भक्तपुरका सम्पदा मर्मत गर्न घुम्ती टोली
भक्तपुर : भक्तपुर नगरपालिकाले नगरभित्रका सम्पदाको नियमित मर्मत सम्भार तथा सरसफाइ गर्न घुम्ती टोली परिचालन गर्ने भएको छ। नियमित मर्मत सम्भारबाट सम्पदाको आयु लम्बिने तथा संरक्षणमा टेवा पुग्ने हुँदा मर्मत घुम्ती टोली परिचालन गर्ने भएको हो।
२०७२ वैशाख १२ गतको महाभूकम्प र त्यसपछिका पराकम्पले नियमित मर्मत सम्भार नभएका सम्पदालाई बढी क्षति पुर्याएको निष्कर्षसहित उक्त टोलीको व्यवस्था गरिएको छ। त्यस्तै संरक्षणविद् तथा सम्पदाप्रेमीले सम्पदाको नियमित रेखदेख तथा मर्मत सम्भार हुनुपर्ने आवाज उठाउँदै आएका छन्।
नपाको जारी पाँचौं नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा भनिएको छ, ‘मर्मत सम्भारबाट सम्पदा संरक्षणमा टेवा पुग्ने हुँदा सम्पदाको नियमित मर्मत घुम्ती टोलीको व्यवस्था गरिनेछ।’
नपाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत सम्पदा संरक्षण तथा विकास निर्माण सर्वाधिक रकमको व्यवस्था गरेको छ। उसले कूल बजेटको सम्पदा संरक्षण तथा विकास निर्माणको लागि ७२ करोड ९१ लाख १० हजार अर्थात ३४.२१ प्रतिशत रकम विनियोजन गरेको छ।
हामीकहाँ जीर्ण भई भत्कने अवस्थामा पुगेपछि मात्रै सम्पदाको मर्मतसम्भार तथा जीर्णोद्धार गर्ने प्रवृत्ति रहेको छ। जसले गर्दा सम्पदा भत्किँदासम्म धेरै ढिलो हुने र मर्मतसम्भार लागत पनि बढ्ने प्राविधिकले बताउँदै आएका छन्।
यस्तो अवस्थामा भक्तपुर नपाले गरेको निर्णय स्वागतयोग्य भएको प्राविधिक बताउँछन्। उनीले जसरी मानव शरीर स्वस्थ छ छैन भनेर नियमित स्वास्थ्य जाँच गरिरहनुपर्छ त्यसरी नै सम्पदाको अवस्था बुझ्न पनि नियमित रेखदेख र मर्मत सम्भार गरिरहनु पर्छ। सुरुमै रोगको पहिचान भए उपचारमा कम खर्च लागेजस्तै सुरुमै सम्पदाको जीर्ण अवस्था थाहा पाउन सकिए कम लागतमै सम्पदा जोगाउन सकिन्छ।
‘हामीकहाँ सम्पदा भत्किएर पाताल नभएसम्म जीर्णोद्धार वा पुनर्निर्माण गर्ने चलनै छैन’, काठमाडौं विश्वविद्यालयका वरिष्ठ इञ्जिनियर राजेन्द्र हाडा भन्छन्, ‘जसले गर्दा जीर्णोद्धार एवं पुनर्निर्माण गर्न धेरै लगानी गर्नुपर्ने हुन्छ। सामान्य बिगिँर्दै वा नासिँदै मर्मत गर्न सकिए थोरै खर्चले पुग्छ।’
उनले नेपाली मौलिक एवं पराम्परागत शैलीले बनेका सम्पदाको रेखदेख र मर्मत गर्न विभिन्न पर्व, पूजा तथा गुठी नै व्यवस्था गरिएको जानकारी दिए। तर ती पर्व, पूजा वा गुठी निष्क्रिय हुँदा सम्पदा पनि बेवारिसे बन्ने गरेको उनी सुनाउँछन्।
‘पहिलेदेखि नै सम्पदाको नियमित रेखदेख र मर्मतसम्भार गर्न सकिएको भए धेरै सम्पदा लुप्त हुने थिएनन्’, इञ्जिनियर हाडाले थपे, ‘ढिलै भए पनि भक्तपुर नपाले नियमित मर्मत टोलीको व्यवस्था गरेको छ। जुन स्वागतयोग्य छ।’
उनले सम्पदा रहेका अन्य नगरपालिकाहरुले पनि यस्तै नीतिसहित कार्य गर्नुपर्ने सुझाव दिए।
त्यस्तै मेथड कन्सल्टेन्सीका सञ्चालक इञ्जिनियर तुलसीलाल बासुकलाले पनि भएका सम्पदालाई जिवित बनाइराख्ने हो भने नियमित मर्मतसम्भार र रेखदेख हुनुपर्नेमा जोड दिन्छन्।
‘काठ, माटो, इँटा र चुकुलले बनेका सम्पदामा मक्किएको एउटामात्रै चुकुल बेलैमा फेर्न सकिए सिंगो सम्पदा जोगाउन सकिन्छ’, उनले भने, ‘त्यसैले मानिसको स्वास्थ्य अवस्था थाहा पाउन नियमित स्वास्थ्य जाँच गरेजस्तै सम्पदाको अवस्थाबारे पनि नियमित जाँच भइरहनुपर्छ।’
भत्किसकेपछि नयाँ बनाउनुभन्दा पुरानै अवस्थामा मर्मत सम्भार गरे सम्पदालाई ठड्याउन सकिए त्यसको ऐतिहासिकता र पुरातात्विक महत्व झन् बढ्ने उनको भनाइ थियो।
त्यस्तै भक्तपुर नपाले भक्तपुर दरवार क्षेत्र वरिपरिको ऐतिहासिक ९९ चोक तथा जगनाथ मन्दिर क्षेत्रको उत्खनन्को अध्ययन कार्यलाई अगाडि बढाउने नीति लिएको छ। उसको नीति तथा कार्यक्रममा भक्तपुरको साँस्कृतिक, पुरातात्विक महत्व बोकेका पाटी–पौवा, ढुंगेधारा, पोखरी, इनार, सत्तल, द्योछेंलगायतका सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिने उल्लेख छ। ती सम्पदाहरु पुनर्निर्माण वा जीर्णोद्धार गर्दा अध्ययन अनुसन्धानको साथै मौलिक शैलीलाई जोड दिइने नीति पारित गरिएको छ।