नेपाललाई जितका लागि १४२ रनको चुनौती
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।
कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेस २५ र मोहमद अस्लामले २३ रन बनाए। ९औं विकेट गुमेपछि कुवेतले १० बलमा २९ रन जोड्न सफल भयो । कप्तान काषिफले ३६ बलमा ४ छक्का र २ चौका गरी ४९ रन बनाएका हुन्
नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३–३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए ।
नेपाललाई यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाब छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुद्ध खेल्नेछ।