खडेरीले धानको बीउ मर्न थाल्यो

खडेरीले धानको बीउ मर्न थाल्यो

बुटवल : रुपन्देहीको मर्चवारका किसान रामचरित्र धोवी दैनिक खेत पुग्छन्। ब्याडमा बीउ हेर्छन्। अनि सोच्छन् अब त रोप्नुपर्छ। तर, छेवैको खेतमा बुङबुङ्ती धुलो उडेको छ। साता दिनअघि जोताएर रोप्न तयारी गरेको खेतमा पानी छैन। आकाशमा बादल मडारिँदा उनी प्रफुल्ल हुन्छन्। तर, पानी नै नपरी बादल हराउँछ अनि सुरु हुन्छ पुरानै चिन्ता।

‘समयमै धान रोप्न पाइएन भने फल लाग्दैन,’ उनी भन्छन्, ‘कुलो नहुँदा बर्सेनि यस्तै हैरानी छ।’ ब्याडमा राखेको बीउ जोगाउनै कठिन छ। मझगावा क्षेत्रका अधिकांश किसानको पीडा हो यो। यहाँको खेतमा नहरको पानी लाग्दैन। पम्पसेटबाट पानी तानेर रोपाइँ गर्नु उनीहरूको बाध्यता छ। पप्पबाट तान्न सडक छेउको घोलामा पानी जम्नै पर्छ। अहिले ती घोला नै सुकेका छन्।

मध्यअसारमा रोपाइँ सकेर हिलो पखाल्ने भनिन्छ। तर, यस वर्ष असार १५ सम्म १० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन। रुपन्देही सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो। दाङ, बाँके, कपिलवस्तु र नवलपरासीमा समेत रोपाइँको अवस्था उस्तै छ। मुलुकको २२ प्रतिशत धान उत्पादन यही प्रदेशमा हुँदै आएको छ।

यहाँको सिँचाइ हुने जमिन निकै कम हुँदा किसान आकाशे पानीको भरमा खेती गर्छन्। प्रदेश ५ को करिब साढे ७ लाख हेक्टर जमिनमध्ये बर्खामा करिब ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ। यो जमिनको ८० प्रतिशतमा धान रोपिन्छ। धान रोप्न ६० प्रतिशत क्षेत्रमा आकाशे पानीको भर पर्नुपरेको छ। नवलपरासी ज्ञान केन्द्रका सूचना अधिकारी शिवप्रसाद चौधरीले गण्डक नहर क्षेत्रमा ३० प्रतिशतजति रोपाइँ भएको बताए। तर, नहरको पहुँच नभएको क्षेत्रमा रोपाइँ हुन सकेको छैन।

दाङमा मध्यअसार लाग्दै गर्दा पनि धान खेती सुरु हुन सकेको छैन। असार मध्य हँुदा पनि दाङमा रोपाइँ सुरु नहुँदा धान उत्पादनमा समेत यस वर्ष समस्या हुने देखिएको छ। असार दोस्रो साता हुनै लाग्दा पनि रोपाइँको सुरसार नहुनुले किसानको पीडा बढिरहेको छ। कृषिको उर्वर भूमि मानिएको दाङमा गत वर्ष यो समयमा २५ देखि ३५ प्रतिशत रोपाइँ सकिएको थियो। अधिकांश किसानले धानको ब्याड राखिसकेका हुन्थे तर यस वर्ष ढिला गरी वर्षात भएका कारण उत्पादनमा ह्रास आउन सक्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले गत वर्षको तुलनामा यस वर्ष पानी ढिलो परे पनि आत्तिनुपर्ने अवस्था नभएको बताए। ‘अहिलेको अवस्थामा मकैभन्दा पनि धान उत्पादन घट्छ कि भन्ने चिन्ता छ तर चिन्ता मान्नु पर्दैन, अहिले पनि तत्काल ब्याड राखियो भने २२÷२३ दिनमै धान बीउ रोप्न तयार हुन्छ,’ उनले भने। दाङमा करिब ६७ हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने ३८ हजार क्षेत्रफलमा धान खेती हुने गरेको प्रमुख बस्नेतले जानकारी दिए।

