५० हजारको जागिर छोडेर कृषि
उदयपुर : गाउँबाट सहर बसाइ सरेका व्यक्ति निकै भेटिन्छन्। तर सहरबाट गाउँ फर्किएका पात्र विरलै पाइन्छन्। त्यसमा मासिक ५० हजार रुपैयाँको जागिर छोडेर कृषि पेसाका लागि गाउँ आउनु चानचुने कुरा भने होइन।
गाउँको बसाइभन्दा सहर बजार र सेवासुविधामा रमाउने पात्रका लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका २६ वर्षीय होमनाथ भट्टराई (हरि) नमुना हुन सक्छन्। बाल्यकाल २०५९ सालमा बुबा आमासँगै ताम्लिछाको मायामोह त्यागेर सुनसरीको इनरुवा पुगेका हरी १६ वर्षपछि पुनः आफ्नो गाउँ फर्किएका हुन्।
सुनसरी बहुमुखी क्याम्पसमा मानविकी शास्त्रबाट स्नातक तहसम्मको अध्ययन सकिएपछि भट्टराई कृषि क्रान्ति गर्ने उद्देश्यले गाउँ फर्केको बताउँछन्। अध्ययनको सिलसिलामा हिमालयन बु्रअरीमा काम गर्दै आएका भट्टराई मासिक ५० हजारको जागिर छोडेर कृषि क्षेत्रलाई व्यावसायिक बनाउन गाउँ फर्केको बताउँछन्। ‘सानै उमेरदेखि कृषि क्षेत्रमा केही गरौँ भन्ने लागेको थियो’, उनले भने, ‘अध्ययन सके त्यसैले पेसा गर्ने सोचका साथ गाउँ आएँ।’ बुवाआमाले गाउँ नफर्किऊ यतै केही काम गरौँ, भनेर सम्झाए तर मेरो मनले मानेन्, गाउँमै केही गर्नु पर्छ भन्ने भावना जाग्यो त्यसैले कुनै प्रवाह नगरी आफू फर्किएको उनले सुनाए।
भट्टराईले गाउँ फर्किएसँगै आफन्तको ४० रोपनी खाली जग्गामा व्यवसाय सुरु गरेको बताए। सुनकोसी अर्गानिक कृषि तथा पशु फर्म दर्ता गरी कृषि पेसामा प्रवेश गरेका भट्टराईले सबै जग्गामा कागती, तेजपत्ता, सुन्तला लगाएका छन्। झन्डै ७ लाखको लगानीमा खेती सुरु गरेको उनी बताउँछन्। अबको दुई वर्षपछि उत्पादनसँगै आम्दानी दिने गरी कृषि खेती सुरु गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘सुरुमा जागिर खादै २÷३ दिनको विदा लिएर फर्म हेर्दै जाने गर्थे, तर आफू जागिरमा जानासाथ यताको हेरचाह हुन छाडेपछि जाँगिर छोडेर आए। ‘२÷३ दिन विदा मिलाएर आयो, त्यहीँ मौकामा बोटविरुवा रोप्ने र गोडमेल गर्ने काम गर्यो अर्कोपटक आउँदा गोडमेल, स्याहारसुसारको अभावमा बिरुवा मर्ने र स्थानीयले पशुचौपाय छोडिदिएर नष्ट गरिदिएपछि जागिर छोडेर आएको हो’, उनी सुनाउँछन्।
गाउँपालिकाकै नमुना कृषक ठहरिएका भट्टराईलाई अहिलेसम्म कुनै पनि निकायको सहयोग भने छैन। उनी भन्छन्, ‘दिन्छु कार्ययोजना पेस गर भनेर आश्वासन दिन्छन्, अन्तिममा विभिन्न कुराको प्रलोभन, बोलवाला, आफू पार्टी निकट र आर्थिक प्रलोेभनमा आधारमा अरुलाई छनोट गरिन्छ, त्यसैले अनुदानको आश गरेको छैन।’ ‘अघिल्लो वर्ष गाउँपालिकाले केही सहयोग गर्ने भन्दै नमुना किसान घोषणा गर्यो तर अन्तिममा आएर केही गरेनँ, त्यसैले आशावादी हुनुभन्दा पनि केही गरेर देखाउने सोचमा छु’, उनी भन्छन्। राज्यले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन यति धेरै लगानी गरेको बेला आफूले पनि केही गरौं भन्ने भाव जागेकाले पेसालाई अँगालेको उनले बताए।
‘विदेशको मरभूमिमा दुःख गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने लाग्यो,’ भट्टराईले भने, ‘सबैतिरको अनुभव बटुलेँ त्यसैले आफ्नै ठाउँमा व्यावसायिक कृषि खेती गर्ने लक्ष्य लिएँ।’ उनले यो व्यवसाय थालेसँगै स्थानीय आधादर्जन परिवारले खेती सुरु गरेका छन्।
भौगोलिकता र मौसम अनुकूल तेजपत्ता, कागती, सुन्तलाका लागि ताम्लिछा उपयुक्त ठानिन्छ। मौसम अनुकूल कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाले सहयोग गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। उनले अघिल्ला वर्ष पनि कृषकका लागि सहयोग गरेको स्मरण गराउँदै व्यावसायिक त्यो पनि धेरै जग्गा जमिन लिएर पेसा समाहालिरहेका युवालाई विशेष सहयोग गरिने बताए। ‘विदेशमा रहेका युवालाई आफ्नै ठाउँमा ल्याएर कृषि क्रान्ति गर्ने उद्देश्य पालिकाले लिएको छ’, अध्यक्ष राईले भने, ‘युवालाई कृषि क्षेत्रमा अघि बढाउन कुनै कसर बाँकी राखिने छैन।’