‘गाईवस्तुदेखि जँड्याहासम्म सबैले हैरान पार्छन्’
ड्राइभिङ पेशामा आएको चार वर्षजति भयो। कक्षा आठसम्म पढेको छु। त्यसपछि पढ्न मन लागेन। गाडी सिक्नतिर लागियो। सुरुमा गाडीमा सहचालक भएँ। पाँच वर्ष सहचालकको काम गरेपछि मात्र बल्लतल्ल गाडी चलाउन सिकेँ। पहिला गाउँघरतिर साना गाडी चलाउँथेँ। अहिले काठमाडौँ–महेन्द्रनगर रुटमा चलाउँछु। यो लामो रुट हो। काठमाडाँैबाट महेन्द्रनगर पुग्न २०–२१ घण्टा लाग्छ।
गाडी चलाउन साह्रै गाह्रो
‘मान्छेले आफ्नो कामबाट सन्तुष्ट हुनुपर्छ’ भन्छन्। तर, म सन्तुष्ट छैन। काम मन परे पनि बाटोका कारण यो पेशामा बेकारमा आइएछ भन्ने लाग्छ। आजकाल त बाह्रै महिना गाडी चलाउन गाह्रो छ। हुन त खुर्सानी खाएर गुलियो र भारी बोकेर हलुको कुनै बेला पनि हुँदैन। हाम्रो पेशा पनि त्यस्तै हो। ड्राइभरलाई कुनै बेला पनि सजिलो छैन। टाढाको रुटमा गाडी चलाउन झनै गाह्रो छ। बर्खामा पानी परेर हैरान भइन्छ। बाटोभरि पानी जमेर खाल्डाखुल्डीले गर्दा ड्राइभिङ गर्न अप्ठ्यारो हुन्छ। जाडोमा कुहिरोका कारण बाटो नै देखिँदैन। सधैैँ तनावमा काम गर्नुपर्छ। जामको त कुरै नगरौँ।
चुनौतीपूर्ण बाटो
काठमाडौँ, बसपार्कदेखि नै बाटो खत्तम छ। हाइवेमा गाडी चलाउन त्यस्तै गाह्रो छ। बाटोमा गाईबस्तुले पनि हैरान पार्छन्। खुला छोडिएका गाईबस्तुले बाटो नछोडेर तनाव हुन्छ। उनीहरूलाई बचाउन खोज्दा कहिलेकाहीँ आफ्नै गाडी जोखिममा पर्ने सम्भावना हुन्छ। कहिलेकाहीँ जँड्याहा बीच बाटोमा सुतेका हुन्छन्। उनीहरूले गर्दा उस्तै हैरान भइन्छ। गाईबस्तुदेखि जँड्याहासम्म हामीलाई सबैले हैरान पार्छन्।
ट्राफिक नियम मान्नुपर्छ
चालक, सहचालक र पैदलयात्री सबैले ट्राफिक नियम पालना गर्नुपर्छ। त्यसो गर्दा दुर्घटनामा कमी आउँथ्यो। ट्राफिक नियम नमानेकै कारण बढी दुर्घटना हुने गर्छन्। नियम मिच्ने गाडी नै कारबाहीमा पर्ने गर्छन्। कहिलेकाहीँ यात्री आफूले भनेको ठाउँमा गाडी नरोके गाली गर्छन्। तर, बसस्टप नआई जहाँ पायो त्यहीँ त गाडी रोक्न मिल्दैन नि ! यस्ता कुरा यात्रीले बुझ्नुपर्छ।
किचकिचे यात्री
प्यासेन्जरले हामीलाई कहिल्यै जस दिँदैनन्। जतिसुकै सुविधा दिए पनि उनीहरूले खोट निकालिहाल्छन्। कोही सिट भएन भनेर कराउँछन्। सिट गाडीको बनावटअनुसार बनेको हुन्छ। हामीले बनाएका हुँदैनौँ। यस्तो कुरामा पनि यात्रीले किचकिच गर्छन्। पढेलेखेका प्यासेन्जरले समेत बुझ्दैनन्। कोही गीत बजायो भनेर कराउँछन्, कोही गीत बजाएन भनेर गाली गर्छन्।
परिवारको गुनासो
ड्राइभिङ पेशामा परिवारलाई खासै समय दिन सकिँदैन। चाडपर्वमा पनि घर बस्न पाइँदैन। यसो हुँदा छोरीछोरी गुनासो गर्छन्। अलिकति कमाइ हुने भनेकै चाडपर्वमा हो। त्यही बेला गाडी थन्काएर घरमा बसियो भने कमाउनु कहिले?
प्रस्तुतिः आशक्ति