प्रज्ञामा पनि असारकै चटारो

प्रज्ञामा पनि असारकै चटारो

काठमाडौं :

. नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का मूर्ति विभाग प्रमुख लालकाजी लामा गत आइतबार प्रदेश १ को एक साता दौडाहाबाट काठमाडौं आइपुगे।

लामा उक्त प्रदेशमा आगामी बजेटमा आफ्नो विभागबाट के कस्तो कार्यक्रम गर्न सकिन्छ भनेर फिल्ड भिजिट र छलफल गोष्ठीका लागि गएका थिए। उनले भने, ‘विभागका लागि छुट्ट्याइएको केही रकम बाँकी छ। केमा खर्च गर्ने भनेर सरसल्लाहका लागि मंगलबार बैठक बोलाएको थिएँ, तर कुलपति बाहिर जानुभएकाले अझै एक साता लम्बिने भयो।’

नाफाको मूर्तिकला विभाग प्रमुख धर्मराज शाक्य चारदिने मूर्तिकलाबारे अध्ययन तथा गोष्ठीका लागि मंगलबार धनगढी हिँडेका छन्। वास्तुकला तथा अन्य सिर्जना विभागले आगामी शनिबार पोस्टर डिजाइन प्रतियोगिता गर्ने भएको छ। यसको थिम ‘समृद्ध नेपाल, सुखी नेपाली’ राखिएको छ।

. नेपाल संगीत नाट्य प्रतिष्ठानले असारमा धेरै कार्यक्रम गर्‍यो। काठमाडौंमा असार २ देखि ८ सम्म नाटक महोत्सव, असार ५ र ६ गते शास्त्रीय संगीतसम्बन्धी कार्यक्रम तथा विचार गोष्ठी, सोमबार राष्ट्रिय नृत्य महोत्सव, धनगढीमा असार ६ र ७ गते राष्ट्रिय संगीत महोत्सव आयोजना गरियो। संगीत, नाटक र नृत्य तीनवटै विधाका प्रतिभालाई यसै असारमा पुरस्कार वितरण गर्ने कार्यक्रम छ। तर अझैसम्म प्रतिभा छनोट भइसकेका छैनन्।

. नेपाल प्रज्ञा–प्रतिष्ठानले असार ९ मा कविता महोत्सव गरेर आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ। वार्षिकोत्सवबाहेक अन्य कार्यक्रम जेठभित्रै गर्न सकिन्थ्यो। तर, धेरै कार्यक्रम असारमा पनि छन्। प्रतिष्ठानमा जम्मा ११ वटा विभाग छन्। मातृभाषा (साहित्य) विभागले असार ६ गते बान्तवा राई भाषा साहित्य गोष्ठी गर्‍यो। सामाजिक शास्त्र तथा आख्यान विभागले बुधबार काभ्रेको नमोबुद्धमा ‘समकालीन नेपाली नियात्रामा सामाजिक चिन्तन’ विषयक गोष्ठी सकेको छ। दर्शन विभागले आइतबार मानवतावादसम्बन्धी गोष्ठी सकाएको छ भने आगामी शनिबार योग दर्शन तथा स्वास्थ्यसम्बन्धी गोष्ठी गर्दै छ। यी केही उदाहरण हुन्।

नेपाल संगीत नाट्य प्रतिष्ठानका अघिल्लो वर्षका पदाधिकारीको समय भदौ १९ मा सकिएको थियो। तर नयाँ पदाधिकारीको नियुक्ति पुसको दोस्रो साता मात्रै हुन सक्यो। लगत्तै असन्तुष्ट समूहले मुद्दा हालेपछि चैतको तेस्रो साताबाट मात्रै नयाँ कार्यसमितिले काम गर्न पायो। परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘हामीसँग थोरै समयमा धेरै कार्यक्रम गर्ने चुनौती थियो। कार्यक्रम राम्रो हुनुपर्छ, असार साउनले फरक पार्दैन। अलकत्रा बग्ला कि भन्ने पीर प्राज्ञिक कार्यक्रममा हुन्न।’


