डेंगुले थलिँद पूर्वी तराई
विराटनगर : मोरङ मंगलबारेका एक किशोरको डेंगु संक्रमणबाट झापामा मृत्यु भएको छ। झापा कमल गाउँपालिका–४ स्थित मामाघरमा बस्दै आएका १४ बर्से रिजेन राईको डेंगुबाटै मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मि श्रले पुष्टि गरेका छन्।
राई मामाघरमै बसेर स्थानीय फिनिक्स अंग्रेजी विद्यालयको कक्षा ९ मा अध्ययनरत थिए। बुधबार बिरामी परेका उनलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ पनि उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि विराट नर्सिङ अस्पताल विराटनगर ल्याउने क्रममाा बाटैमा उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मि श्रले बताएका छन्। ‘बालकमा डेंगुको संक्रमण देखिएको थियो, हामीले उपचार गर्न नसकेपछि धरान पठाएका थियौ, त्यहाँबाट विराटनगर लैजाँदा मृत्यु भएछ’, उनले भने।
झापा, मोरङ र सुनसरी तीनै जिल्लामा डेंगुको संक्रमण फैलिएकाले उनी घर आउँदा वा मामाघरमा नै संक्रमण भयो रिपोर्ट आएपछि मात्र भन्न सकिने मि श्रले बताए। उनका जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार यतिन्जेल जिल्लामा २७ बिरामीमा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु फैलिन नदिन झापाका १५ वटै स्थानीय तहमा औषधि छर्नेदेखि जनचेतनामूलक कार्यक्रम हुँदै आए पनि नियन्त्रणमा नआएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले बताए। सन् २०१२ मा काँकडभिट्टामा देखा परेको डेंगुबाट यसअघि ३ जनाको मृत्यु भएको थियो।
नियन्त्रणमा आएन
जेठदेखि धरानबाट सुरू भएको डेंगु पूर्वी तराईका ३ जिल्लामा फैलँदै गएको छ। अझै यो नियन्त्रण हुन सकेको छैन। झापा र मोरङमा दैनिक डेंगुका बिरामीको संख्या बढ्दै गएको छ भने धरानमा क्रमश; घट्दै गएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार नियन्त्रणमा नआए पनि न्यूनीकरणको प्रयास जारी छ। मोरङमा सोमबारसम्म डेंगु देखिएका ३५ जनाको उपचार भइरहेको उनले बताए। ‘यहाँ उपचाररतको संख्या ३९ हो, ३५ जना मोरङ्का हुन्, बाँकी सुनसरी र उदयपुरका छन्’, उनले भने। मोरङको विराटनगर, सुन्दरहरैंचा, ग्रामथान, उर्लाबारी, केराबारीलगायत स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन्। नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले यसअघि नै सबै स्थानीय तहलाई सचेतना र ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान गर्न पत्र पठाइएको उनले बताए।
मोरङमा डेंगु प्रकोप नै नबने पनि सहरी क्षेत्रमा भवन निर्माणको क्रम तीव्र रहेकाले ड्रममा पानी राख्दा त्यसमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकाले सचेत रहनुपर्ने उनले बताए। डेंगु सार्ने लामखुट्टे भाँडामा राखेको, ड्रममा जम्मा गरेको, पुराना टायर, फालिएका बोतललगायतमा जमेको पानीमा हुर्कने भएकाले घर वरपर पानी जम्ने त्यस्ता वस्तुमा डढेको मोबिल हाल्न र जमेको पानी पोख्न उनले आग्रह गरेका छन्।
विराटनगर महानगरपालिकाले डेंगु नियन्त्रण गर्न ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरेको छ। डेंगु संक्रमितको उपचारका लागि कोसी अञ्चल अस्पताल र निजी अस्पताललाई तयारी राखिएको जनस्वास्थ्य प्रमुख बस्नेतले बताए।
धरानलाई डेंगु प्रभावित क्षेत्र घोषणा गरेर प्रदेश सरकारले विशेष कार्ययोजनासहित नियन्त्रण गर्न कार्यरत छ। धरानमा बिरामीको संख्या घट्न थालेको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन्। ‘आफैंले पनि विभिन्न वडा र टोल पुगेर बेलाबेला अभियानको अनुगमन पनि गरेकी छु तर डेंगुलाई शून्यमा झार्न भने सकिएको छैन, अभियान जारी छ’, उनले भनिन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक सातायता बिरामीको संख्यामा कमी आएको छ। बिस्तारै प्रकोप कम हुँदै गएको चिकित्सक बताउँछन्। तर प्रतिष्ठानमा झापा र सुनसरीबाट भने डेंगु संक्रमित आइरहेको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले बताए।