नारायणगढ-मुग्लिन सडक : सुरु भएन पहिरो नियन्त्रण
चितवन : पहिरोको अत्याधिक जोखिम क्षेत्र पहिचान गरिएका नारायणगढ–मुग्लिन सडक खण्डमा नियन्त्रणको काम सुरु भएको छैन। यो सडक खाण्डको सात स्थानमा पहिरो नियन्त्रणको काम गर्ने तय भएको छ।
ठेक्काको लागि बोलपत्र आह्वान भएपनि काम नहुँदा पहिरोको जोखिम बढेको छ। नारायणगढ–मुग्लिन सडक खण्डका टोपे खोला, चार किलो, घुमाउने, भालुढुंगा, जलवीरे, गाईघाट र कालीखोलामा पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ।
अघिल्लो वर्ष काम गर्न नसकिएको दुईस्थान र पहिरो खस्न सक्ने पाँच स्थान गरी सात स्थानमा पहिरो नियन्त्रणको काम गर्ने सडक विभागको योजना छ। सडकमाथि र मुनि गरी दुई किसिमबाट पहिरो नियन्त्रण योजना कार्यान्वयन गर्ने विभागको योजना छ। टेण्डर हालेका ठेकेदारको प्रस्तावमाथि मूल्यांकनको काम भइरहेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। ठेकेदार छनौट गरेपछि मात्रै सम्झौता गरिन्छ। मूल्यांकन र सम्झौता गरेपछि वर्षायाम पछि मात्रै काम थालिने महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।
‘सडकमुनि र माथि दुवैतर्फको काम एकै पटक सुरु गरौं भन्नेमा छौं’, थापाले भने, ‘वर्षात्मा काम सुरु नगरांै भनेर हतार नगरेको हो। पहिरो आए तत्काल सफा गरी बाटो खुलाउँछौं।’
सत्रकिलो र बाईस किलोमा सडकको तल्लो भागमा पहिरो गएको छ। यसको डिजाईन भएको छैन।
चार किलो र टोपे खोला सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र मानिन्छ। गत वर्ष सबैभन्दा बढी यही स्थानमा पहिरो खसेको थियो। पहाडमा फ्याक्चर बोल्डर (चट्टान चिरा परेर छुट्टिनु) भएको छ।
गतवर्ष नै पहिरो नियन्त्रण गर्ने भनिएको स्थानमा भौगोलिक जटिलताका कारण काम हुन सकेन। चट्टान खुकुलो भएका कारण मानिसलाई जान समस्या भएपछि काम गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक खण्डका ईञ्जिनियर शिव खनालले जानकारी दिए।
‘पहाडमा बोरामा आलु राखे जस्तो चट्टान खुकुलो भई अलगअलग भएकोले काम गर्न नसकिएको हो’, खनालले भने, ‘भिरालो र चलायमान भएकोले पहाडमा मान्छे गएर काम गर्न नसक्ने अवस्था थियो। पहिरो खसेर केही कम भएकोले यसवर्ष काम गर्न सहज हुन्छ।’
पहिरोकै कारण नारायणगढ–मुग्लिन सडक खण्डमालगातार ४२ घण्टासम्म बाटो अवरुद्ध भएको थियो। आव २०७२÷७३ मा १ सय ९ घण्टा बाटो बन्द भयो। २०७३÷७४ मा सबैभन्दा बढी ४ सय २९ घण्टा सडक अवरुद्ध भएको थियो। अघिल्लो आवमा ३९ घण्टा र चालु आवको यो अवधिसम्म २० घण्टा मात्रै बाटो बन्द भएको छ। तुलनात्मक रूपमा पहिरोको जोखिम कम हुँदै गएको विज्ञहरू बताउँछन्।
सडक आयोजना काम सकिएपछि साउन अन्तिममा सडक विभागलाई हस्तान्तरण गरिँदैछ। बाटोको त्रुटी थाम्ने अवधि पूरा भएपछि सडक डिभिजनलाई हस्तान्तरण गरिन्छ। आयोजनाको अवधिभर काम गर्न पाए पहिरोको अवरोध हटाउन सहज हुने आयोजनाको भनाइ छ। काम सुरु भए ठेकेदार कम्पनीले नियन्त्रणसँगै पहिरो सफाइ गर्ने हुँदा सडक अवरुद्ध नहुने बताइएको छ। ‘पहाडी राजमार्गमा पहिरोको ढुक्क भन्ने त हुँदैन, तै पनि विगतमा भएका कामले पहिरो धेरै हदसम्म नियन्त्रण हुन्छ’, आयोजना प्रमुख रोहितकुमार बिसुरालले भने, ‘निमार्णको एउटा चरण पूरा भएकोले यो वर्ष सडक अवरुद्ध कम हुनेमा आशावादी छांै।’
वर्षात्का कारण आइतबार बिहान डेढ घण्टा बाटो अवरुद्ध भएको थियो। जलविरेमा खसेको पहिरो यो वर्षको यो पहिलो घटना हो। विभिन्न ठाँउमा पहाडबाट माटो, ढुंगा खसिरहन्छ। सडकको स्तरोन्नति गर्दा पहाडका चट्टान कटान गरिएको थियो। २०७२ को भूकम्पका कारण पनि पहिरोको जोखिम बढेको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाले गरेको भौगोलिक अध्ययनले २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको छ। ती स्थानमा जाली लगाउने तथा बृक्षारोपण गरिएको छ। गत वर्ष नौ स्थानमा रक नेटिङ विधिबाट पहिरो नियन्त्रण गरिएको थियोे। गाईघाट, घुमाउने, भालुढुंगा, चार किलो, टोपेखोला, कालीखोलामा रक नेटिङ गरिएको छ।