अदालतको आदेशपछि भत्काइयो पुल

अदालतको आदेशपछि भत्काइयो पुल

ललितपुर : उच्च अदालत पाटनको आदेशपछि मेरो सिटी अपार्टमेन्टले कर्मनाशा खोलामा बनाएको अनधिकृत पक्की पुल भत्काउन थालिएको छ । उच्च अदालतका न्यायाधीश चिन्तामणि बराल र रामप्रसाद ओलीको संयुक्त इजलासले दुई महिनाअघि नै पुल भत्काउन अनुमति दिने निर्णय गरेको थियो ।

उक्त पुलका कारण हात्तीवन क्षेत्रमा बर्सेनि डुबाउ हुँदै आएको छ । निरन्तर वर्षाका कारण शुक्रबार र शनिबार डुबान सुरु भएपछि पुल भत्काउन थालिएको २३ वडाका अध्यक्ष भुयुकाजी महर्जनले जानकारी दिए । कर्मनाशाको एकातिर ललितपुर महानगरपालिकाको २८ र अर्कोतिर २३ वडा पर्छ ।

अदालतको फैसलामा रोयल अर्किड डेभलपर्स प्रालिले बनाएको साँघुरो पुलका कारण नदीको वहाब रोकिएर बस्तीमा पसेको उल्लेख छ । प्रभावित क्षेत्रका मानिसले साँघुरो पुलका कारण खोलाको वहाब रोकिएपछि बस्तीमा पानी पसेर जनधनको क्षति गरेको बताएका छन् । पुलका कारण खोलाको निकास रोकिएकाले तत्काल भत्काई उपयुक्त व्यवस्थापन गर्नुपर्ने ठहर अदालतको छ । पुल भत्काउन जिल्ला प्रशासन कार्यालयले पनि अनुमति दिइसकेको थियो ।

वैशाख ४ गते नै उक्त फैसला भइसकेको भए पनि जानकारी नपाएको महर्जनको भनाइ छ । ‘मैले थाहा पाउनासाथ भत्काउन थालेँ,’ उनले भने, ‘के थाहा रातारात निर्णय उल्टिने पो हो कि !’ २८ वडाका अध्यक्ष राजेश महर्जन, १५ वडाका अध्यक्ष सुदर्शन मि श्रलगायतले अनधिकृत पुल भत्काउनुपर्ने विषयमा लामो समयदेखि लबिङ गर्दै आएका थिए । ललितपुर महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले पनि गत वर्ष नै पुल भत्काउने अनुमति दिए पनि उक्त पुल भत्काउन सकिएको थिएन ।

१४ रोपनी १३ आनामा रोयल अर्किड डेभलपर्स प्रालिले बनाएको मेरो सिटी अपार्टमेन्टको अन्डरग्राउन्डबाट कर्मनाशा खोला बगेको छ । महानगरपालिकाले उक्त पुल भत्काउने अनुमति दिएपछि रोयल अर्किड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक निर्मलकुमार अग्रवालले पुल नभत्काउन माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

खोलाको दुवैतर्फ आफ्नो जग्गा भएकाले आवतजावतका लागि पुल बनाएको भन्दै अग्रवालले उक्त पुल ०६६ साल चैत ३० मा तत्कालीन हरिसिद्धि गाविसबाट सिफारिस लिएर बनाएको उल्लेख गरेका थिए । उक्त अपार्टमेन्ट गणेश अग्रवालको नाममा छ ।

हरिसिद्धि गाविसअन्तर्गत पास भएका बखत खोला भएको ठाउँमा व्यक्तिको जग्गा रहेको थियो । १५ नम्बरका अध्यक्ष मि श्रले ०२१ सालको नापीअनुसार उक्त जग्गा २८ नम्बरमा भए पनि हाल २३ मा परेको बताए । ‘पहिला कर्मनाशा खोला बांगोटिंगो बग्थ्यो तर भूमाफियाले खोला नै सीधा बनाइदिए,’ उनले भने ।

अपार्टमेन्टको पूर्वतिर बिनाअनुमति तीन फिट उचाइमा बनाएको पुल र पर्खालका कारण राम्ररी पानी निकास नहुँदा गत वर्ष साउन २८ गते बाढी पसेर आई जे पायोनियर स्कुल, काठमाडौं विश्वविद्यालय डुबानमा परेको थियो ।

मेरो सिटीले जस्तै ग्वार्कोको किस्ट मेडिकल अस्पतालले पनि खोला अतिक्रमण गरेर पुल बनाएपछि उक्त क्षेत्र डुबानमा परेको थियो । शनिबार आक्रोशित स्थानीयले पुल भत्काउन गएपछि अस्पताल प्रशासन आफैंले भत्काउने आश्वासन दिएको छ । शुक्रबार अस्पतालको भुइँतलामा पानी पसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.