यस्तै हो भने तराई केही वर्षमा मरुभूमि हुन सक्छ : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले अविरल वर्षापछि आएको बाढी प्रकोप प्राकृतिक नभई मानवसिर्जित रहेको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले 'विकासका नामा भएको विनासले अहिलेको विपद् भोग्नुपरेको' बताए।
यही अवस्था रहे केही वर्षमा तराई मरुभूमि बन्ने गृहमन्त्रीले चेतावनी दिए। 'यो प्राकृतिक विपद् होइन, मानवसिर्जित विपद् हो', समिति बैठकमा गृहमन्त्री थापाले भने, 'विकासका नाममा हामीले विनास गर्यौँ। चुरे नांगिदै छ।' यस्तै हो भने केही वर्षमा तराई मरुभूमि हुने अवस्थामा पुग्छ।'
विकासका नाममा भएको प्राकृतिक विनासका कारण दुःख भोग्नुपरेको भन्दै उनले सोचमै परिवर्तन ल्याउने गरी नीति बनाउनुपर्ने बताए। 'सोचमै परिवर्तन गरी नीति बनाएर अघि बढ्नुपर्छ', थापाले भने।
गृहमन्त्रीले बाढीबाट २८ जिल्लामा प्रभावित बनेको जानकारी गराए। विपद् व्यवस्थाका क्रममा पूर्व तयारीमा सरकारले काम नगरेकोबारे सांसदहरूले सोधेको प्रश्नमा उनले विकसित देशहरूले पनि पूर्वतयारीमा ध्यान दिन नसकेको तर्क गरे।
'अबदेखि हामी गम्भीरतापूर्वक पूर्व तयारीमा लाग्छौँ', गृहमन्त्रीले भने, 'पूर्व तयारी नभएको नेपालमा मात्र होइन। अमेरिकाम टोर्नाडो जान्छ, जापनामा सुनामी जान्छ। शक्तिसम्पन्न यी देशमा पनि राम्ररी पूर्व तयारी भएको पाइएन। हामीजस्तो स्रोत साधन कमी भएको देशमा पनि पूर्वतयारी राम्ररी गर्न सकिएन।'
गृहमन्त्रीले उद्दार राहत बेलैमा हुन नसक्नुको कारण स्रोतसाधनको अपर्याप्ततालाई दिए। 'विपद्पछि स्रोत साधन अपर्याप्त रह्यो। पर्याप्त डुंगाहरू भएनन्', उनले भने, 'उद्दारमा समस्या छ। हेलिकप्टर पनि पर्याप्त भएनन्।'
राहतका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय भइरहेको उनले बताए। उद्दारमा तीनवटै सुरक्षा निकाय खटिरहेको उनले बताए।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विपद्मा घाइते भएकाहरूलाई प्रभावकारी उपचार गर्न र बेपत्ताको सीघ्र खोजी गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सरोकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।
पीडितको उद्दार उचित किसिमले गर्न, विस्थापितलाई यथासीघ्र पुनर्स्थापना गर्न तथा माहामारी फैलन नदिन सम्बन्धित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन समितिले निर्देशन दिएको छ।