डुवानबाट जोगाउन कूटनीतिक पहल
अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि प्रकृतिका नियम हुन् । वर्षा ऋतुमा पानी प्रशस्त पर्छ । बाढी आउने र पहिरो जाने मौसमजन्य विषय हुन् । बाढी, पहिरो, भूकम्प अरू देशमा पनि जान्छन् तर क्षति कम हुन्छ । किनकि मानवनिर्मित संरचना व्यवस्थित छन् । बाढी र पहिरोको मात्रा र गहिराई बढ्दै जानु भनेको विश्वव्यापी जलवायु परिवर्तनको नराम्रो असर पनि हो । यसो भनिरहँदा बाढी र पहिरो प्रकृतिबाट सिर्जित कम र मानवनिर्मित संरचनाबाट बढी भएको छ । सबै बाढी प्रकोप होइनन् तर प्रकोप मानवनिर्मित संरचनाले बनाउँछ।
देशको हिमाली पहाडी क्षेत्रको बाढी पहिरो भू-क्षय र जलवायुको परिवर्तनले हुने गर्दा बढी मात्रामा मौसमजन्य नै हुन् । पृथ्वीको सतहमा तापक्रम वृद्धि भएको छ । हिमाली क्षेत्रमा पनि तापक्रम बढ्दो छ । जलवायुको सन्तुलन बिगार्ने काम अविकसित र अल्पविकसित देशले भन्दा ३ गुणा बढी विकसित देशले गरेका छन् । हुन त बाढीजन्य प्रकोपको दृष्टिले नेपाल विश्वको ३० औं स्थानमा पर्छ । त्यसैले हिमतालको संख्या र गहिराई बढ्दै छ र हिमताल फुट्न सक्ने खतरा त छँदै छ । अर्कोतर्फ मानवनिर्मित संरचनाले पनि देशको तराई भाग बर्सेनिडुवानमा परी अरबौंको कृषिवाली, पशुपंक्षी नष्ट हुँदै आएको छ । सैयौंले ज्यान गुमाउन र हजारांै परिवार विस्थापित हुन परेको छ । २०७४ सालको बाढीबाट तराईमा मात्र एक करोड पन्ध्र लाख मान्छे प्रभावित भएका थिए । एक सय उनन्साठी जनाले ज्यान गुमाए भने २९ जना बेपत्ता र पैंतालीसजना घाइते भएका थिए । करिब २० अर्बको कृषि बाली, पशुपंक्षी र सिँचाइ आयोजना नष्ट गरेको त्यो बाढी र डुवान प्राकृतिक प्रकोप नभई मानवनिर्मित संरचनाबाट सिर्जित प्रकोप थियो ।
अहिले पनि तराई डुवानमा परेको छ । यसको मूल कारण हाम्रो सदियौंदेखिको मित्रराष्ट्र भारतले नेपाल सिमानासँगै जोडिने गरी बनाएका बाँध तटबन्धन र सीमा सडक हुन् । भारतले करिब दुईसयवटा विभिन्न संरचना नेपालको सीमानजिक बनाएको छ । अन्तर्राष्ट्रिय महासन्धिको मापदण्डअनुसार दुई देशको सीमा क्षेत्र दशगजाको ८ किलोमिटर दूरीभन्दा कममा कुनै पनि देशले भौतिक पूर्वाधार निर्माण गर्न पाउँदैनन् । १९६६ को अन्तर्राष्ट्रिय नियम २९(२) अनुसार कुनै भौतिक संरचना निर्माण गर्नु प¥यो भने प्रस्तावित संरचनाको बारेमा सम्बन्धित देशलाई जानकारी दिनुपर्ने वाध्यात्मक व्यवस्था छ । तर, नेपालको सीमानजिक बनाइएका करिब दुई सय भारतीय भौतिक संरचनाका बारेमा नेपाललाई एकपटक सोध्ने काम भारतले गरेन अर्थात नेपाललाई जानकारी दिन आवश्यक ठानेन । अन्तर्राष्ट्रिय नियमको धज्जी उडाउँदै भारतले लक्ष्मणपुरलगायतका बाँध र सीमा सडक दशगजाको ३०० देखि ५०० मिटरको दूरीमा निर्माण गरेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले नेपालको पूर्व पश्चिम सिमाना पुरै ढाक्ने गरी तराईको जमिन भन्दा दश फिट अग्लो गरी एक हजार सात सय पचास किलोमिटरको राजमार्ग नै बनाएको छ, जसले नेपालबाट बग्ने पानीलाई रोक्छ र पुरै तराई डुवानमा पार्न सक्छ ।
