खोला गाउँ पसेपछि सुत्केरी र गर्भवतीको विजोग
उदयपुर : खोला गाउँ पसेपछि ४ महिनाको दूधे बालक चेपेर घरबाट निस्किएकी उदयपुरको बेलका नगरपालिका १ पलारकी रोजी नेवार यतिबेला आधारभूत विद्यालय सुखनी सप्तरीमा आश्रय लिएर बस्दै आएकी छन्।
करिब ५ सय मिटर पर रहेको त्रियुगा खोला गाउँ पसेपछि उनलाई स्थानीयले उद्धार गरी घरबाट सुरक्षितमा राखेका हुन्। '१० मिनेट मात्र ढिला भएको भेलमा सपरिवार डुबिने रहेछ,' उनले भनिन्, 'तर भाग्यमा बाँच्नु रहेछ, छिमेकीले उद्धार गरिदिए।'
दूधे बालक चेपेर मलिन अनुहारमा घटनाक्रम सुनाउँदै भनिन्, 'सोच्दै नसोचेको घटना भयो, घर पूरै लग्यो अब कहाँ बस्नु, के खानु, नानीको स्याहार सुसार कसरी गर्नु ? भएको जग्गा जमिन सबै डुबायो, आफ्नो ज्यान कसरी सुरक्षित गर्ने भन्ने मात्र चिन्ता भयो।अन्नपात, लत्ताककपडा झिक्न पाइएन। लगाएको धान खेती सेती बगरमा परिणत भयो, बाँकी दिन कसरी जिउने?'
उनले भनिन्, 'स्कुलमा बसाई छ, न शुद्ध पिउने पानी छ, न राम्रो शौचालय।न खाने कुरा नै राम्रो खान पाइन्छ। कसरी बच्चा जोगाउने।' 'एकातिर बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ ।अर्कोतर्फ प्रकोप र सर्पबाट कसरी जोगिने भन्ने चिन्ता छ, 'उनले भनिन् , 'त्यसैपनि गर्मी ठाउँ सर्पको बिगबिगी झन् खोलाले बगाएर ल्याएका सर्प छ्याप छ्याप्ती भेटिन्छन्।'
त्यसो त रोजीको मात्र यो समस्या हैन् बेलका नगरपालिका १ र २ का ५ दर्जन सुत्केरी तथा गर्भवती महिलाको समस्या उस्तै छ। भएको सम्पती त्रियुगा खोलाले बगाएपछि स्थानीय विद्यालय र आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन्।
रोजी मात्र हैन् पलार गाउँमा ५ महिनाको छोरी लिएर रमा अधिकारी, ३ महिनाका सन्तान चेपेर सिता श्रेष्ठ, १ वर्षीकी नानी बोकेर शोभा अधिकारी, तुलसी श्रेष्ठलगायतका सुत्केरी महिला सोही विद्यालयको कोठामा बस्छन्। उनीहरुलाई तत्काल उद्धार गरी सार्वजानिक संरचनामा स्थान्तरण गरिएको बेलका नपाका मेयर दुर्गाकुमार थापाले बताए।
उनले विभिन्न निकायको सहयोगमा केही राहत वितरण गरिएको बताए। अन्य सर्वसाधरणभन्दा पनि यो समयमा सुत्केरी महिला थप पीडामा हुने भएकाले संरक्षणका लागि स्थानीय जनप्रतिनिधि, केन्द्र, प्रदेशसँग कुरा भइरहेको अनुगमनमा पुगेका जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए।
राज्य व्यवस्था तथा सुसासन समितिका सदस्य दिलेन्द्रप्रसाद वडुलगायतको टोलीले उदयपुरगढी गाउँपालिका ६ मा स्थलगत अवलोकन गर्दै ।
उनले घटना पीडादायिक रहेकाले स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। गाँस, बाँस र कपास तीनै कुराको अभाव भएको स्थानीय रमा अधिकारीले बताइन्। आफूलाई पनि यिनै समस्याले गाँजेको ७५ वर्षीया अपाङ्ग वृद्धा धनमाया श्रेष्ठदले बताइन्।
'त्यसै त अपाङ्ग , त्यसमा पनि वृद्धा छु। के गर्नु कसैले सहयोग गर्दैनन्। हामी अपाङ्ग कहाँ जानु कहाँ बस्नु,' धनमायाले भनिन्।' सुत्केरी आमा र नाबालकमा छालाको समस्या देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दुनियालाल यादवले जानकारी दिए।
