अविरल वर्षाले हुरीपीडितको बिजोग
बारा : अविरल वर्षाले बारा र पर्साका हुरी प्रभावित सयौं परिवार थप बिचल्लीमा परेको छ।
‘टेन्टभित्र पानी भरिएपछि नातिनातिनालाई टहरामा राखेर ओत लागेको छु’, शुक्रबार छिमेकीको गोठमा बाँधिएका चौपाया छेउमै रहेको खाटमा काखे नातिनी स्याहार्दै बसेकी भरवलियाकी वृद्धा सूर्यज्योतिदेवी कुर्मीले भनिन्, ‘ वर्षाको पानी टेन्टभित्रै पसेर घुँडासम्म आएपछि नातिनातिना र छोराबुहारी सातजनाको परिवार ३ दिनदेखि छिमेकीको गोठमा शरण लिएर बसिरहेका छौं।’
चैत १७ को हुरीपछि यहाँका बासिन्दा नेपाली सेनाले बनाइदिएको अस्थायी टेन्ट र त्रिपालमा चार महिन देखि ओत लागेर बस्दै आएका छन्। उनीहरूका लागि सरकारले सेनामार्फत वैशाख तेस्रो सातादेखि घर पुनर्निर्माण भइरहेको छ। वर्षाअगावै घर निर्माण गरी प्रभावित परिवारलाई हस्तान्तरण गरिदिने सरकारको घोषणा पनि थियो। तर, घर निर्माण थालिएको तीन महिना बितिसक्दा पनि दुवै जिल्लामा एउटा घरको पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन। जसका कारण प्रभावित परिवार अस्थायी टेन्ट र त्रिपालकै ओतमा बस्न विवश छन्।
चार दिनयता निरन्तर भइरहेको वर्षाको पानी टेन्ट र त्रिपालभित्र छिरेका कारण प्रभावित परिवारको थप बिजोग भएको भरवलियाकै अंकिता पटेलले बताइन्।
वर्षाअघि घर पाउने सम्भावना न्यून
‘सेनाले घर बनाउन थालेको तीन महिना भइसक्यो तर अहिलेसम्म जगको काम मात्रै सकिएको छ’, भरवलियाकी सूर्यज्योति देवीले भनिन्, ‘चार महिनादेखि अस्थायी टेन्टमा बस्दै आएका भलुहीका जंगबहादुर शर्मा ठाकुरको व्यथा भने बेग्लै छ। वैशाख २१ को शिलान्यासका दिन घर निर्माणका लागि सेनालाई प्राप्त सूचीमा आफे नाम भए पनि पछि अध्यावधिक भइआएको अर्को सूचीबाट भने आफनो नाम हटाइएको ठाकुरले बताए।
ठाकुरकै जस्तै दुःखेसो उनका छिमेकी रिङकु देवीको पनि छ। शुक्रबार वर्षा भइरहेका बेला त्रिपालमुनिको खाटमा काखे नानीलाई खेलाउँदै गरेको अवस्थामा भेटिएकी रिङकुले भनिन्, ‘मेरो नाम पनि पहिलो सूचीबाट हटाइयो। अहिले सेनाका मान्छेले तिम्रो घरमा कोही बन्दैन भनिरहेका छन्। त्यसमा झन् अहिले यो वर्षाको पानीले पूरै टेन्ट भिजेर बेहाल भएको छ।’
बाराकै पुरैनिया गाउँमा सेनाले निर्माण गरिरहेको आफ्नो घर अगाडि शुक्रबार भेटिएका असरफ अन्सारीले १५ दिनदेखि घर निर्माण रोकिएको बताए।
‘सेनाले साउन २ गते सबै काम सकेर घर हस्तान्तरण गरिदिन्छौं भनेका छन्’, उनले भने, ‘तर अहिलेसम्म न त झ्यालढोका हालेका छन्, न त भुइँ लान नै भएको छ।’ फेटा गाउँपालिकाका प्रमुख अमिरीलालप्रसाद कलवारले पनि हुरी प्रभावितका लागि भइरहेको घर निर्माण कार्य सुस्त रहेको बताए।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले भने घर निर्माण कार्य तीव्र गतिमा भइरहेको जिकिर गरे। सरकारबाट अध्यावधिक गरी पछिल्लो पटक प्राप्त सूचीअनुसार बारा र पर्सामा गरी ८ सय ८४ घर निर्माणको काम सेनाले गरिरहेको जानकारी दिए। साउन २६ गतेभित्र सबै ८ सय ८४ घरको निर्माण कार्य सकेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने जानकारी पाण्डले दिए।