नेपाल प्रज्ञा–प्रतिष्ठानका सामाजिक शास्त्र विभागका प्रमुख प्राज्ञ दिनेशराज पन्त तथा समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्राडा गोपिन्द्र पौडेल आफूहरू असारमा आफ्नो विभागको कार्यक्रम गर्ने पक्षमा नरहेको बताउँछन्। यस वर्ष मनसुन ढिलो भएर मौसम खुलेको छ। नभए त्यसै पनि वर्षाले असारमा विकासे काम मात्रै होइन, अन्य काम पनि बिथोल्छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय प्रतिष्ठानले आफ्नो नियमित कार्यक्रम बाह्रैमास गरिरहेको तर पत्रकारका आँखा असारको कार्यक्रममा मात्र किन देखिएको ? भन्ने प्रतिप्रश्न गरे। उनले भने, ‘बरु मिडियाकर्मीले भाषा, साहित्य, संगीत, कला जगेर्ना सरकारले पर्याप्त बजेट छुट्याइदिएन भन्ने आवाज उठाइदिए हुन्थ्यो।’ भौतिक योजनाको विकास मात्रै राष्ट्रिय गौरवको आयोजना होइन, अमूर्त संस्कृतिको विकास पनि राष्ट्रिय गौरवको आयोजना बन्नुपर्छ भन्ने उपाध्यायको आशय थियो।

प्रतिविभाग सात लाख मात्रै

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीका अनुसार प्रतिष्ठानको यस वर्षको बजेट १७ करोड रुपैयाँ थियो, जसमा कार्यक्रमतर्फ जम्मा दुई करोड ६० लाख २५ हजार मात्रै छुट्ट्याइएको छ। प्रतिष्ठानको जम्मा ११ वटा विभागलाई प्रतिविभाग सात लाख रुपैयाँ मात्रै विनियोजन हुन्छ। केन्द्रीय कार्यक्रम तथा प्रज्ञाका आजीवन सदस्यहरूलाई भत्ता रकम छुट्ट्याइएपछि खासमा कार्यक्रमतर्फ एक करोड ४६ लाख मात्रै विनियोजन भएको अधिकारी जानकारी दिन्छन्।

प्रतिष्ठानबाट आजीवन भत्ता पाउनेमा २२ जना छन्। तिनले जनही मासिक ३६ हजार आठ सय रुपैयाँ बुझ्ने गरेका छन्। राष्ट्रकवि माधव घिमिरे आजीवन भत्ताबाहेक राष्ट्रकवि भत्ता थप २५ हजार पाउँछन्। राष्ट्रगानका रचनाकार व्याकुल माइला तथा साहित्यकार झमक घिमिरेले पनि मासिक २५ हजार पाउँछन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को जम्मा ६ वटा विभागलाई पनि प्रतिविभाग सात लाख रुपैयाँ मात्रै विनियोजन हुन्छ। लेखा शाखाका चक्र कार्कीका अनुसार नाफाको यस वर्ष कुल बजेट चार करोड आठ लाख रुपैयाँ मात्रै थियो। यसमध्ये कार्यक्रमतर्फ जम्मा ९० लाख रुपैयाँ मात्रै विनियोजन भएको थियो। नाफाका मूर्ति विभाग प्रमुख लालकाजी लामा भन्छन्, ‘हामीसँग कार्यक्रमका लागि लाज लाग्ने रकम छ।’ गएको चैतमा कीर्तिपुर नगरपालिकाको सहकार्यमा मूर्ति विभागले युद्धपार्कका लागि मूर्ति बनाउन सघाएको थियो। करिब एक करोड रुपैयाँको कार्यक्रम रहेकोमा मूर्ति विभागको सहयोग एक अंश पनि थिएन।

नेपाल संगीत नाट्य प्रतिष्ठानका योजना शाखा अधिकृत प्रवीण सापकोटाका अनुसार प्रतिष्ठानको यस वर्षको बजेट ६ करोड एक लाख रुपैयाँ थियो। यसबाट कार्यक्रमतर्फ डेढ करोड रुपैयाँ छुट्ट्याइएको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान आफ्नै भवनमा छन् भने नेपाल संगीत नाट्य प्रतिष्ठान बालुवाटारमा मासिक चार लाख रुपैयाँ भाडा तिरेर बसेको छ।

भाषा, साहित्य, संगीत, कलालगायत क्षेत्रको विकासका लागि गठन गरिएका तीन प्रतिष्ठानलाई रहलपहल रकम खर्च गर्न चटारो छ। के कार्यक्रम कहिले गर्ने भनेर त्यहाँका प्राज्ञहरू अहिले बल्ल छलफलमा रहेको नाफाका प्राज्ञ लामाको भनाइले देखाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.