जहाँ कुवामा ताल्चा नलाए चुलोमा चामल पाक्दैन

जहाँ कुवामा ताल्चा नलाए चुलोमा चामल पाक्दैन

भोजपुर : वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोत एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए । तर ती सुकिसके।

सबै कुवा सुक्दा पनि गाउँलेहरूलाई पानी दिइरहेको यो कुवामा रातदिन ताल्चा लगाइन्छ भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला। तर गाउँबासीका लागि यो नौलो कुरा होइन।

हिउँदे खडेरी सुरु भएसँगै खानेपानीको जोहो गर्न रानागाउँबासी कुवामा ताल्चा लगाउने गरेका हुन्। खानेपानीको संकट चुलिएका बेला एउटा मात्रै कुवाको पानी बाँडीचुँडी चलाउन कुवामा ताल्चा लगाइएको हो। रानागाउँका करिब १६ घरपरिवारलाई उक्त कुवाको पानीले बिहानबेलुका जेनतेन २/२ गाग्री खानेपानी पुग्ने गर्छ।

सुख्खाको बेला कुवामा लापारबाही ढंगबाट खानेपानीको उपभोग हुने भएकाले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानीय बासिन्दा रमिला रानामगरले बताइन्। ‘गाउँमा वर्षैपिच्छे खानेपानीको महामारी हुन्छ। सबैलाई भनेजति खानेपानी पुग्दैन’, उनले सुनाइन्, ‘एकचोटीमा सबैलाई २ गाग्रीमात्रै खानेपानी उघाउन पुग्छ। त्यसपछि कुवाको पानी रितिन्छ। फेरि जमाउनै पर्‍यो नत्र बिहान र बेलुकी चुलोमा खाना पाक्दैन।’

दुई वर्षअघिसम्म आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि यही कुवाको पानीले मनग्गे पुग्थ्यो। वल्लोपल्लो गाउँका बस्तुभाउलाई खुवाउन कुनै समस्या थिएन। तर पछि सुख्खाले मुहान सुक्दै गयो। कुवाबाट रातीराती जथाभावी पानी लान थालेपछि गाउँले सबै मिलेर कुवामा ताल्चा लगाउन थालेको अर्का स्थानीय जीतबहादुर क्याप्छाकीमगरले सुनाए। उनी भन्छन्, ‘पहिले यही कुवाको पानीले सबैलाई पुग्थ्यो। पछि मुहान सुक्न थाले। अन्य गाउँका मानिस रातारात आएर पानी लाने, जाँदा कुवामा पानी नहुने, जथाभावी बस्तुभाउलाई पानी खुवाउन थालेपछि ताल्चा लगाउन थाल्यौँ।’

जीतबहादुरका अनुसार कुवा बिहान ५ बजे र बेलुकी ६ बजे दिनको दुईपटक खुला हुन्छ। गाउँका १६ घरलाई बराबरी बाँडेपछि पुनः ताला लगाइन्छ।

खानेपानीका कारण धेरैजसो गाउँलेको दैनिकी पानी जोहो गर्नमै बित्छ। एकातिर कुवाबाट मानिसलाई खानेपानी जोहो गर्न कठिन छ अर्कोतिर बस्तुभाउ, चौपायालाई पानी पुर्‍याउन झन् समस्या। मानिसलाई खाना पकाउन पर्याप्त पानी नभएका बेला बस्तुभाउलाई बेसी खेततिर लग्ने गरेको स्थानीय कृष्णकुमारी रानामगरले सुनाइन्। खानेपानीको चरम संकटकै कारण घरपालुवा चौपाया र पंक्षी थप जोखिममा परेको उनको बुझाई छ।

खानेपानी अभावकै कारण बस्तुभाउ पाल्ने रानागाउँका धेरैजसो बेसी सिक्तेलपिखुवा खोलातिर बसाई सरेका छन्। रानागाउँ आसपासका ओडारे, लट्रीडाँडा, जुकेपानीमा जम्मा दर्जनौँ कुवामध्ये ओडारे गाउँका सबै कुवा सु्किसकेका छन्। जुकेपानी टोलको कुवामा १० घरधुरीलाई दैनिक डेढ गाग्री जति खानेपानी पुग्छ।

रानागाउँ रहेको मानेभञ्ज्याङ राष्ट्रपति विद्यादेवी भण्डारीको पनि जन्मघर हो। भण्डारीको जन्मस्थान  मानेभञ्ज्याङको आमबोट गाउँमा पनि खानेपानीको उस्तै समस्या छ। ५१७ घरधुरी मानेभञ्ज्याङबासीले वर्षेनी खानेपानीको संकट भोग्नु परेको छ।

मानेभञ्ज्याङका अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुँरासे लगायत स्थान सुख्खा र खानेपानी संकटग्रस्त क्षेत्र हुन्। सुख्खाका कारण अर्चले, भोर्लेनी र अगौटेका करिब ५६ घरधुरी बस्तीहरु गाउँबाट विस्थापित भइसकेका छन् भने कतिपय घरधुरी विस्थापित हुने अवस्थामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.