उदयपुरमा खोलाले बगाएर एकको मृत्यु
उदयपुर : स्थानीय खोलाले बगाएर उदयपुरको रौतामाई गाउँपालिका–७स्थित मुर्कचीका एक बालकको मृत्यु भएको छ। सोमबार बेलुका स्थानीय छौडिया खोलाले बगाएर १३ वर्षे आरएन तामाङको मृत्यु भएको हो।
नदी किनारामा उनकी शरीर मृतअवस्थामा फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय जलजलेलाई खबर गरेको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले बताए।
त्यसैगरी सोही गाउँपालिका–८ डिल्लीबरको पहिरोमा गौरीटोलका ५५ बर्षे रणकुमारी रिखाम मगर अझै बेपत्ता छिन्। जिल्लाको विकट क्षेत्र भएकाले उद्धारकर्मीको टोली अझै पुग्न सकेको छैन्। सडक पानीले विगारेका कारण सवारीसाधन जान सकेका छैनन्।
घटनापछि प्रमुख जिल्ला अधिकारीसहित टोलीले मुर्कुची बजारको अवस्था अवलोकन गरेको छ। पहिरोले खोला थुनिदा बाँध चार ठाउँ भत्काएकाले थप क्षति हुन नदिन स्थानीयलाई समेत परिचालन गरी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी बाँध निर्माणमा परिचालन गरिएको प्रजिअ खड्काले बताए।