डुबान समाधानको माग गर्दै वीरगन्जका व्यापारीले गरे विरोध प्रदर्शन
वीरगन्ज : अविरल वर्षाको पानीले डुबानमा परेका वीरगन्ज आदर्शनगरका व्यपारीहरुले सोमबार बजार नै बन्द गरेर प्रदर्शन गरे ।
पाँच दिन अविरल परेको वर्षाका बेला आदर्शनगर क्षेत्र पूरै डुबानमा परेको र पसलभित्रै पानी छिरेर करोडौंको मालसामान नोक्सान भएको भन्दै व्यपारीहरुले सोमबार एक घण्टा पसल बन्द गरेर प्रदर्शन गरेका हुन् ।
वर्षाका बेला हुँदैआएको डुबानको समस्या समाप्त गर्ने उद्देश्यले एशियाली विकास बैंक(एडिबी) को ऋण अनुदानमा दुई अर्ब ४८ करोड खर्चेर भूमिगत नाला र ढल निर्माण गरिएको भए पनि यसपाली पहिलेको भन्दा बढी पसल र घर डुबानमा परेको आदर्शनगरका व्यपारीहरु बताउँछन् ।
सोमबार पसल बन्द गरी आदर्शनगरस्थित सडकमै पत्रकार सम्मेलन समेत गरेका व्यपारीहरुले डुबानको समस्या सामधान गर्न आग्रह गरेका छन् । महानगरपालिकाले समस्या समाधानको पहल नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरुले दिएका छन् ।
अविरल वर्षाका कारण आदर्शनगर क्षेत्रमा मात्रै दुई सय भन्दा बढी पसल र एक सय भन्दा बढी घर तीन दिनसम्म डुबानमा परेको व्यापारीहरु बताउँछन् । वर्षाको पानीको सहज निकास नहुँदा महानगरका अधिकांश वडा र टोल डुबानमा परेका थिए । भूमिगत ढल र नाला निर्माण भएका क्षेत्रमै डुबानको समस्या बढी देखिएको थियो ।