जिल्लामा करिब १ लाख ६८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ भने धानसहित अन्य बाली करिब १ करोड १८ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ। जुन जिल्लाका लागि आवश्यकभन्दा करिब ७ लाख मेट्रिक टन खाद्यान्न बढी उत्पादन जिल्लाबाहिर जाने गरेको उनले बताए।

बाँकेमा २ प्रतिशत मात्र रोपाइँ

बाँकेमा २ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार सिँचाइ सुविधा भएका खजुरा गाउँपालिकाको गौघाटलगायत वडामा रोपाइँ भएको छ। जेठ पहिलो साता बीउ राखेका किसानले रोपाइँ गरेका हुन्।

२४ जेठमा परेको २० मिलिलिटर वर्षापछि जिल्लाका २५ प्रतिशत किसानले धानको बीउ राखेका थिए। ८ असारमा मनसुन सुरु भएसँगै १६०.८ मिलिलिटर वर्षापछि भने अधिकांश किसानले बीउ राखेको ढकालले बताए। उनले भने, ‘धान रोप्न पानी अभाव नहुने हो भने साउन तेस्रो सातासम्म जिल्लामा रोपाइँ सकिन्छ।’

मलको चिन्ता उस्तै

किसानलाई रोपाइँसँगै मलको समेत चिन्ता छ। तराईका जिल्लामा डीएपी मल अभाव छ। प्रदेशसभा बैठकमा सांसदले तत्काल मल उपलब्ध गराउन माग गर्दै आएका छन्।

मल बिक्री केन्द्रमा युरियाबाहेक अरू मल छैन। पहाडी जिल्लामा भने मल अभाव छैन। पाल्पामा ४८ वटा सहकारीमार्फत गाउँ–गाउँमा मल पुगेको छ। पाल्पामा वार्षिक १०५० मेट्रिक टन युरिया, ४ सय मेट्रिक टन डिएपी र ५० मेट्रिक टन पोटास मल खपत हँुदै आएको छ।

तानसेनअन्तर्गत माडी अर्गली छेरलुङ फाँट र रामपुर उपत्यमा सबैभन्दा धेरै रासायनिक मल खपत भएको कार्यालय प्रमुख पन्थीले बताइन्। सहकारीले मागेअनुसार रासायनिक मल कृषि सामग्री केन्द्रबाट पाएको महनपोखरा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बेदु सुवेदीले बताए। पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हँुदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्खेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ।

झापामा २० प्रतिशत मात्र रोपाइँ

देशमै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र भनिएको झापामा २० प्रतिशत मात्र रोपाइँ भएको छ। यो तथ्यांक अघिल्लो वर्षभन्दा ५ प्रतिशतले कम हो। गत वर्ष असार १५ सम्म २५ प्रतिशत रोपाइँ भइसकेको थियो।

झापा जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख शालिग्राम भट्टराईका अनुसार झापाका अधिकांश स्थानमा सिँचाइभन्दा पनि आकाशे पानीको भर छ र अहिले मनसुन ढिला भएको छ। अर्कोतिर सिँचाइ हुने ठाउँ र बोरिङ लाग्ने ठाउँमा पनि यस वर्ष धान रोपाइँ ढिला हुने भएको छ। त्यसैले पनि गत वर्षको तुलनामा धान रोपाइँ ढिला भएको हो।

रोपाइँ गर्दै झापाको कचनकवलका स्थानीय। 

झापामा ८७ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांक छ। झापामा ९० हजार हेक्टर क्षेत्रफलसम्म धान खेती हुने गथ्र्याे। बढ्दो जनघनत्वले खेतीयोग्य जमिन घट्ने क्रम जारी छ भन केही क्षेत्रफलमा किसानले अन्य बाली लगाएकाले पनि यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान बाली लगाउन सकिने भट्टराईले बताए।

(नेपालगञ्जबाट शंकरप्रसाद खनाल, दाङबाट गोपाल शर्मा र पाल्पाबाट कृष्ण पोखरेल,  झापाबाट राधा खनाल)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.