका अनुसार मंगलबार सामान्य वर्षा हुन सक्ने सम्भावना छ। लर्डस मैदानमा टसको नतिजाले पनि खेलमा निकै फरक पार्न सक्छ। उक्त मैदानमा खेलिएका पछिल्ला चारमध्ये तीन खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ।
आजको खेल
इङ्ल्यान्डविरुद्ध अस्ट्रेलिया
लर्डस (दिउँसो ३ :१५ बजे) लन्डन
एकदिवसीयमा दुई टोली
कुल : १४७ खेल
अस्ट्रेलिया विजयी : ८१ खेल
इङ्ल्यान्ड विजयी : ६१ खेल
बराबरी : २ खेल
अनिर्णित : ३ खेल
विश्वकपमा दुई टोली
कुल : ७ खेल
अस्ट्रेलिया विजयी : ५ खेल
इङ्ल्यान्ड विजयी : २ खेल