विज्ञानको बहुमार्ग

विज्ञानको बहुमार्ग

काठमाडौं : ज्ञानमन्दिर सेकेन्डरी इङ्लिस स्कुल, बालाजुका दीपेश अमगाईंले एसईईमा जीपीए ४ ल्याएर उत्तीर्ण गरे। प्लस टुमा विज्ञान विषय लिएर पढ्ने उनको रहर छ। सानो छँदा उनलाई अन्तरिक्ष यात्री बन्ने रहर थियो। त्यसैले उनी युट्युबमा भिडियोहरू हेर्दा विज्ञानका विषयमा राखिएका भिडियोहरू धेरै हेर्ने गर्थे। अबको उनको लक्ष्य इन्जिनियर बनेर सूचना प्रविधिको क्षेत्रमा लाग्ने हो। त्यसैले यसको लागि पनि उनले विज्ञान विषय लिएर पढ्ने भएका छन्।

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतनबाट एसईईमा जीपीए ४ ल्याएर उत्तीर्ण रोजा श्रेष्ठले पनि विज्ञान विषय पढाइ हुने केही कलेजका फारम ल्याइसकेकी छिन्। चार्टर्ड एकाउन्टेन्ट (सीए) वा आर्किटेक्ट इन्जिनियर बन्ने भन्ने उनलाई अझै दुविधा छ। एकाउन्टिङमा पनि उनको विशेष रुचि छ। त्यसैगरी धेरैले इन्जिनियरिङ पढे स्कोप राम्रो छ भन्ने सुनेकाले उनलाई भविष्यमा बीआर्क गर्ने पनि रहर छ।

दीपेश र रोजा मात्र होइन, एसईईमा अब्बल नतिजा ल्याउने विद्यार्थीमध्ये धेरैको रोजाइ विज्ञान विषय हुन सक्छ। प्लस टुमा विज्ञान विषयको अध्ययन गरे, स्नातक तहमा आफूले चाहेको जुनसुकै विषय रोज्न सकिने हुनाले धेरैको रोजाइ विज्ञान बनेको छ। विज्ञान विषय पढेपछि मेडिसिन र इन्जिनियरिङ मात्र नभई अन्य जुनसुकै विषय पढेर एक सक्षम नागरिक बन्न सकिन्छ।

विज्ञान पढ्ने विद्यार्थीको मुख्य लक्ष्य मेडिकल लाइन नै हुने त्रिचन्द्र कलेजका शिक्षक मुक्तिराम अर्याल बताउँछन्। विद्यार्थीले प्लस टुमा विज्ञान पढ्दा स्नातक तहमा विज्ञानकै विभिन्न फ्याकल्टीलाई पनि रोज्न सक्ने र विज्ञानलाई निरन्तरता दिन नचाहने यस बाहेकका अन्य सामाजिक विज्ञानका विषयलाई पनि रोजेर पढ्न सक्ने भएकाले पनि यसप्रति आकर्षण बढी रहेको उनको भनाइ छ। विज्ञान पढ्ने विद्यार्थीमा हाल कृषि, वनविज्ञान, इन्जिनियरिङ, बीएमएलटी, बीडीएस, बी अप्टोमेट्रीलगायतका विषयमा रुचि बढेको उनको अनुभव छ।

खुल्छ विदेश जाने बाटो

प्लस टु गर्नेमध्ये धेरै विद्यार्थीको सपना विदेश गएर त्यहाँका विश्वविद्यालयमा पढ्ने हुन्छ। विज्ञानमा प्लस टु गर्नेले विदेशी विश्वविद्यालयमा पनि आफ्नो रुचिअनुसारको धेरै विषय रोज्न पाउने र भर्नामा प्राथमिकतामा पनि पर्ने गरेका छन्। विदेशी विश्वविद्यालयका लागि नभई नहुने टोफेल, स्याटलगायतका परीक्षामा पनि विज्ञान विषय लिएर पढेका विद्यार्थीले राम्रो अंक ल्याउने गरेकाले छात्रवृत्तिमा बढी छुटको व्यवस्था पाउने सम्भावना पनि हुन्छ।

