पिण्डेश्वरमा जल चढाएर बोलबम मेला सुरु
धरान : धरानको पिण्डेश्वर बाबाधाममा जल चढाउन बोलबम मेला सुरु गरिएको छ। साउनको पहिलो दिन बुधबार प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले जल चढाएर बोलबम मेलाको उद्घाटन गरे। साउने सोमबार मात्र जल चढाउँदै आएकोमा पिण्डेश्वर बाबाधाममा यस पटकदेखि साउनको पहिलो दिनबाटै भक्तजनका लागि जल चढाउन सुरु गरिएको छ।
भण्डारीसँगै प्रदेश १ का संसद चन्द्रप्रसाद श्रेष्ठले पनि शिवलिंगमा चल चढाए। दुबैजनाले पिण्डेश्वर बाबाधाम मेला सफलताको शुभकामना व्यक्त गरेका छन्। भक्तजनलाई सहज बनाउनका लागि साउनको पहिलो दिनबाटै शिवलिंगमा जल चढाउन खुल्ला गरिएको पिण्डिेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए।
पिडेश्वरको शिवलिंगमा गेरु बस्त्र धारी तिर्थयात्रीले खाली खुट्टा हिँडेर सप्तकोसी नदीबाट जल ल्याएर चढाउने प्रचलन छ। पिण्डेश्वर बाबा धाममा प्रत्येक साउने सोमबारको दिन गेरु वस्त्र धारी तीर्थयात्री शिव लिंगमा जल चढाउनुका साथै पिण्डेश्वर बाबाको दर्शन गर्न आउने गर्दछन्।
पिण्डेश्वर बाबा धाममा अधिकांश महिलाको उपस्थित हुनेगर्छ। विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन्।
महिला भक्तजनले हातमा जल बोकेर श्रीमानको दीर्घ जीवनका लागि पिण्डेश्वरको शिवलिंगमा जल चढाउने गरेको अध्यक्ष बनेपालीले बताए। सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्ष पूरा हुने धार्मिक विश्वास रहेको छ। पिण्डेश्वर आउने तीर्थयात्रुको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरिएको छ।