धुर्कोटका वृद्धवृद्धालाई ‘लौरो र रेडियो’
गुल्मी : धुर्कोट गाउँपालिकाले पालिकाभित्र रहेका वृद्धवृद्धाहरूलाइ लौरो र रेडियो वितरण गरेको छ। बुढेसकालमा घरमा बसेर समाचार सुनेर दिन भुलाउन सजिलो होस् भन्नका लागि रेडियो र हिँड्डुल गर्न सजिलोका लागि लठ्ठी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
सात वटै वडामा छनौट गरी ७० वर्ष नाघेका २०० जना वृद्धवृद्धाहरूलाई उक्त सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।
गाउँपालिकाले जिल्लामा पहिलोपटक यस्तो कार्यक्रमको थालनी गरेको हो। लठ्ठी र रेडियो पाएपछि वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन्। वृद्धवृद्धाको सम्मान स्वरुप बुढेसकालको सहारा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले प्रतिक्रिया दिए।
जिल्लाका अन्य गाउँपालिकाहरूले समेत वृद्धवृद्धा र बालवालिकाहरूको क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरू गरिरहेका छन्। उनीहरूको सम्मानका लागि स्थानीय सरकारले विशेष योजना बनाएर काम गर्ने जनप्रतिनिधीहरूले बताएका छन्