टेबुलटेनिस कभर्ड हल ‘राजाको शौचालय’ !
ओखलढुंगा : दुई वर्ष पहिलेसम्म सदरमुकाम ओखलढुंगामा रहेको एक मात्र खेल मैदानमा एकाबिहानै सेतो ड्रेस लगाएका खेलाडीको कवाजको आवाजले बजारै थर्किन्थ्यो। तेक्वान्दो र सितोरियो कराँतेका प्रशिक्षार्थीहरू फुटबल मैदानभरि हुन्थे। ‘एक चरण नभ्याएर साँझ बिहान दुई चरण पनि सिकाइयो’ तेक्वान्दोका प्रशिक्षक अशेष श्रेष्ठले भने।
आजभोलि उपयुक्त अभ्यास स्थल, प्रशिक्षक नभेटेपछि यस्ता प्रशिक्षण शून्यप्रायः छन्। प्रशिक्षार्थी पनि खोजी गर्न छोडेका छन्। प्रशिक्षार्थीबाट संकलन हुने न्यून रकमले प्रशिक्षण व्यवस्थापन गर्नुपर्ने भएकाले प्रशिक्षक मात्र होइन प्रशिक्षार्थी पनि खेलप्रति चासो दिन छोडेका छन्। तेक्वान्दो मात्र होइन सितोरियो कराँतेमा ओखलढुंगामा विगतका प्रतियोगितामा अब्बल मानिन्थ्यो। राष्ट्रिय स्तरसम्म सहभागी भएर पदक पाएको ओखलढुंगा अहिले यस्ता गतिविधिमा निकै पछि छ। पहिले तेक्वान्दोमा स्वयंसेवक प्रशिक्षकबाट उत्पादित खेलाडीहरूले क्षेत्रीय खेलमा दुई स्वर्ण पदक, राष्ट्रिय खेलमा रजत तथा कांस्य पदक जितेका थिए।
मुख्य समस्या प्रशिक्षक र पूर्वाधार अभाव
सितोरियो र तेक्वान्दोको अहिले प्रशिक्षण बन्द छ। तेक्वान्दोका प्रशिक्षक अशेष श्रेष्ठले सधैं स्वयम्सेवक गर्न नसकेकाले प्रशिक्षण बन्द भएको बताए। राज्यले सुविधा नदिएपछि प्रशिक्षण सञ्चालन सहभागीबाट मात्र धान्न नसकिने उनको भनाइ छ। भलिबल र फुटबल प्रतियोगिता पनि ओखलढुंगामा विरलै हुने गरेका छन्। कतैकतै आयोजना भए पनि प्रशिक्षण नहुँदा सहभागी क्लब र संस्थाहरूले बाहिरबाट खेलाडी झिकाउने प्रचलन बढेको छ। अभ्यास र प्रतियोगिताका लागि आवश्यक पूर्वाधार र प्रशिक्षक नभएपछि खेलकुद गतिविधि शून्य बनेको हो।
शारीरिक तन्दुरुस्तीका लागि स्वतःस्फूर्त ब्याडमिन्टन खेलमा बिहानबिहान सरकारी कर्मचारी र केही बजारवासी सहभागी हुने गरे पनि व्यावसायिक हुन सकेको छैन। जिल्लामा हरेक वर्ष विद्यालय स्तरमा हुने राष्ट्रपति रनिङ सिल्डमा पनि विद्यालयहरूको सहभागिता उत्साहजनक हुँदैन। दर्जन विद्यालय पनि सहभागी हुन छोडेका छन्।
जिल्लामा भलिबल, ब्याडमिन्टन र फुटबलका ससाना प्रतियोगिता आक्कलझुक्कल हुने भए पनि ती खेलहरूका प्रशिक्षक छैनन्। जिल्ला खेलकुद विकास समिति क्रियाशिल भए पनि जनशक्ति र बजेट अभावमा वार्षिक रूपमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेनतेन सञ्चालन हुने समितिका कार्यालय प्रमुख बालकुमार खनालले बताए। ‘कर्मचारी पनि म मात्र छु, प्रशिक्षक त कुनै खेलका पनि राष्ट्रिय खेलकुद परिषद्ले पठाएको छैन’ उनले भने।
प्रशिक्षक नभएकै कारण अहिले कुनै पनि खेलको प्रशिक्षण सञ्चालन छैन। राष्ट्रपति रनिङ सिल्ड वर्षमा एक पटक हुने गरेको छ। उक्त प्रतियोगितामा विद्यालय स्तरका विद्यार्थीका बीचमा भलिबल र एथलेटिक्स अन्तर्गतका प्रतियोगिताहरू हुने गरेका छन्। नियमित प्रशिक्षण र अभ्यासका लागि कभर्डहल त परको कुरा सजिलो खेल मैदान पनि छैन। यही कारणले विगत हुने प्रशिक्षण पनि अहिले बन्द भएका छन्। खेलकुदका गतिविधि शून्य हुनुमा अभ्यासस्थल र प्रशिक्षक अभाव रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रूपलाल तामाङले बताए। राष्ट्रिय खेलकुद परिषद्ले तलब दिएर प्रशिक्षक दिएमा खेल क्षेत्रको विकासमा योगदान पुग्ने बताए।
भलिबल र ब्याडमिन्टन खेल खेल्न मिल्ने कभर्डहल बनाउने जिल्ला खेलकुदको योजना योजनामै सीमित छ। खेलकुद परिषद्ले जग्गा खोजेमा बहुउद्देश्यीय कभर्डहल बनाइदिने बताएपछि दुई वर्षपहिले नै ९० लाख बराबरको जग्गा खेलकुदका नाममा जग्गा पास भए पनि परिषद्ले हलको डिजाइन गरिदिन चासो नदिएको जिल्ला खेलकुदका प्रमुख खनालले गुनासो गरे। स्थानीय सरकार र सांसदहरूले समेत खेल क्षेत्रमा चासो दिएका छैनन्। सांसदले बजेट विनियोजन गर्न पाउने पूर्वाधार साझेदारी कार्यक्रमको बजेट सबै सडक निर्माणमा खर्चिने गरेका छन्।
कभर्ड हल ‘राजाको शौचालय’
पञ्चालयतकालीन समयमा जिल्लामा खासै नखेलिने खेल टेबुलटेनिसको कर्भडहल निर्माण गरिएको थियो। २०४३ सालमा टेबुलटेनिस खेलका लागि कर्भडहल निर्माण गरिएको भए पनि प्रयोगमा आएन। टेनिस प्रशिक्षक नहुँदा खेलप्रति चासो नदेखिएपछि हल उपयोगहीन थियो। हल अहिले जीर्ण अवस्थामा छ। राजाको प्रत्यक्ष शासनकाल २०६० मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको ओखलढुंगा भ्रमण हुँदा उक्त कभर्ड हल शौचालयको रूपमा प्रयोग गरिएको थियो। त्यसयता संरक्षण अभावमा भत्किन थालेको छ।