गोरु कुट्नेविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा
विराटनगर : गोरु र गाई काट्ने घटनामा संलग्नलाई कारबाही गर्ने घटना नौला होइनन्। तर, हामीमाझ गोरु कुटेकै आरोपमा एक व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाइएकाे घटना छ।
घटना मोरङको हो, पुरानो रिसिइबीका कारण छिमेकीको गोरु कुटेर अंगभंग बनाउने एक जना उर्लाबारीबाट पक्राउ परेका छन्। मावा खोला किनारमा चर्न गएको गोरु कुटेको अभियोगमा उर्लाबारी–१ का ३० वर्षे प्रेम लिम्बू पक्राउ परेका हुन्।
उर्लाबारी नगरपालिका–१ रमेश कार्की ढोलीले गत शुक्रबार खोलाको डिलमा बाँधेरेको गोरुलाई फरुवाको पछाडी पट्टीको भागले प्रहार गरेर अंगभंग बनाएको आरोप लगाएर लिम्बूमाथि उजुरी दिएका छन्।
उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानबाट उनी घटनामा संलग्न पाइएको प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। उनका अनुसार कोदालो प्रहारबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
ढोली र लिम्बूबीच पुरानो रिसिईबी रहेको खुलेको प्रहरीको भनाइ छ। त्यही रिसिईबीका आधारमा ढोलीको गोरुलाई निर्मम कुटपिट गरेको तिमल्सिनाले बताए। घटनामा संलग्न लिम्बूलाई पक्राउ गरेर आइतबार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१) बमोजिम कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानअघि बढाइएको जानकारी उनले दिए।
पशु चौपायलाई कुटपिट गरेर अंगभंग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। ‘गाई र गोरु काटेको घटनामा संलग्न पक्राउ परेका धेरै उदाहरण छन्,’ तिमल्सिनाले भने, ‘तर गोरु कुटेको घटनामा संलग्न पक्राउ परेको यो नै पहिलो हो।’
प्रतिक्रिया दिनुहोस !