पत्रकारको प्रतिष्ठा

पत्रकारको प्रतिष्ठा

पत्रकारिताको प्रतिष्ठाकरियरकास्टको र्‍याङ्किङमा ‘न्युजपेपर रिपोर्टर’ पेसा सबैभन्दा निम्न कोटीमा परेको छ । यो २ सयआंै नम्बरमा छ । कामको वातावरण- साह्रै खराब । तनाव- अति धेरै । वृत्तिविकास- अचाक्ली दुर्लभ । पेसागत औकात विश्लेषण गरी नम्बर दिने विश्वमै चिनिएको यस साइटले पत्रकारितालाई सबैभन्दा कमसल देखेको छ । उसको मूल्यांकनमा पत्रिकाका संवाददाता नीचताको पिँधमा छन् ।

तिनले खराब पेसाको एक सय ९९ पूर्णांकमा सबै नम्बर ल्याएका छन् । त्यसभन्दा उच्च कोटीमा बरु रूख काट्ने, विषादी छिट्ने, आगो निभाउने आदि पेसाकर्मी छन् । त्यसभन्दा माथि पर्छन्-ट्याक्सी ड्राइभर, फोहोर संकलक, हुलाकी, पेन्टर, निर्माण श्रमिक, वेल्डर, ट्रक ड्राइभर, सिकर्मी, किसान, इँटा मजदुर आदि ।पत्रकारिता संसारमै यति दीन-हीन पेसा कसरी हुन गयो ? आउनुहोस्, खुला बहस गरौं । चौथो अंगदेखि पीत पत्रकारिता हुँदै आजको नागरिक पत्रकारितासम्म आइपुग्दाका उतार-चढावको गहन समीक्षा गरौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यहाँका ठूला मिडियाबीच शीतयुद्ध चलिरहेको छ । अल्पराजनीतिक पृष्ठभूमिबाट उदाएका ट्रम्पले कुनै हालतमा नजित्ने सन् २०१६ को चुनावताका मिडियाले प्रक्षेपण गरे । सर्वेक्षणका सबै रिपोर्ट डेमोक्य्राट प्रत्याशी हिलारी क्लिन्टनका पक्षमा थिए । रिपब्लिकन ट्रम्पले जब अप्रत्यासित बाजी मारे, मिडियाले हार्न चाहेनन् । सर्वेक्षण आफैंमा व्यावसायिक पत्रकारिता होइन, त्यसमाथि उल्टो परिणाम आउँदा पेसागत सकस नपर्नु ठीक थिएन । तर, त्यसभन्दा माथि नाघेर ट्रम्पले मिडियालाई गाली गरे, ‘यी अमेरिकाका दुस्मन हुन् ।’

ट्रम्पका कुरा छाडौं, अमेरिकाका अन्य नेताको हेराइमा पनि पत्रकारिता गाली गर्न योग्य पेसा हो । प्रायःको हेर्ने दृष्टिकोण उस्तै कर्के छ । पूर्वराष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, ‘अरू केही नपढेर पत्रिका मात्र पढ्ने मानिसभन्दा बरु केही पढ्दै नपढ्ने व्यक्ति बढ्ता शिक्षित हुन्छ ।’ उनको आशय हो- पत्रिका पढ्नु भनेको भएको शिक्षा पनि गुमाउनु हो ।

ट्रम्पसँग राष्ट्रपतिको प्रतिस्पर्धामा उत्रिएकी हिलारीको भनाइ उस्तै टिठलाग्दो छ, ‘जब म पत्रिकाको पहिलो पृष्ठ पढेर भ्याउँछु, केवल कपालको स्टाइल बदल्न सक्छु ।’ उनले भन्न खोजेको हो- पत्रिका पढेर आर्जन गर्ने केही हुँदैन । यिनले काम लाग्ने कुरा फिटिक्कै लेख्दैनन् ।

महात्मा गान्धीले भने यो पेसाको मर्म बुझेका थिए । उनले भनेका थिए, ‘म हरेकबीच समानतामा विश्वास गर्छु तर रिपोर्टर र फोटोग्राफरबाहेक ।’ उनलाई थाहा थियो- यी दुई पेसाकर्मी दुनियाँमा साह्रै दुःख गर्छन् । तिनलाई भिन्नै उच्च सुविधा दिइनुपर्छ ।

