तटबन्ध अलपत्र छोडेर फेरि भागे ठेकेदार

तटबन्ध अलपत्र छोडेर फेरि भागे ठेकेदार

टीकापुर : राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाईं आयोजना अन्तर्गत कर्णाली नदीमा तटबन्ध गर्ने ठेक्का लिएका निर्माण व्यवसायी फेरि भागेका छन्।

कर्णाली नदीमा तटबन्ध गर्ने, आउटलेट निर्माण गर्ने र तटबन्धमाथि ग्राभेल गर्ने ठेक्का लिएका हाइग्रिभा सिद्धि शाही प्रकाश जेभीका निर्माण व्यवसायी रमेश शाही भागेका हुन्।

यसअघि समेत काम सुरु गर्दै आयोजनाको सम्पर्कमा नआउने शाही यो पटक गरी तेस्रो पटक भागेका हुन्। 

आयोजनाबाट उनले टीकापुर नगरपालिका ७ सत्तीस्थित कर्णाली नदीमा १ हजार २०० मिटर, जगतपुरमा ८०० मिटर तटबन्ध गर्ने, मोहना नदीमा ७ वटा आउटलेट निर्माण गर्ने र कर्णाली नदीको सत्ती पुलदेखि मोहना घाटसम्मको ९ किलोमिटर तटबन्धमा ग्राभेल गर्ने ठेक्का लिएका थिए।

कम्पनीले १४ करोड रुपैयाँमा २०७५ असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७२ चैत्र १६ गते आयोजनासँग सम्झौता गरेको थियो।

निर्माण कार्यको सुरुवात गरेर आयोजनाबाट दुई वर्षअघि ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी लिएका व्यवसायी शाही सम्पर्कविहीन भएका हुन्।

आयोजनाले निर्माण कम्पनीलाई २०७५ जेठ ८ गते, असोज १९ गते र माघ १० गते गरी तटबन्ध निर्माण गर्न पत्राचार गरेको थियो। पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनी सम्पर्कमा नआएपछि आयोजनाले निर्माण कार्य सुचारु नगरे कारवाही गर्ने भन्दै फागुन २५ गते ७ दिने सूचना प्रकाशित गरेको थियो।

आयोजनाका इञ्जिनियर विहारीलाल भोमीका अनुसार निर्माण कम्पनीले सत्तीमा ६८५ मिटर, जगतपुरमा ३१८ मिटर मात्रै तटबन्ध गरेको छ। त्यस्तै ७ वटा आउटलेट निर्माण गर्नुपर्नेमा २ वटा मात्रै सम्पन्न गरेको छ भने ९ किलोमिटर ग्राभेल गर्ने कार्यको सुरुवात समेत गर्न सकेको छैन।

‘म्याद थप गरेर काम सुरु गरेको भए पनि मूल्यांकनयोग्य काम गर्न सकेको छैन’–भोमीले भने–‘यो निर्माण कम्पनी आयोजनाका लागि टाउको दुखाईको विषय बनेको छ।’

निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा नदीले कटान तीब्र बनाएको छ। नेपालमै बेतबाँस पाइने एक मात्र वन सत्ती कर्णाली सामुदायिक वन समेत नदीले कटान गरिरहेको छ।

समयमा तटबन्ध निर्माण नहुँदा टीकापुर नगरपालिका वडा नं. ६, ७, ८ र ९ का अधिकांश ठाउँमा नदीले कटान गर्दै आएको छ।

नदी कटानबाट ती वडाका वनगाउँ, फाँटा, अरुणाफाँटाबासी जोमिखमा रहेका छन् भने सत्ती घाटमा निर्माण भएको कर्णाली पुल समेत जोखिममा परेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले बताए।

 ‘म्याद थप गर्ने तर काम नगर्ने निर्माण कम्पनीका कारण हामी कटानको जोखिममा छौं’, साउँदले भने, ‘आयोजनाले यसलाई कालोसूचीमा राखेर कारवाही नगरे तटबन्ध निर्माण हुँदैन।’

त्यस्तै, जगतपुरमा समेत तटबन्ध निर्माण अलपत्र हुँदा जमिन कटान भइरहेको छ। रानी, जमरा, कुलरिया कुला जल उपभोक्ता समितिका उपाध्यक्ष लालबीर चौधरीले भने, ‘कम्पनीले आफूले पनि काम गरेन, अरुका लागि पनि बाटो बन्द गरेको छ, जसले गर्दा नदीले कटान गरिरहेको छ।’

चौधरीले उक्त कम्पनीलाई कालोसूचीमा राख्न आयोजनासँग पटक पटक माग गरेको भए पनि आलटाल हुँदै आएको गुनासो गरे।

आयोजनाका इञ्जिनियर महेश चौधरीले थपिएको म्यादभित्र काम सम्पन्न नगरे कम्पनीलाई कारवाही प्रक्रिया अगाडि बढाइने बताए।

‘म्यादभित्र उसले काम सम्पन्न गर्नपर्छ, नसके हामी कारवाहीको प्रक्रिया अगाडि बढाउँछौं’–चौधरीले भने–‘त्यो कम्पनीका कारण आयोजनाको प्रगति नै पछाडि धकेलिएको छ।’

निर्माण कम्पनीका रमेश शाहीले भने आफू नभागेको जिकिर गरेका छन्। अन्नपूर्ण पोस्टसँग टेलिफोनमा कुरा गर्दै शाहीले भागेको नभई काममा केही ढिलाई भएको स्वीकारे।

आफूले आयोजनासँग म्याद थप गरेर काम गरिरहेको दावी गर्दै उनले भने, ‘हामी काम छोडेर भागेका छैनौं, आयोजना र संघर्ष समितिसँग सहमति गरेर काम सम्पन्न गर्दैछौं।’ शाहीले सत्ती घाटमा नदी कटानको जोखिम बढिरहेको स्वीकार्दे भने, ‘सुरुमै त्यही काम सम्पन्न गर्ने योजनामा छौं।’

स्थानीयबासीले भने काम नगर्ने निर्माण कम्पनीलाई तत्काल कालोसूचीमा राखेर तटबन्ध सम्पन्न गर्नुपर्ने माग गर्दै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.