नयाँ प्रविधिले स्काई फोन हराउँदै

नयाँ प्रविधिले स्काई फोन हराउँदै

काठमाडौं : सीडीएमए सेटमा नेपाल टेलिकमको स्काई सिम हालेर चलाएको अनुभव सबैजसोको होला। अझ हामी कतिपयको पहिलो मोबाइल अनुभव नै स्काई सिमसँगको पनि छ। नहोस् पनि कसरी, नेपालको भौगोलिक परिस्थिति अनुसारको प्रविधि नै त्यही थियो। जसले आज जीएसएम त्यो पनि स्मार्ट मोबाइलसम्मको यात्राका लागि खुड्किलाको काम गरेछ।

नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको पहुँच छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकमा कुल जनसंख्याको १३७.०१ प्रतिशतमा टेलिफोनको पहुँच छ। त्यसमध्ये १३४.३१ प्रतिशत मोबाइलको पहुँच रहेको तथ्यांकले देखाउँछ। मोबाइल प्रयोगकर्तामध्ये ९८.३६ प्रतिशत जीएसएम मोबाइलको छ भने स्काईफोनको मात्र १.६४ प्रतिशत छ। प्रतिशतको आधारमा स्काईफोनका ग्राहक कम देखिएको छ। तर नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको पहुँच पुग्नुमा सबैभन्दा महत्वपूर्ण योगदान स्काईकै छभन्दा फरक पर्दैन।

आज जुन रूपमा नेपालीको हातहातमा मोबाइल फोन पुगेको छ त्यसको पहिलो श्रेय नै स्काई फोनले पाउँछ। केड डिभजन मल्टिपल एक्सेस प्रविधिमा आधारित सीडीएमए टेलिफोन सेवाको व्यावसायिक सुरुवात नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले २०६२ माघ २३ गतेबाट गरेको थियो। त्योसँगै नेपाल युनाइटेड टेलिकम लिमिटेड (युटीएल) ले पनि सीडीएमए सेवा प्रदान गर्न थालेको थियो। तर हाल युटीएल सञ्चालनमा नरहेकाले त्यसको यकिन तथ्यांक छैन।

टेलिकमले सुरुका दिनमा लिमिडेट मोबिलिटी (सीमित क्षेत्रमा मात्र मोबाइल चल्ने) तथा फूल मोबिलिटी (देशभर चल्ने) दुवै रूपमा सञ्चालनमा ल्याएको थियो। सेवा सुरु गर्दा १० लाख क्षमतासहित सुरु भएको यो सेवा दुई वर्षको अवधिमा (२०६४ चैत्र २५ गते) यो सेवा देशका ७५ जिल्लामा पुगेको थियो। सबै जिल्लामा पुगेको यो पहिलो दूरसञ्चार सेवा पनि हो। विभिन्न प्रकारका ट्रान्समिसन माध्यम (रेडियो, अप्टिकल, डिएसएल लिंक, स्याटलाइट) प्रयोग गरी देशका अति विकट तथा दुर्गम क्षेत्रमा समेत उक्त सेवा विस्तार गर्ने काम टेलिकमले गरेको थियो।

त्यसैले पनि विगतमा देशका ग्रामीण र विकट क्षेत्रमा दूरसञ्चार सेवा पु‍र्‍याउनमा यो प्रविधिको विशेष योगदान पुर्‍याएको नेपाल टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन्। उनका अनुसार यो प्रविधिबाट भ्वाइस, पीडीएसएन डाटा, एसएएमस, भीएमएस, फ्याक्स तथा ईभीडीओ डाटासमेत उपलब्ध गराएको छ। त्यतिमात्रै नभएर सेवा सुरु भएको ६ वर्षपछि अर्थात् २०६८ सालबाट टेलिकमले सीडीएमएमा नयाँ प्रविधिलाई आत्मसाथ गर्‍यो। नयाँ उच्च प्रविधिअनुरूप अल–आईपी सीडीएमए सेवामार्फत ग्राहकलाई उच्चस्तरीय टेलिफोन सेवा प्रदान गर्न थालियो।

१० वर्षअघिको तथ्यांक हेर्ने हो भने मोबाइलको पहुँच १८.४७ प्रतिशतमा सीमित थियो। त्यसबेला जीएसएम सेवाको ग्राहक कुल ४५ लाख ५१ हजार ८ सय २८ थियो। सीडीएमएको संख्या पाँच लाख २८ हजार मात्र थियो। कुल ५० लाख ८० हजार चार सय ७७ मोबाइल प्रयोगकर्ता रहेको उक्त समयमा सीडीएमएले कुल प्रयोगकर्ताको १०.४५ प्रतिशत हिस्सा ओगटेको थियो। विस्तारै फैलँदै गएको सीडीएमएले २०६९ मा आइपुग्दा बजार गुमाउन पुग्यो।

