‘झरीमा ड्युटी गर्न मज्जा लाग्छ’

‘झरीमा ड्युटी गर्न मज्जा लाग्छ’

के छ हालखबर, सर?

आरामै छु। 

ट्राफिक प्रहरीको जागिर गर्न थालेको कति वर्ष भयो?

छ वर्ष।
 
यहाँको घर कता पर्‍यो?
धनगढी।
 
ट्राफिक प्रहरीमा आउनुअघि कता आबद्ध हुनुहुन्थ्यो?
पहिलो पनि फोर्समै थिएँ, सिभिलतिर।

सिभिल प्रहरीमा कति वर्ष काम गर्नुभयो? 
आठ वर्षजति काम गरेँ।

सिभिलमा हुँदा ड्युटी चाहिँ कहाँ–कहाँ गर्नुभयो? 
रुकुम, धनगढी, अछाम, काठमाडौँ धेरै ठाउँ गरियो। 

जागिर गर्न थालेपछि आफूमा केही परिवर्तन महसुस गर्नुभयो कि?
काम गर्न थालेपछि म परिपक्व भएँ। पहिलो धेरै मानिसबीच बोल्न डराउँथेँ। अहिले सबैसँग सजिलै बोल्न सक्छु। बोल्न नसक्ने डर हराएको छ।

चालक र सहचालक ट्राफिक प्रहरीले दुःख दिन्छन् भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन। ट्राफिकले नियतवश कसैलाई दुःख दिँदैन। ट्राफिक नियम मिच्चेलाई कारबाही गर्नु हाम्रो काम हो। आम मानिसको ज्यानको सुरक्षाका लागि हामी सडकमा खटिएका छौँ। त्यो कुरा सबैले बुझ्नुपर्छ। हजारौँ गाडीको चाप व्यवस्थापन गर्न कम्ती गाह्रो हुँदैन। सानो स्वर चालक–सहचालकले सुन्दै सुन्दैनन्, ठूलो स्वरमा भने मात्र सुन्छन्। ड्युटीमा कहिलेकाहीँ कडा बोल्नुपर्ने÷बन्नुपर्ने अवस्था सिर्जना भइहाल्छ। त्यसलाई दुःख दिएको भन्नुभएन नि !

ट्राफिक प्रहरीको जागिर कस्तो हो?
धुलोमाटो, घामपानी, गर्मीजाडो, सञ्चोबिसञ्चो केही नभनी सडकमा खटिनु भनेको धेरै मेहनत, धैर्यको काम हो। 

यो एरियामा के–के समस्या देख्नुभएको छ?
यहाँ जेब्रा क्रसिङ छैन। माछापोखरीतिर आकाशेपुल छैन। बालाजु चोकको बाटो फोर लेन राखेर छुट्याइएको छैन। वनस्थलीमा गाडीलाई दाहिने मोड्न निषेध गरियो भने काम गर्न धेरै सजिलो हुन्थ्यो। 

ट्राफिक क्षेत्रमा नभएको भए कुन पेशा रोज्नुहुन्थ्यो? 
मलाई पढाउन मज्जा लाग्छ। शिक्षक बन्थेँ होला । 

के कुराले  प्रहरी  बन्न प्रोत्साहित गर्‍यो?
त्रिचन्द्र कलेजमा पढ्दै थिएँ। त्यही बेला ट्राफिकमा फारम खुलेको थियो। साथीभाइसँग फारम भरियो। नाम निस्किएपछि जागिर खाइयो।

सडकमा सबैले ट्राफिक नियमको पालना गर्छन् त ?
९० प्रतिशत मान्छेलाई ट्राफिक नियम मान्नुपर्छ भन्ने ज्ञान छ। तर, ‘ट्राफिकले के गर्छ सक्छ र’, ‘ट्राफिकले देखेको छैन’ भनेर जानी–जानी नियम मिच्ने गर्छन्।
 
यस एरियामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीबाट के कस्ता काम भएका छन्?
त्यसका लागि बेला–बेलामा सवारीसाधन, चालकको चेकिङ गर्ने, पोस्टर, पम्पलेट बाँड्ने÷टाँस्ने, चोक–चोकमा ट्राफिक प्रहरी खटिएर सवारीको स्पिड चेकजाँच गर्ने काम भइरहेका छन्।

बर्सातमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो हुन्छ होला है?
मलाई त पानी परिरहेको बेला ड्युटी गर्न झन् रमाइलो लाग्छ। रेनकोट लगाएर सडकमा मज्जाले काम गरिन्छ।

फुर्सदमा के गर्नुहुन्छ?
पत्रपत्रिका, किताब पढ्छु। फिल्म हेर्छु। 

कस्ता खाले  फिल्म हेर्न मन पर्छ?
दक्षिण भारतीय फिल्म मन पराउँछु।  

प्रस्तुतिः आशक्ति फुयाल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.