प्रहरी जवान संजिव राईको शव खोटाङ लगियो
धरान : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा भोजपुरमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनको शव सोमबार १२:३० बजे धरानबाट खोटाङ लगिएको हो।
असार २५ गते भोजपुर सदरमुकामस्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासँगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव नेकपाका ओखलढुङगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको थियो।
संजिवको शवसँगै उनकी श्रीमती नमुना, छोराहरु जोयल र जोहन तथा भाई खडिन्द्र राई पनि शव लिएर खोटाङ गएका छन्।
संजिवका मामा देशकुमार राईले भान्जाको शव खोटाङ नलगिदिएको विषयमा समाचार प्रकाशित गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिएकोमा अन्नपूर्ण पोस्टलाई धन्यवाद दिएका छन्। भाई खडिन्द्र राईले संजिवको आजै किराँत धर्म अनुसार दाहसंस्कार गरिने बताए।