कक्षा ११ र १२ दुवैमा गणित विषय लिएर पढेका विद्यार्थीले इन्जिनियरिङमा डिग्री हासिल गर्न सक्छन्। इन्स्टिच्युट अफ इन्जिनियरिङ वा अन्य थुप्रै निजी कलेजमा यस विषयको अध्ययन गर्न सकिन्छ। भारतीय दूतावासको छात्रवृत्ति कोटामार्फत पनि भारतका विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङ पढ्ने अवसर जुटाउन सकिन्छ। त्यसैगरी बीएस्सी नर्सिङका लागि पनि भारत जाने प्रवृत्ति बढ्दो छ।

दक्षिण एसियाको कुरा गर्दा एमबीबीएस र बीडीएस पढ्नका लागि बंगलादेश जाने चलन पनि पछिल्लो समय बढेको पाइन्छ।

कक्षा ११ र १२ मा जीव विज्ञान विषय लिएर पढेका विद्यार्थीले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङलगायतका विषय अध्ययन गर्न पाउँछन्। यसका लागि इन्स्टिच्युट अफ मेडिसिन, काठमाडौं विश्वविद्यालय र अन्य निजी कलेजमा पढ्नका लागि आवेदन दिन सकिन्छ। त्यसैगरी शिक्षा मन्त्रालयको कोटामार्फत पनि माथिका विभिन्न कलेजका साथै बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ (बीपीकेआइएच) धरानमा पढ्न पाउनेछन्।

ब मार्केट हेरेर विषय छनोट

प्लस टुमा विज्ञान विषय पढिसकेपछि स्नातक तहमा कुन विषय लिएर पढ्ने भन्ने विषयले विद्यार्थीको करिअर निर्धारण गर्न महत्वपूर्ण भूमिका निभाउँछ। त्यसैले आफ्नो रुचि, परिवारको आर्थिक अवस्था, आफूले पढ्ने विषयको राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा जब मार्केट कस्तो छ भन्ने विषयलाई ध्यानमा राखेर विषय छनोट गर्नुपर्ने सुझाव दिन्छन् पिनाकल एकेडेमीका प्राचार्य ऋषि तिवारी।

प्राचार्य तिवारीका अनुसार तीनवर्षे प्राविधिक शिक्षा पढेर जागिर खाने इच्छा भएकाहरूले सीटीईभीटीको कोर्स गर्न सक्ने र उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले प्लस टु गर्दा राम्रो हुन्छ। भविष्यमा आफू के बन्ने भनेर लक्ष्य निर्धारण नगरिसकेका विद्यार्थीले प्लस टुमा विज्ञान विषय लिएर पढ्दा धेरै फाइदा हुने उनको भनाइ छ। विज्ञान पढ्ने विद्यार्थीको पढ्ने बानी र मेहनत गर्ने बानीको विकास हुने भएकाले उनीहरूका अगाडि बहुतर्फी बाटाहरू खुल्छन्। विज्ञान पढ्ने विद्यार्थीले मेडिकल वा इन्जिनियरिङ पाराडाइममध्ये एक छान्न सक्छन्। मेडिकलअन्र्तगत पनि एमबीबीएस मात्र नभई फार्मेसी, बायोटेक्नोलोजी, ल्याब टेक्निसियन, कृषि, बायोमेडिकल इन्जिनियरिङ, अप्टियोमेट्री, बीडीएसलगायतका विषयमा गए जागिर चाँडै पाइने र कमाइ बढी हुने तिवारी बताउँछन्। हिजोआज नर्सिङको जब मार्केट त्यति नभएकाले यसलाई आफूले कम प्राथमिकतामा राखेको प्राचार्य तिवारीको भनाइ छ।

घटेको छैन यी विषयका क्रेज

प्लस टु सकेपछि विज्ञान विषय रोजेर पढ्ने अधिकांश विद्यार्थीले आज पनि पहिलो प्राथमिकतामा इन्जिनियरिङ र मेडिकल विधालाई नै राख्ने गरेका छन्। इन्जिनियरिङमा चार वर्षको पढाइ पूरा गरेर बीई वा बीटेकको डिग्री प्राप्त गर्न सकिन्छ। विश्वविद्यालयबाट प्राप्त गरिने डिग्री बीई हो भने कुनै पनि इन्स्टिच्युटमार्फत इन्जिनियरिङमा व्यावसायिक डिग्री गर्नेले बीटेकको डिग्री प्राप्त गर्न सक्छन्। बीई र बीटेक गर्नका लागि विद्यार्थीले प्लस टुमा भौतिक शास्त्र, रसायनशास्त्र र गणित विषय लिएर अध्ययन गरेको हुनुपर्छ। यसको लागि प्लस टुमा न्यूनतम ५० प्रतिशत अंक ल्याउनु अनिवार्य हुन्छ।