तिनै रिपोर्टर र फोटोग्राफर अन्य नेताका लागि भने ‘दुस्मन’ बन्ने गरेका छन् । कारण धेरै छन् । नेताले प्याच्च बोल्छ । पत्रकारले लेख्छ । सामाजिक सञ्जाल नेताविरुद्ध खनिन्छ । उसले प्रतिक्रिया दिन्छ, ‘मिडियामा जे आयो, त्यो भ्रामक, कपोलकल्पित, मनगढन्ते, अतिरञ्जित र नियोजित हो । मैले त्यस्तो बोलेकै छैन ।’

पत्रकारले अडियो-भिडियो जे छ, सार्वजनिक गर्छ । नेता झन् ठूलो स्वरले कुर्लिन्छ, ‘यो एडिट गरेर मिलाएको हो । पूरा वाक्य नदिएको हो ।’ आदि-इत्यादि । सामाजिक सञ्जाल फनक्क फर्किन्छ, ‘...पत्रकार ।’ ‘यसलाई त डाम्नुपर्ने ।’ इत्यादि । हाम्रो सामाजिक संरचना यस्तो छ, जो हल्लाका पछि हूल बाँधेर दौडिन्छ । गहिराइमा नपुगी कडा श्राप दिनै हौसिन्छ । र, यसमा प्रायःका तारो बन्छन् पत्रकार ।

इटहरीका मेयरको तथानाम प्रकरण होस् वा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको अन्तर्वार्ता नै किन नहोस्, सामाजिक सञ्जाल पत्रकारविरुद्ध खनिएर लाग्यो । प्रतिक्रिया हेर्दा यस्तो लाग्थ्यो- अहिल्यै पत्रकारिता छाडौं । किनकि, मौकामा व्यक्ति होइन, सिंगो पेसालाई दुनियाँले गाली गर्छ ।

सँगसँगै यो पनि हो- बढ्ता आलोचना पत्रकारकै किन हुन्छ ? ठोक्ने ठाउँ पाउँदा पत्रकारविरुद्ध सर्वसाधारणसम्मै किन मुख छाडेर लाग्छन् ? कहाँ चित्त दुखेको छ तिनको ? के छन् हाम्रा कमजोरी ? के पत्रकारले योचाहिँ नसोच्ने ? नखोज्ने ? आत्मसमीक्षा नगर्ने ?

अर्काका आङका जुम्रा देख्ने हामी पत्रकारले आफ्नो आङमा पनि के-के हिँड्दै छन् हेर्ने कि ? नेपालमा सरकार र मिडियाकर्मीबीच पञ्जा-लडाइँ चर्किइरहेको छ । मिडियाकर्मी राक्षस हुन् जसरी सरकार प्रस्तुत छ । यिनलाई ठेगान नै लगाउनुपर्छ भन्ने मान्यताबाट मिडिया काउन्सिल विधेयक ल्याइएको छ । पत्रकार त्यसविरुद्ध जुर्मुराएर आन्दोलनमा उत्रिएका छन् ।

पत्रकारितामा यदाकदा अपरिपक्वता हुन सक्छ । त्यसलाई हेरेर सिंगो पेसालाई दोषारोपण गर्नु हुँदैन । तर, आफूभित्रका कमी-कमजोरी भने पत्रकारले अनुभूत गर्नैपर्छ । आखिर कुन पेसाको टीका-टिप्पणी हुँदैन ? सबैभन्दा बढता जनताले खैरो खन्ने राजनीतिकर्मीकै हो । वकिलबारे जोकैजोक बनेका छन् । घर-घरमा उत्पादनको सपना देखिने डाक्टर÷इन्जिनियर धनमुखी भएर आचार बिर्संदै गएका छन् । तिनको प्रतिष्ठामा पनि प्रश्न आउन थालेका छन् । ‘सेलिब्रेटी’ भनिने कलाकारदेखि संगीतकर्मीसम्मका बदनामीका घटना सार्वजनिक भएकै छन् । राष्ट्रसेवक घुसमा कहलिएका छन् । सामाजिक अभियन्ताका कमाउधन्धा गनिनसक्नु छन् ।

