विषादीयुक्त सागसब्जी र फलफूल : धमाधम भित्रिन थाले
विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।
काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।
सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए।
संघीय सरकारले असार २ मा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारी सम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो। असार १० गतेदेखि प्रदेश १ का सीमा नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादीको मात्रा परीक्षण सुरु भएको थियो। लगत्तै विराटनगर र काँकडभिट्टास्थित मेची भन्सारमा तरकारी तथा फलफूल बोकेका ट्रकको लाइन लाग्न सुरु भएको थियो।
प्रयोगशाला नाम मात्रैको
प्रदेश १ को राजधानी विराटनगरमा सोमबारदेखि प्रदेश सरकारले विषादी मापन प्रयोगशाला सुरु गर्यो। जोगबनी नाका नजिकै प्रयोगशाला खुल्दा सबैलाई लागेको थियो : ‘संघीय सरकार पछि हटे पनि प्रदेश सरकारले अब विराटनगर भन्सारबाट आउने तरकारी र फलफूल परीक्षण गर्छ।’ तर, सो प्रयोगशालाले नेपाल भित्रिएर बजारमा बिक्री भइरहेका तरकारी र फलफूलको मात्रै नमुना संकलन गरी परीक्षण गर्ने भएको छ।
हाल विषादी परीक्षण गर्न संघीय सरकारले नै रोकेकाले प्रदेश सरकारले पनि नाकामै ट्रक रोकेर विषादी परीक्षण नगने प्रदेश १ सरकारले जनाएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले संघीय सरकारले अनुमति दिए मात्र आयातीत तरकारी र फलफूल परीक्षण गर्ने बताए। ‘यो अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएको कुरा भएर यसमा संघीय सरकारले निर्णय गर्नेछ। अहिले हाम्रो प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलको नमुना संकलन गरेर परीक्षण गर्ने हो,’ उनले भने।
प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा बजेट छुट्याएपछि विराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भइसकेको थियो। तर, जनशक्ति नहुँदा सञ्चालनमा आएको थिएन। विषादी मापनको चार्चा चलेकै समयमा सरकारले यसको सुरुवात गरेको हो। प्रदेश सरकारले काठमाडौंबाट कृषि मन्त्रालयका प्राविधिक बोलाएर उपकरण जोड्न लगाएर सोमबारदेखि परीक्षण थालेको थियो।
बाली संरक्षण प्रयोगशालाका प्राविधिकलाई तालिम दिएर अहिले ‘क्लास थ्री’ का एक, प्राविधिक सहायक दुईसहित ६ जना जनशक्ति प्रयोगशालामा कार्यरत छन्। ‘संघीय सरकार आफ्नो निर्णयबाट पछि नहटेको भए प्रदेश १ का नाकामा यो प्रयोगशाला सञ्चालनमा आएसँगै ट्रकको लाइन लाग्ने थिएन। हामीले रातारात काम गरेर ल्याब सञ्चालनमा ल्याएका थियौं। अब यसमा आन्तरिक बजारकै तरकारी परीक्षण गर्नुपर्ने भयो,’ मन्त्रालयका सचिव हस्तबहादुर विष्टले भने।
कर्मचारी फुर्सदिला
भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी मापन गर्न सुरु गर्दा खाजा खानेसम्म फुर्सद नपाएका प्रदेश १ का लागि झापा बिर्तामोडमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका दुई जना कर्मचारी सोमबारदेखि फुर्सदिला छन्।
दैनिक ८० देखि ९० वटासम्म नमुनाको परीक्षणमा खटिनुपर्ने उनीहरुको काम सोमबार दिउँसोबाट घटेको छ। पर्याप्त जनशक्ति नभइरहेका बेला सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच्ने नियम बनाएपछि काममा बोझ थपिएको थियो। नमुना परीक्षणका लागि भन्सारबाट आउन छाडेकाले काम घटेको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्। ‘आइतबारसम्म कामको चाप थियो। सोमबार सबै भन्सार कार्यालयमा पत्र आएकाले विषादी मापन रोकिएको छ। अब हामी आफैं बजारका तरकारी र फलफूलको नमुना ल्याएर परीक्षण गर्छौं। जुन पहिले पनि गर्ने गरिएको थियो,’ आचार्यले भनिन्।
नमुना नआएपछि कर्मचारीले नियमित जाँचको मात्रै काम सुरु गरेको उनले बताइन्। भारतसँग सीमा जोडिएको पूर्वीनाका काँकडभिट्टा र विराटनगरमा विषादी जाँच गर्ने प्रयोगशाला छैन। पूर्वी नाकामा मेची भन्सार कार्यालयसँगै रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले आफ्नो प्रयोगशालामा पनि तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा जाँच्दैन। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख बाली संरक्षण अधिकृत सुरेशकुमार साह भारतबाट भित्रिने फलफूल तथा तरकारीमा भएको विषादीको मात्रा जाँच्ने अधिकार आफूहरूलाई नभएको बताउँछन्।
विषादी चेकजाँच गर्नुपर्ने झन्झट नभएपछि विराटनगर र काँकडभिट्टा क्वारेन्टाइनका कर्मचारी पनि फुर्सदिला छन्। भारतबाट भित्रने कतिपय फलफूल खानै नहुने पनि भेटिएको प्राविधिक कर्मचारी आचार्य बताउँछिन्।
आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन विना सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा अनिवार्य जाँच्नुपर्ने व्यवस्था गरेको थियो। तर, सरकारले यो निर्णय फिर्ता लिएपछि पूर्वी नाकाबाट तरकारी तथा फलफूल भित्रिने क्रम सुरु भएको छ।