घर र ठूलठूला भवन निर्माणको लागि आवश्यक पर्ने डिजाइन बनाउन रुचि राख्ने विद्यार्थीले बी आर्क (ब्याचलर अफ आर्किटेक्चर) पनि पढ्न सक्छन्। यस विषयअन्र्तगत कुनै पनि भवन निर्माण गर्नुअगाडि त्यसको योजना तयार पार्ने, डिजाइन बनाउने र अन्य विभिन्न संरचनाका साथै भवन निर्माण गने कला सिकाइन्छ। यसका लागि पनि प्लस टुमा गणित विषयसहित अन्य विषयमा न्यूनतम ५० प्रतिशत अंक ल्याएको हुनुपर्छ।

स्नातक तहमा आईटी र सफ्टवेयरको बारेमा अध्ययन गर्न चाहने विद्यार्थीले आईटीमा बीएस्सी (बीएसआईटी ) लाई रोज्न सक्छन्। यसका लागि पनि प्लस टुमा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिएर पढेको हुनुपर्छ।

एमबीबीएस अध्ययन गरेर मेडिकल क्षेत्रमा सेवा गर्ने र योग्य डाक्टर बन्ने चाहना राख्ने विद्यार्थीले प्सल टुमा बायोलोजी विषय रोजेर न्यूनतम ६० प्रतिशत अंक प्राप्त गरी यस विषयलाई रोज्न सकिन्छ। छात्रवृत्तिमा नाम निकाल्न सक्ने विद्यार्थीका लागि यो विषयको लोकप्रियता अझै पनि घटेको छैन। यदि छात्रवृत्तिमा नाम निस्किएन र निजी शुल्क तिरेर यो विषय पढ्न धेरै गाह्रो छ। यसको पढाइ शुल्क अत्यधिक रहेको छ। त्यसैले यसको विकल्पको रूपमा बीएस्सी नर्सिङलाई पनि रोज्न सकिन्छ। नर्सिङ विषयका लागि न्यूनतम् ५० प्रतिशत अंक पर्याप्त मानिन्छ। प्लस टुमा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले बी फर्मा (ब्याचलर अफ फार्मेसी) मा पनि आफ्नो करियरलाई निर्धारण गर्न सक्छन्।

डाक्टर इन्जिनियरका गुरु

विज्ञान पढेका विद्यार्थीले साइन्समा आफ्नो भविष्य बनाए डाक्टर र इन्जिनियरलाई पढाउने गुरु बन्न सक्छन्। यस विधामा भौतिकशात्र, रसायनशास्त्र, जीवविज्ञान, बीएस्सी कम्प्युटर साइन्स, बीएस्सी म्याथम्याटिक्सलगायतका विषयमा स्नातक गर्न सकिन्छ।

त्यसैगरी व्यावसायिक पाइलट बन्न चाहनेहरूले पनि प्लस टुमा विज्ञान नै अनिवार्य रूपमा पढ्नुपर्ने हुन्छ।

अन्यमा पनि अब्बल

मानविकी र व्यवस्थापन विषय लिएर पढ्ने विद्यार्थीको तुलनामा विज्ञान पढ्ने विद्यार्थी यी विधामा गएमा उनीहरू अब्बल नै ठहरिने गरेका छन्। मानविकीमा विद्यार्थीले मावनशास्त्र र समाजशास्त्र, ललितकला, एनिमेसन, कानुन, डिजाइन, पत्रकारिता र आमसञ्चार, मास मिडिया, शिक्षालगायतका विषय रोजेर उच्च शिक्षा गर्ने र आफ्नो करियर बनाउन सक्ने सुविधा बढेको छ। त्यसैगरी व्यवस्थापनप्रति रुचि बढेमा एकाउन्टिङ र कमर्सका विभिन्न विधामा स्नातक गर्न सक्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.