वीरगन्जसहित दर्जनौ गाउँ डुबानमा : एकको मृत्यु, ५० परिवार विस्थापित
वीरगन्ज : चार दिनदेखि लगातार परिरहेको वर्षाको कारण पर्साको सदरमुकाम वीरगन्ज र ग्रामीण भेगका दर्जनभन्दा बढी गाउँहरु डुबानमा परेका छन्।
वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ। प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ। अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदि र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन्। नदि र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ।
पर्सामा रहेका ओरिया, सिक्टा, गङ्गोल, तिलावे नदीमा आएको बाढीले खेतीयोग्य जमीन र मानवबस्तीमा क्षति पुर्याएको छ। अबिरल वर्षाका कारण सिक्टा नदिमा बाढी आउँदा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर ४ र ५ का विभिन्न गाउँ डुबानमा परेका छन्।
गाउँमा बाढी पसेपछि पकाहा मैनपुर गाउँपालिकाको खेस्रहा, लहावरथकरी, धोबिया टोल डुबानमा परेको हो। गाउँमा बाढी पसेपछि धोबियाटोलाका ५० परिवारलाई गाउँ बाहरीको सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएको प्रहरी चौकी खेस्रहाका प्रहरी सहायक निरीक्षक रामदरेश यादवले जानकारी दिए।
सदरमुकामसँग सडक सम्पर्क बिच्छेद
अविरल वर्षापछि खहरेखोलाहरुमा आएको बाढीका कारण जिल्ला सदरमुकाम वीरगंज र चितवनको भरतपुरसँग ठोरीको सडक सम्पर्क टुटेको छ। अविरल वर्षाका कारण सडक हिलाम्य हुनुका साथै खहरे खोलाहरुमा आएको बाढीका कारण तीन दिनदेखि वीरगंजसँग ठोरीको सडक सम्पर्क विच्छेद भएको सशस्त्र प्रहरी ठोरीका
प्रहरी निरीक्षक अमरबहादुर विकले जानकारी दिए। वीरगंज ठोरी सडकखण्डको ढेडु, ठुटे, ओडारलगायतका खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो। वीरगंज ठोरी सडकखण्डको झिंगे, सरस्वती, ढेडु लगायतका खहरेखोलामा अहिलेसम्म पुल बन्न सकेको छैन। ठुटे, रामनगरखोला र ओडारखोलामा पुल निर्माण भइसके पनि प्रयोगमा आउन नसक्दा वर्षातको समयमा स्थानीयले समस्या भोग्दै आउनु परेको छ।
खोलामा डुबेर एक बालकको मृत्यु
पर्साको पर्सागाढी नगरपालिका वडा १ बागवना नजिकै रहेको सिङ्याही खोलामा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ। खोलाको बाढीले बगाएर ल्याएको काठ छोप्न खोलामा पसेका बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नम्बर १ का मेघराज पटेलका १२ वर्षीय छोरा निखल पटेलको डुबेर मृत्यु भएको हो।
खोलामा डुबेर घाइते भएका बालक निखिललाई उद्धार गरि उपचारका लागि वीरगन्जमा ल्याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
सावधानी अपनाउन स्थानीय प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय पर्साले चार दिनदेखि लगातार वर्षा भइरहेकाले बाढी आउने र डुबानको समस्या भएका स्थानका वासीन्दालाई सतर्क रहन आग्रह गरेको छ।
डुबान र बाढीको जोखीमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति पूर्व तयारीमा जुटिसकेको बताउँदै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आफ्नो गाउँ ठाँउमा डुबान वा बाढीको जोखिमको संकेत देखा पर्ने बित्तिक्कै नजिकको प्रहरी चौकी वा स्थानीय तहका जनप्रतिनिधिलाई खबर गर्न जिल्लाबासीसँग अपिल गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहहरुको समन्वयमा डुबान र बाढीको जोखिम रहेका स्थानहरुको पहिचानका लागि विवरण संकलनको काम गरिरहेको बताए। उनले डुबान र बाढी आएको अवस्थामा उद्धारका लागि सुरक्षाकर्मीहरुलाई पठाउन तयारी अवस्थामा राखिएको जानकारी दिए।
उद्धारका लागि १५ लाखमा ५ वटा डुङगा खरिद
प्रजिअ भट्टराईका अनुसार वर्षायाममा हुने डुबानबाट सर्वसाधरणको उद्धारका लागि पर्सामा १५ लाख रुपैयाँको लागतमा पाँच वटा डुङगा खरिद गरिएको छ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको पहल र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबाट पाइडलबाट चलाउने खालको प्लास्टिकको डुङगा खरिद गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
यसका लागि वीरगंज महानगरपालिकाबाट दश लाख रुपैयाँ, तीनवटै नगरपालिकाहरूबाट ५/५ लाख र १० गाउँपालिकाहरूबाट ३/३ लाख रुपैयाँ निकासा गराएर १५ लाखमा ५ वटा डुङगा खरिद गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी भटटराइले भने ,‘ बाँकी रकम जिल्ला विपद् व्यवस्थापन समिति पर्साको खातामा सुरक्षित छ। पर्साका लागि खरिद गरिएको डुङगा आवश्यक परे छिमेकी जिल्लामा समेत पठाउन सकिने स्थानीय प्रशासनले जनाएको छ।