इन्काउन्टरको नाममा हत्या गर्न पाइन्न : नेता निधि
चितवन : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संविधान विरोधी गतिमा अग्रसर भएको आरोप लगाएका छन्। सरकारले एकपछि अर्को गर्दै सविधान विरोधी विधेयक ल्याएको भन्दै सरकारको कार्यशैलीको विरोध गरेका छन्। सरकारले संविधान विरोधी काम गरेको भन्दै नेपाल प्रेस युनियन चितवनले भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै निधिले सामान्य आवश्यकता पनि पुरा नभएपछि कम्युनिस्ट सरकारसँग जनता आजित भएको आरोप लगाए।
उनले चिकित्सा विधेयक, गुठी विधेयक, प्रेस स्वतन्त्रता र मानवअधिकार विरोधी विधेयक ल्याउने सरकारको नियत उदाङ्ग भएको बताए।' सरकारले संविधान र संघीयताको विरुद्धमा संसदमै हाकाहाकी विधयेक ल्याएको छ,' उनले भने, 'सरकारको गलत कामको कांग्रेस एक भएर शसक्त रुपमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको छ।'
उनले कांग्रेसभित्र गुटबन्दी नभएको दावी गरे। पार्टीको काम नियमित रुपमा भएको भन्दै वैचारिक मतभिन्नतालाई गुटबन्दी भन्न नमिल्ने उनले बताए। ' कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नीति निमार्ण र निर्णयमा फरक धारणा बाहिर आउँछन् त्यसलाई गुटबन्दी भन्न सकिदैन, निधिले भने, 'जागरण अभियानले नेता कार्यकर्ता सक्रिय रुपमा परिचालित छन्।'