के सबै राजनीतिज्ञ बिटुला छन् ? वकिल, डाक्टर, इन्जिनियर, कलाकार, कर्मचारी, समाजसेवी अनुकरणीय पनि छैनन् र ? सबैलाई एउटै डालोमा हालेर पेसाकै बदनाम गर्नु महाभूल हो । पत्रकारिता पनि त्यस्तै हो । भनाइमा यो राज्यको चौथो अंग हो । तर, स्विकार्नै पर्छ- यो चौथो अंगका सबै अंग स्वस्थ भने छैनन् । प्रश्न हो- बिरामीको उपचार गर्ने कि घाँटी निमोठ्ने ? सरकारको कदम घाँटी निमोठ्न मात्र होइन, छिनाउनै उद्यत् छ ।

बेलायती राजनीतिज्ञ एडमन्ड ब्रुकले सन् १७८७ मा संसद्मा प्रेसलाई त्यसै चौथो अंग भनेका थिएनन् । हाउस अफ कमनमा उनले भनेका थिए, ‘यहाँ राज्यका तीन अंग छन् । उता रिपोर्टर ग्यालरीमा चौथो अंग बसेको छ, जुन बाँकी अंगका लागि महत्वशाली छ ।’

त्यो उस जमानाको रफ्तारमा ‘भाइरल’ भयो । सन् १८२३ मा अक्सफोर्ड डिक्स्नरीले सामेल गरेपछि विश्वव्यापी भयो । अहिले संसारभरि पत्रकारलाई राज्यको चौथो अंग भनिन्छ । तर, नेपालजस्ता राजनीतिबहुल मुलुकमा रोगिएको अनि शल्यक्रिया गरेर फाल्नुपर्ने अंगको व्यवहार गरिन्छ । राज्य बरु अपूरो बन्न चाहन्छ, प्रेसलाई देख्नै सक्दैन । मुख्य कारण हो- स्वेच्छाचारिता र अनियमितता ।

प्रेस ‘वाच डग’ हो । शासकका कर्तुतविरुद्ध औंला उठाउन हिम्मत गर्ने पत्रकार नै हुन् । विपक्षमा हुँदा ‘सूचना दिएर’ सरकारविरुद्ध लेखाउने उही राजनीतिकर्मी जब सत्तामा पुग्छ, भन्छ- ‘पीत पत्रकार ।’ दुनियाँसामु आफ्नो आलोचना देख्न÷भोग्न नसक्नेका लागि पत्रकार ‘घटिया’ हुन् । आफ्नो दुस्कर्म ढाक्न जब कसैले पत्रकारलाई गाली गर्छ, बढ्ता विश्वास लेख्नेको होइन, उसकै गरिन्छ । विडम्बना यही छ ।

तर, पत्रकार छाडा साँढे अवश्य होइनन् । नियम, कानुन र आचारसंहितामा ती बाँधिनैपर्छ । त्यसका लागि व्यावसायिक पत्रकारिताका संघ-संगठन, समाचार संस्था तथा पत्रकार आफ्नै आचारसंहिता नभएका होइनन् । तिनको दायरामा रहेर सत्यता, विशुद्धता, वस्तुनिष्ठता, निष्पक्षता, न्याय र सार्वजनिक जवाफदेहिताका सिद्धान्त अवलम्बन गर्न पत्रकारले चुक्नु हुँदैन । तब मात्र यसको प्रतिष्ठा चुलिनेछ ।

करियरकास्टको ‘दुःखी पेसा’ को अर्थ सबैले घृणा गर्ने भन्ने होइन । पत्रकारिताको आफ्नै खाले मान, मर्यादा र सम्मान छ । उसले देखाउन चाहेको यति हो- यो आराम र हरामको पेसा होइन । यसमा दुःख, कष्ट, व्यथा धेरै छन् । यो पेसा यस्तो हो, जसले अर्काका कुरा अर्काकै लागि खोजिदिन्छ ।

तर पनि जस पाउँदैन । किन ?

राज्य ठान्छ- यो देशमा ठेगान लगाउनुपर्ने अरू कोही छैन, पत्रकार मात्र छ । किन ? प्रश्न सायद प्रश्नमै सीमित रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.