बझाङको कालंगा हाइड्रोमा तोडफोड, पाँच दिनदेखि काम ठप्प
बझाङ : बझाङको बुंगोल क्षेत्रमा विधुत उत्पादन गरिरहेको कालंगा हाइड्रोको फिल्ड कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्। संचालक तथा फिल्डमा काम गर्ने कर्मचारीले शान्ति सुरक्षाको प्रत्याभुत नभएको भन्दै पाँच दिनदेखि काम बन्द गरेका हुन्।९ स्थानमा अहिले काम रोकिएको छ।
स्थानीयले विगजडामा रहेको २ वटा फिल्ड कार्यालयमा रहेका २ वटा जेसीवी, ३ टिपरवटा र महेन्द्रा बलेरोजीप १० वटासहित अन्य कार्यालयमा व्यापक तोडफोड गरेका छन्।
सोमबार कालंगा हाइड्रोका कर्मचारीले पत्रकार सम्मेलन गर्दै घटना र क्षतिबारे जानकारी गराएका छन्। केहि दिन अगाडी आक्रोसित स्थानीयको भीडको तोडफोडबाट १५ करोड बराबरको क्षति भएको प्रालीका प्रमुख प्रशासकीय अधिकृत पुष्प चित्रकारले जानकारी दिए।
असार १६ गते हाइड्रोका जेसीबी चालक माधव बोहरालगायत अन्य व्यक्तिले बुंगोल नगरपालिका २ बस्थीकी २० वर्षीया ललिताकुमारी धामीको सामूहिक बलात्कार गरी हत्या गरेको विषयलाइ दिएर दोषिलाई कारबाहीको माग गर्दै स्थानीयले हाइड्रोका फिल्ड कार्यालयमा तोडफोड गरिएका थिए।
आफूहरुको शान्ति सुरक्षा नभएको भन्दै त्यहाँका कर्मचारीले कारबाहीको माग गरेका छन्। जिल्लाकै विकट दुर्गममा काम गरिरहेको कालंगा हाइड्रोले घटना भएको दिनदेखि नै साइडमा काम बन्द गरेको छ।
सधैं स्थानीयबाट अनावश्यक दु:ख पाइरहेको र प्रहरी प्रशासनबाट कुनै सहयोग नपाएपछि प्रालीका लगानी कर्ता र कर्मचारीले बझाङमा काम गर्न गाह्रो भएको बताएका छन्।
'ललिताको घटनाप्रति हामी दुखित छौं, प्रालिका संचालक विरेन्द्र मल्लले भने,' दोषिलाई प्रहरीले पक्राउ गरिसक्दा पनि हामी लाई दु:ख दिनु दु:खत कुरा हो।' उनले यस्तै वातावरण रहिरह्यो भने लगानीकर्ता कोही पनि नआउने बताए। पीडित परिवारले भने आफूहरुले स्थानीयलाई तोडफोड र प्रदर्शन नगर्न सुझाएको बताएका छन्।
समाजका केही गलत प्रवृत्तिका मानिसको अगुवाइमा तोडफोड भएकाले दोषिलाई कारबाही गरिनुपर्ने हाइड्रोका कर्मचारीको माग छ।कम्पनीमा ढुंगामुढा प्रहार हुँदा पनि प्रहरी मुखदर्शक भएर बसेको प्रालिका लगानीकर्ताले आरोप लगाएका छन्।हाइड्रोको बझाङमा ६५ मेघावाट विधुत उत्पादन गर्ने लक्ष्य छ।अहिले ६० प्रतिशत काम भइसकेको छ।

प्रतिक्रिया दिनुहोस !