उनका अनुसार आमा र काखे बालक दुवैमा दूषित पानीका कारण रुघा खोकी र ज्वरोको समस्या देखिएको छ। तत्कालका लागि औषधि र शुद्धी पीउने पानीका लागि किटहरु उपलब्ध गराइएको छ।
समयमा नै समाधान नगर्ने हो भने प्रकोपको रुप लिने र झाडापखालालगायतका सरुवा रोग सर्ने खतरा देखिने उनले बताए।
राहतमा तीव्रता
बाढी पहिरो प्रभावित क्षेत्र बेलका नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी लगत संकलन र प्रारम्भिक चरणको राहत सामग्री वितरणमा तीव्रता दिएको छ।
शनिबार प्रदेश सांसद बिमल कार्की, अम्बिका थापा, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियार, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्कालगायत सुरक्षा प्रमुख, कार्यालय प्रमुख, संघसंस्था र सञ्चारकर्मीका टोलीले राहत वितरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, लत्ताकपडा, भाडाँवर्तन, साबुन, सरफ, वल्र्डभिजन इन्टरनेशनलले जाल्पा एकिकृत विकास समाज, हुरेण्डेक, नेस्पेकसँग समन्वय गरी चामल उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताए।
त्यसैगरी सुत्केरी तथा गर्भवती महिलाका लागि ओरेक नेपाल र युएनएफपिएले डिगनीटीकिड वितरण गरेको उनले बताए। प्रजिअ खड्काका अनुसार हालसम्म ७२ घरपरिवारलाई प्रारम्भिक चरणको राहत वितरण गरी सकिएको छ। उदयपुरगढी गाउँपालिकाका २७, रौतामाई गाउँपालिकाका १६, बेलका नगरपालिकाका २२ र त्रियुगा नपाका ७ परिवारलाई राहत वितरण गरिएको हो।
यसैबीच आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको एक टोलीले जिल्लाको प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। सांसद दिलेन्द्रप्रसाद बडु, यशोधा सुवेदी, डा. डिला संग्रौला र प्रदेश सांसद अम्बिका थापालगायतको टोलीले स्थलगत अवलोकन गरेको हो।
त्यसक्रममा बडुले क्षतिग्रस्त क्षेत्रलाई तत्काल राहत र दीर्घकालिन योजना अघि सार्न समितिमार्फत सरकारलाई निर्देश गर्ने जानकारी दिए। फोटोनं १ देखि ३ सम्म बेलका नगरपालिका १ पलारका सुत्केरी तथा अपांग महिला।
लिम्चुङ्गबुङ्गलाई संकटग्रस्त क्षेत्र घोषणा
एक साता अघिको बाढी पहिरोले क्षतिग्रस्त बनेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गाउँ कार्यपालिकाको गएको असार ३१ गते बसेको बैठकले प्राकृति विपत्ति आइ परेकाले संकटग्रस्त घोषणा गरेको हो ।
गाँउपालिकाका अध्यक्ष मेजरकुमार राईले गाँउपालिकामा खाद्यन्न अभावसँगै क्षतविक्षत सडकले अस्तव्यस्त जनजीवन सिर्जना भएपछि संकटग्रस्त गापा घोषणा गरेको बताए। 'गाईघाट कटारीसँग जोड्ने सडक क्षतविक्षत भएको र गएको वैशाख जेठमा लामो खडेरीले मकै उत्पादन शून्य भएपछि खाद्यन्न अभाव भयो,' उनले भने, 'लिम्चुङबुङको मुख्य खाद्यन्न बाली भनेको मकै खेती हो, त्यो पनि खडेरीले सखाप भयो, पहिरोले ढुवानी गर्ने सडक अवरुद्ध छ।'