उद्दारकर्मीको आँखा पुग्न नसकेको पर्साको शीकारीवास

उद्दारकर्मीको आँखा पुग्न नसकेको पर्साको शीकारीवास

वीरगन्ज: अविरल वर्षाका कारण आएको बाढीले देशका विभिन्न जिल्लामा गाउँ डुबानमा छन्। सयौं घरपरिवार विस्थापित भएका छन्।समाचार तयार पार्दासम्म प्राप्त जानकारीअनुसार बाढीमा परी ४८ जनाको मृत्यु, 35 बेपत्ता र २५ घाइते भएका छन्।

देशभर बाढी आएपछि पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको जंगलभित्र खहरे खोलासँगै टाँसिएको शीकारीवास गाउँका बासिन्दा बाढीको त्रासमा छन्। त्यहाँ करिब ४०-४२ घरपरिवार बस्छन्।यो वर्षामा कति बेला के हुने हो भन्ने त्रासमा उनीहरु रातदिन काटिरहेका छन्।

पाँच दिनदेखिको अविरल वर्षाका कारण गाउँसँगै टाँसिएर रहेको चिल्मेढरा खोलामा आइरहेको बाढीको भेल बस्तीमा पस्नै लागेको छ। डेढ सय गाउँले त्रासमा बाचिरहेको बेला कसैले चासो नदेखाएको स्थानीय अगुवा सुजित बस्नते बताए।

'खहरे खोलामा आएको बाढीले जमिन कटान गरिरहेको छ। बाढीको भेल गाउँ पस्ने त्रासले गाउँले रातदिन सुतेका छैनन्, सुजितले भने, 'यहि बेला हात्तीको बथान पनि गाउँमा डुलिरहेको छ, यस्तो त्रास र बिजोग कसेको आँखामा परेको छैन।

पर्सा र चितवन राष्ट्रिय निकुञ्‍जको घना जंगलबीचमा रहेको शीकारीवास गाउँ, पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ मा पर्छ। झण्डै १ सय ५० वर्ष पहिलेदेखि बसेको उकत वस्तीमा अहिलेसम्म पनि स्वास्थ्य, शिक्षा, खानेपानी र सडक नहुँदा त्यहाँ सरकारको उपस्थिती शून्य छ।

शीकारीवास गाउँमा पिउने पानीका लागि चापाकल वा धारा नभएका कारण वर्षौदेखि स्थानीय गाउँ छेउको खहरे खोलाकै पानी पिउँदै आएका छन्। तर अहिले अविरल वर्षासँगै खोलामा बाढी आएपछि त्यहाँका स्थानीय तीन दिनदेखि त्यही भेलको धमिलो पानी पिउँदै गरेको स्थानीय ब्रदी चौधरीले बताए।

'पानी नखाए बाँच्नै सकिदैन, त्यही भएर जे जस्तो भएपनि भेलकै पानी ल्याएर खाइरहेका छौं, चौधरीले भने, 'जंगलभित्र सङगलो पानीको मुहान खोज्न जान त सकिन्थ्यो तर यहि बेला हात्तीहरु गाउँमा डुलिरहेका कारण ज्यान खतरामा पार्न चाहेका छैनौ।'
 
'अहिले मात्र होइन, हरेक वर्षमा खानेपानीको यस्तै सास्ती खेप्नुपर्छ, स्थानीय सोनामतिदेवी थारुले भनिन्, 'हिउँदमा त खोलाको पानी अलि सङलो हुन्छ, तर वर्षामा बाढी आएका बेला भने मुहान् खोज्न जंगलभित्र जान सकिदैन, भेलकै धमिलो पानी ल्याएर खानुपर्छ, अहिले पनि भेलकै पानी खाइरहेका छौं।'

बाढी र भेलको त्रासमा रातभर जाग्राम बस्दै आइरहेको बेला पनि गाउँपालिकाका जनप्रतिधिले एक पटक फोन समेत नगरेको स्थानीय अगुवा सुजितको दुखेसो छ।  गाउँमा नीजि क्लीनिक वा औषधि पसल पनि छैनन्। कसैलाई सामान्य ज्वरो आउँदा सिटामोलका लागि सात किलो मिटर कच्ची र साँघुरो बाटो छिचोलेर ब्रम्हनगर वा विजयवस्ती पुग्नुपर्छ।

अविरल वर्षा र बाढीले कच्ची बाटो पनि बगाएको र ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा मोटरसाइकल र साइकल पनि गुड्ने अवस्था नरहेको सुजितले बताए।  अहिले यो वर्षा र झरीमा कोही बिरामी भइहाले ब्रम्हनगर पुर्‍याउन पनि मुस्किल छ,' उनले भने, 'हाम्रो पीडा बुझिदिने कोहि छैनन्।'

गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठले भने शीकारीवासमा खानेपानी र तटबन्धनका लागि यो आर्थिक वर्षमा आठ लाख रुपैयाँ विनियोजन गरेको र काम भइरहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.