भारतले सन् १९८० देखि नै दशगजा नजिक बाँध तथा तटबन्धन निर्माण सुरु गरेको हो र गरिरहेको छ । पुराना र नयाँ ठूलासाना बाँधले वर्षायाममा बर्सेनि नेपालका सीमा क्षेत्र डुबानमा पर्दै आएका छन् । कोसी र गण्डक ब्यारेज, रसियावाल, खुर्दलोटन बाँध, डन्डा फरिना बाँध, महली सागर, धौली गंगा, पञ्चेश्वर, पूर्णागिरी, वैरगनिया बाँध÷तटबन्धन जस्ता साना ठूला सीमानजिकका भौतिक संरचनाले सीमा क्षेत्रको जनजीवनलाई बर्सेनि त्राही-त्राही पार्दै आएको छ ।
देशले एकातिर बर्सेनि मानवीय क्षतिका साथै अरबौंको भौतिक विनास खेप्न परेको छ भने अर्कोतिर भोलि करिब दशगजासँगै जोडेर बनाइएका भौतिक संरचनालाई नजिर बनाएर भारतले सो संरचनादेखि १० किमि उत्तरतर्फको नेपाली समथर उर्वर तराई भू भागमा अन्तर्राष्ट्रिय महासन्धि, नियमको हवाला दिँदै वैधानिक दाबी राख्ने षडयन्त्र गर्न सक्छ भन्ने बेलैमा ख्याल गरी कूटनीतिक पहलबाट समस्याको दिगो समाधान खोज्नुपर्छ ।
नेपालको तत्कालिन राज्यसत्ताले आफ्नो देशको सीमानजिक देशलाई नै डुवानमा पार्ने गरी बनाइएका र बनाउन लागेका भौतिक संरचनाका बारेमा भारत सरकारलाई निर्माण रोक्न आग्रह गर्ने कूटनीतिक पहल गर्नुपर्छ । ०४६ पछिका सरकार दिल्लीले बनाउँथ्यो र भत्काउँथ्यो अनि शासकलाई सत्ता धान्न र समीकरण मिलाउन दिल्ली खुसी बनाउनै व्यस्त रहे । सरकार सत्ता डुब्नुभन्दा तराई डुब्नुलाई सानो ठान्यो सरकारले । जब सीमा क्षेत्रमा डुबान हुन्छ सरकार उद्धार र राहतको व्यवस्थापन गरी केही थप मत भोटबैंकमा डिपोजिट गरेको भ्रममा रमाउँछ तर बर्सेनिपिडा दिने कारणको खोजी गर्दैन । अर्थात कारण थाहा हुन्छ तर बडाभाइसँग कुरा राख्न सक्दैन । जसले गर्दा सीमाक्षेत्रका नेपाली आफ्नै देश नेपालमा विस्थापित र आन्तरिक शरणार्थी बन्न विवश छन् । अन्त्यमा,
यसअघिका तीसवर्ष राजनीतिक संक्रमणकालका वर्ष भए । देशले स्थिर सरकार पाएन अनि आफ्नो कार्यकालको नौदश महिना सत्ता धान्न र समीकरण मिलाउन, बाह्य शक्ति खुसी पार्नमै बिते । नेपाली जनताले लामो समयसम्म राजनीतिक अस्थिरताको हन्डर खाएपछि अहिले देशलाई राजनीतिक स्थिरताका लागि झन्डै दुईतिहाइ मत दिएर स्थिर सरकार दिएका छन् । अहिले सरकार हरेक निर्णय आफू एक्लै गर्न सक्छ र बाह्य शक्तिसँग पहिला झैं झुक्नुपर्ने अवस्था छैन । तर, भारतले अन्तर्राष्ट्रिय महासन्धि र नियम मिच्दै देशको सिमाना दशगजा नजिक बनाइएका संरचनाले नेपालको सीमा क्षेत्र डुवानमा पार्न छाडेको छैन । त्यसैले यो बलियो स्थिर सरकारले भारतसँग कूटनीतिक वार्ता गर्न आवश्यक छ । बाँधका ढोका थुनेर मात्रै भारत पनि सुरक्षित हुँदैन । बरु दिगो समाधान खोज्न सप्तकोसीलगायतका ठूला नदीको मुहानदेखि नै जोखिम न्यूनीकरण गर्न भारतसँग कूटनीतिक वार्ता गर्न आवश्यक छ । भारतको ध्यान बाँध बनाउन भन्दा नियन्त्रणतिर केन्द्रित गर्न लगाउने र आवश्यक परे सहकार्यसमेत गर्न तयार हुनुपर्छ । राष्ट्रिय आत्मसमर्पणवादबाट मुक्ति लिई भारतसँग खुलेर कुरा राखी भारतीय संरचनाले नेपाललाई परेको डुबानको दिगो समाधान खोज्नुपर्छ । ल्यान्ड लिंक्ड बनाउने सरकारको योजना ल्यान्ड लिकमा बिसर्जन नहोस् ।
-चापागाईं त्रिविका सहप्राध्यापक हुन् ।