सडकले कुलो पुरिँदा बाँझियो खेत
ओखलढुंगा : जथाभावी खनिएको सडकले सिँचाइ कुलो पुरिएपछि लिखु गाउँपालिका ६ को उब्जाउसिल खेत बाँझिएको छ । लिखु एकवार सडक निर्माण सिँचाइ कुलो भत्किएपछि खेत बाँझिएको हो। कुले भत्किएपछि खेतमा सिँचाइ सुविधा नहुँदा खेत बाँझै रहेको किसानको गुनासो छ।
लिखु गाउँपालिका-६ मा लिखु एकवार सडक निर्माण गर्दा एक सय पचास घरधुरीको एक हजार रोपनी बढी खेत बाँझो भएको-६ का वडाध्यक्ष टिकाराम मगरले बताए। उनले कुलोमा भएको क्षति र मर्मतको योजना नभएपछि सिँचाइ नहुँदा किसानको खेत बाँझो राख्नुपर्ने अवस्था आएको बताए।स्थानीय स्तरमा कुलो तथा खानेपानीको मर्मत गर्ने अवस्था नरहेको अध्यक्ष मगरले जानकारी दिए।
सडक खन्दा कुलो पुरिएपछि निर्माण पक्षले कुलो मर्मत गरेको छैन। कुलो स्थानीय उपभोक्ताबाट मात्रै मर्मत संभव नभएकाले खेत बाँझै छाड्नु परेको गाम्नाङ्गटार खाल्टेका किसान दलबहादुर मगरले गुनासो गरे।
सडक निर्माण गर्ने सम्बन्धित निकायले सिँचाई कुलो मर्मत नगरिदिँदा खेत बाँझो राख्न बाध्य भएको मगरले बताए। लिखु गाउँपालिकाको गाम्नाङ्टारस्थित खाल्टेमा सिँचाइ पुर्याइएको चार किलोमिटर कुलो सडक निर्माणका क्रममा भत्किएपछि यो वर्ष किसानले धानको बिउ नै राखेका छैनन्।
सडक खनिएका कारण धेरै सिँचाइ कुलोमा क्षति भएपछि तीन बाली लगाउने खेत बाँझिएको हो। लिखु गाउँपालिकामा सडकले विभिन्न स्थानका गरी ५ किलोमिटरभन्दा बढी सिँचाइ कुलो पुरिएको छ। सिँचाइ अभावमा १ सय ५० घरधुरीले खेत नै बाँझै छाडेका छन्। खेत बाँझिएपछि खाद्यन्न अभाव हुने स्थानीय हरि भट्टराईले बताए। गाउँपालिकाले समेत खेत बाँझिएको विषयमा चासो नदिएपछि किसान आक्रोशित भएका छन्।