पानी माग्दै महादेवको पूजा
रोजन तामाङ
शनिबार काभ्रेको तेमाल गाउँपालिकामा महादेवको अर्चना गरेर पानी मागिएको छ। स्थानीयले ‘हर हर महादेव, पानी देऊ देऊ’ भन्दै एक लाख पिपलको पातमा ‘राम राम’ लेखी सुनकोसी नदीमा बगाएका छन्।
खानेपानी र खेतीको लागि पानी अभाव भएपछि यस्तो गरेको स्थानीय विष्णुहरी बढालले जानकारी दिए। केही साताअघि मण्डनदेउपुर-७ कश्यपेश्वर मन्दिरमा महारुद्री आयोजना भएको स्थानीय रामहरी नेपालले बताए।
लामो समयसम्म खडेरी परेपछि स्थानीय समाजसेवी रामप्रसाद सापकोटाको अग्रसरतमा महादेवको पूजापाठ र महारुद्री भएको नेपालले बताए। पानी नभएर किसानले धान रोप्न पाएका छैनन्। पूजा गरेर सबै किसानले पानी मागेका हुन्।