भानुभक्तलाई जन्मदिनको शुभकामना
प्यारा प्यारा भाइबहिनीहरू ! स्कुल, घर वा कहीँ कविताको कुरा हँुदा तिमीहरूले भानुभक्त आचार्यको नाम पक्कै सुनेका छौ होला। उनी नेपाली साहित्यका आदिकवि हुन्। ‘आदिकवि’ भनेर ‘सुरुका कवि’ भनिएको हो। असार २९ गते उनको जन्मदिवस हो। यो वर्षको असार २९ गतेको दिन उनको २०६औं जन्मजयन्ती अर्थात् २०६औं भानुजयन्ती हो। उनलाई हामी किन श्रद्धापूर्वक सम्झन्छौं ? आज उनै भानुभक्तका बारेमा केही जानौं है त।
भानुभक्त आचार्यको जन्म वि. सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा भएको थियो। उनको देहावसान वि. सं. १९२५ असोज ६ गते सेतीघाट तनहुँमा भएको थियो। उनी श्रीकृष्ण आचार्यका नाति अनि धनञ्जय आचार्य र धर्मावती देवीका छोरा थिए। उनको बाल्यकाल चुँदी रम्घाकै सुन्दर प्राकृतिक छटामा हाँसीखेली बित्यो। उनले आफ्ना हजुरबाबाटै शिक्षा प्राप्त गर्ने मौका पाए।
उनले पढाइसँगै संस्कृत साहित्य, व्याकरण र ज्योतिषबारे पढ्न पाएका थिए। तत्कालीन ग्रामीण स्तरअनुसारको उच्च कुलीन परिवारमा जन्मेका उनी पढाइमा निकै तेजिला थिए। घाँस काटेर गुजारा चलाउने एक दुःखीबाट जीवन सार्थक बनाउनुपर्छ भन्ने प्रेरणा पाएका उनी कविता विधामा विशेष प्रतिभा भएका विद्वान थिए। कतिसम्म भने एकपटक कसैले उनीसँग परिचय माग्दा उनले कवितामा नै यसरी उत्तर फर्काएका थिए। त्यो अंश यस्तो थियोः
पाहाडको अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राम्हण् थिया
खुप् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिह्नी लिया।।
समय, स्थान, अवस्थाअनुसार तुरुन्तै र राम्रा कविता लेख्न सक्ने भानुभक्तको क्षमतासम्बन्धी अरू पनि उदाहरण पाइन्छन्। उनी पहिलो पटक काठमाडौं आउँदा सुन्दर कान्तिपुरको वर्णन गरेको कविता, एक पटक मित्र तारापतिका घरमा बास बस्दा त्यहाँ सासूबुहारीले गरेको झगडा देखेर लेखेको कविता उनको त्यस्तो कवित्वका नमुना हुन्।
भाइबहिनीहरू ! भानुभक्त जन्मिएको समयसम्म आज हामीले बोल्ने सहज र मानक नेपाली भाषा सबै नेपालीबीचमा आम रूपमा प्रचलित थिएन। उनले जनजीवनमा भिजेको नेपाली भाषालाई यति सहज रूपमा प्रयोग गरेर कविता रचना गरे कि पढ्दै नपढेका नेपालीमा पनि उनका कविता कण्ठस्थ भए। मानक नेपाली भाषा त यस्तो पो हुन्छ भन्ने उदाहरण पनि उनले प्रयोग गरेको भाषा नै भयो। नेपाली भाषामा कविता लेख्ने कविहरू त उनीभन्दा पहिले पनि थिए तर कविताका माध्यमबाट नेपाली भाषालाई मजबुत बनाउने काम चाहिँ उनले नै गरे। त्यसैले नै उनलाई नेपाली भाषाका आदिकवि भनिएको हो।
के वृद्ध, के बालक, के शिक्षित, के अशिक्षित सबै नेपालीभाषीका मन मनमा प्रिय भई बसेका अनि सबैका गला गलाबाट गाइने÷वाचन गरिने कविताका रचयिता भानुभक्तले विभिन्न लमाइ (आयाम) का विभिन्न कविता लेखेका छन्। बाल्मीकिले संस्कृतमा लेखेको रामायणलाई नेपालीमा भावानुवाद गरी उनले रामायण महाकाव्य तयार पारे। यसैगरी भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा, रामगीताजस्ता अरू कृति एवम् विभिन्न फुटकर रचना रचेर उनले आप्mनो र समग्र नेपालीको शिर उचो बनाए। संस्कृतको जटिलतासँग प्रयोग हुने गरेका विभिन्न शास्त्रीय छन्दहरूलाई सहज रूपमा जनजिब्रोमा झुन्डिने कवितामा नै प्रयोग गरेर हामीलाई पाठ सिकाए।
भानुभक्त कविमात्र होइनन्। उनी त भाषा, साहित्य, धर्म, संस्कृति, दर्शन, परम्परा, कर्तव्य, मर्यादा, पितृप्रेम, राष्ट्रप्रेमलगायत कुराका पनि विद्वान् र हामी सबैका गुरु हुन्। ज्योतिष विद्यामा पनि उनी उत्तिकै पारंगत थिए। हो, उनले कविताका माध्यमबाट व्यक्त गरेका कतिपय कुराहरू रुढि, अन्धविश्वासयुक्त तथा विभेदयुक्त लाग्दछन्। तर त्यस समयको समाज अनि त्यस समयको चेतनामा आधारित भएर लेखिएका कवितालाई आजका आँखाले हेरेर उनको आलोचना मात्र गर्नु न्यायसंगत हुँदैन।
बरु त्यस समय र समाजको उत्पादन भएर पनि भाषाका माध्यमबाट आम नेपालीलाई एकताको सूत्रमा बाँध्न सक्ने उनको सामथ्र्य पो पूज्य ठहर्छ। त्यसैले त उनका बारेमा धेरै विद्वानहरूले गहिरो अध्ययन गर्नुभएको छ। उनले लेखेका कृतिहरू विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढाइ हुन्छ। उनका बारेमा विद्यावारिधिसम्मका धेरै अनुसन्धान भएका छन्। उनका नाममा प्रतिष्ठान तथा पुरस्कारका कोष स्थापना भएका छन्। धेरै स्थानहरूमा पूर्ण र अर्ध कदका उनका शालिकहरू निर्माण गरिएका छन्। हरेक वर्ष उनको सम्झना र सम्मानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भानुजयन्ती मनाउने गरिएको छ। त्यसैले भानुभक्त नेपाल र नेपाल बाहिर बसोबास गर्ने सबै नेपालीभाषीका पूज्य व्यक्तित्व र प्रेरणाका स्रोत बनेका छन्।