२०६८ मा ८ लाख ७० हजारभन्दा बढी सीडीएमए मोबाइल प्रयोगकर्ता थिए भने २०६९ मा आइपुग्दा ८ लाख ५० हजारको हाराहारीमा आयो। यो अवधिमा जीएसमएस मोबाइल प्रयोगकर्ताको संख्या भने अकासिएको थियो। २०६८ वैशाखसम्म एक करोड ८० हजार भन्दाबढी जीएसएम मोबाइल प्रयोगकर्ता थिए। २०६९ वैशाखमा बढेर एक करोड ३६ लाख ४८ हजार भन्दाबढी पुगेको देखिन्छ। एक वर्षको अवधिमा जीएसएम प्रयोगकर्ता ३६ लाखको हाराहारीमा बढे। २०७१ मा आइपुग्दा यसको प्रयोगकर्तामा सुधार भएको थियो।

एलटीई, फोरजी, फाइभजीलगायत नयाँ टेक्नोलोजी भित्रिरहँदा पुरानो प्रविधिको सीडीएमए बन्दै हुँदै जानु स्वाभाविक ठानिएको छ।

२०६८ सालबाट नयाँ प्रविधि अल–आईपी सीडीएमए सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्न थालियो जसको प्रभाव २०७१ मा देखियो। २०७० वैशाखसम्म ८ लाख २९ हजारभन्दा बढी सीडीएमए मोबाइल प्रयोगकर्ता थिए। २०७१ वैशाखमा आइपुग्दा १० लाख ७६ हजार ४९९ ग्राहक थिए। त्यसपछिका वर्षमा सीडीएमए प्रयोगकर्ता झिनो रूपमा बढ्यो। जुन रूपमा जीएसएम प्रयोगकर्ता बढिरहेका छन्। त्यो अनुपातमा सीडीएमएमा वृद्धि हुन सकेको छैन।

चैतसम्मको तथ्यांकमा कुल मोबाइल प्रयोगकर्ता संख्या तीन करोड ९६ लाख ४० हजारभन्दा बढी छ। यो नेपालको कुल जनसंख्याको १३४.३१ प्रतिशत हो। मोबाइल सेवाको पहुँच १३४.३१ प्रतिशत जनसंख्यामा पुगेको छ। त्यसमध्ये सीडीएमए मोबाइल सेवाको प्रयोगकर्ता जम्मा १.६३ प्रतिशत जनसंख्यामा छ। हाल स्काई फोनका प्रयोगकर्ताको संख्या १६ लाख ४६ हजार ६ सय ७८ छन्। प्रविधिमा भएको विकास नै सीडीएमए मोबाइल प्रयोगमा आएको कमीको प्रमुख कारण हो।

पछिल्ला दिनमा जीएसएम सेवाको व्यापक विस्तार एवं विकाससँगै यसको प्रयोगमा कमी आएको छ। जीएसएम सेवामा भएको भइरहेको प्रविधिको विकासअनुरूप सीडीएमएको प्रविधि विकास नहुँदा विश्वमा विस्तारै यो सेवा विस्थापित हुँदै गएको छ। कतिपय देशमा यो सेवा बन्द नै भएको अवस्था छ। नेपालजस्तो भौगोलिक अवस्था रहेका देशमा पनि विस्थापित हुने अवस्थामा छ।

‘सीडीएमए पुरानो प्रविधि भएकाले विस्तारै यसको प्रयोगमा कमी आउँदै छ’, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल भन्छन्, ‘नयाँ प्रविधि भित्रिरहेका छन्। नयाँ प्रविधिलाई स्थान दिन पनि सीडीएमएलाई प्रतिस्थापन गर्नुपर्ने भएको हो।’ विश्वमा पनि सीडीएमए टेक्नोलोजी विस्तारै फेजआउट हुँदैछ। एलटीई, फोरजी, फाइभजीलगायत नयाँ टेक्नोलोजी भित्रिरहँदा पुरानो प्रविधिको सीडीएमए बन्दै हुँदै जानु स्वाभाविक भएको अर्याल बताउँछन्।

अर्यालका अनुसार प्रविधि भनेको त्यसको लागत, क्षमता, विकाससँग जोडिएर आउने विषयमा हो। त्यसैले पनि यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ। ‘जसरी टूजी, थ्रीजी, फोरजी हुँदै अहिले फाईभजीको कुरा आएको छ’, उनले भने, ‘त्यसरी नै सीडीएमएबाट जीएसएम हुँदै अहिले एलटीईसम्म पुगेको छ। जीएसएममा पनि नयाँ प्रविधिको विकास भएकाले यसको प्रयोगमा ठूलो वृद्धि भएको हो, जसले सीडीएमएलाई विस्थापित गर्दै गएको छ।

नेपालले सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द नै गर्ने तयारी गरिरहेको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय फागुन १४ गते भइसकेको छ। समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.