माण्डवी गाउँपालिकाको केन्द्र हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय
प्यूठान : माण्डवी गाउँपालिका प्यूठानको केन्द्र हेरफेर गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। साउन ६ गते बसेको बैठकले हाल देविस्थानबाट संचालन भइरहेको कार्यालय वडा नम्बर ३ स्थित जस्पुरमा कायम गर्ने निर्णय गरेको हो।
हेरफेर गरिएको केन्द्रको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराए। सरकारले गरेको निर्णय अनुसार केही समयभित्रै प्रशासनिक कामकाज जस्पुरबाट संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत सिशिर रिजालले जानकारी दिए।
घरभाडा लिने प्रक्रिया पुरा भएको बताउँदै उनले देविस्थानका स्थानीयसँग छलफल गरी नयाँ ठाउँबाट कामकाज शुरु हुने उल्लेख गरे। स्थानीय तह स्थापना भएको लामो समय हुँदासमेत स्थायी केन्द्रको टुंगो नहुँदा गाउँपालिका प्रशासनिक भवन निर्माणमा समस्या भएको अध्यक्ष श्रीधर रोकामगरले सुनाए।
देविस्थानबाट केन्द्र सारिएको विरोधमा देविस्थान क्षेत्रका स्थानीयले गरेको आन्दोलन जारी राखेका छन्। सरकारले देविस्थानका स्थानीयको हितविपरित निर्णय गरेको आन्दोलनरत पक्षका वार्ताटोली संयोजक रामचन्द्र पौडेलले बताए
प्रशासनिक भवन निर्माणका लागि देविस्थान र जस्पुरका स्थानीयले निःशुल्क जग्गा समेत उपलव्ध गराएका छन्।