ओभरियन सिस्टको असर

ओभरियन सिस्टको असर

डा. सरिता आचार्य । ओभरियन सिस्ट तरल पदार्थले भरिएको थैली हो। यो महिलाको एक वा दुवै अण्डाशयमा बन्न सक्छ। यो रोग जुनसुकै उमेर समूहका महिलालाई लाग्न सक्छ।

हर्मोन तल–माथि भएर बन्ने सिस्टलाई फिजियोलोजिकल सिस्ट वा फङ्सनल सिस्ट भनिन्छ। यस्ताखाले सिस्ट केही समयपछि आफैं हराएर जान्छन्। त्यसले धेरै हानिकारक मानिँदैन। ओभरियन सिस्ट फुटेर पनि जान सक्छन्। यस्तो अवस्थामा गम्भीर प्रकृतिका समस्या पनि उत्पन्न हुन सक्छ। त्यसैले ओभरियन सिस्टको लक्षणबारे जानकारी राख्नु अत्यावश्यक मानिन्छ। समयमै ओभरियन सिस्टको उपचार गराए गर्भ जोगिन्छ।

लक्षण

ओभरियन सिस्टको कुनै लक्षण नदेखिन पनि सक्छ। किनभने केही समयपछि यो आफैं निको भएर जान्छ। तर, पाँच सेन्टिमिटरभन्दा ठूलो सिस्ट वा ओभरियन ट्युमर छ भने विभिन्न लक्षण देखा पर्न सक्छन्।

-  तल्लो पेट दुख्नु

-  शारीरिक सम्पर्कका बेला दुखाइ हुने

-  महिनावारीमा अनियमितता हुने

-  महिनावारीको समयमा बढी रक्तस्राव हुने

-  पेट फुल्ने

-  अपच हुने

कब्जियत हुने

-  थकान महसुस हुने

ओभरियन सिस्ट दुई प्रकारबाट बन्ने गर्छ। एउटा हो, फङ्सनल (कार्यात्मक) ओभरियन सिस्ट। यस्तो खालको सिस्ट महिनावारीका बेला बन्ने गर्छ। अर्को खालको सिस्ट असाधारण कोषिकाको वृद्धिका कारण हुने गर्छ। कार्यात्मक ओभरियन सिस्ट त्यति हानिकारक हुँदैन। यो आफैं निको पनि हुन सक्छ। दोस्रो खालको सिस्टलाई ओभरियन ट्युमर पनि भनिन्छ। त्यो आफैं निको हुँदैन।

महिलाको प्रजनन प्रणालीमा अण्डाशयको भूमिकाबारे जानकारी भएको अवस्थामा कार्यात्मक सिस्टबारे बुझ्न सहज हुन्छ।

अण्डाशयको मुख्य भूमिका अन्डा बनाउनु र हरेक महिना यसलाई फेलोपियन ट्युबमा पठाउनु हो। यसरी ट्युबमा पुगेको अन्डाले शुक्राणुसँग मिलेर गर्भाधान प्रक्रिया सम्पन्न हुन्छ। यो अन्डा अण्डाशयको भित्र रहेको एउटा सानो ठाउँमा हुन्छ। त्यहाँ रहेको तरल पदार्थले अन्डाको सुरक्षा गर्ने काम गर्छ। अन्डा बाहिर निस्कने समय भएपछि त्यो ठाउँ फुटेर अन्डा बाहिर निस्कन्छ। तर, कहिलेकाहीँ त्यो फुट्न सक्दैन जसकारण अन्डाभित्रै रहन्छ र त्यही बढ्न थाल्छ। यसरी नै सिस्ट बन्न सुरु हुन्छ।

जुन कोषिकाबाट अन्डा बन्छ, त्यहीबाट यस्ता सिस्ट बन्ने गर्छन्। यसरी बन्ने सिस्ट आकारमा पनि ठूलो हुन्छ र यो फुट्ने सम्भावना बढी हुन्छ। यस्तो खालको सिस्ट क्यान्सरयुक्त पनि हुन सक्छन्। त्यसैले तुरुन्तै हटाइहाल्नुपर्छ।

उपचारको व्यवस्था

आकारमा ५ सेमिभन्दा ठूलो सिस्ट छ वा सिस्ट निरन्तर बढिरहेको छ भने यथाशक्य चाँडो उपचार गर्नुपर्छ। यस्ता सिस्ट बढ्दै गएर अन्डाशयलाई नै असर पुर्‍याउन सक्छ। अन्य विभिन्न समस्या पनि उत्पन्न गराउन सक्छ।

ओभरियन सिस्ट हटाउने तरिका ल्याप्रोस्कोपिक सर्जरी हो। यसलाई सिस्टेक्टोमी पनि भनिन्छ। यो विधिबाट सिस्ट हटाउँदा प्वाल मात्र पारे पुग्छ। शल्यक्रियापछिको घाउ निको हुन लामो समय लाग्दैन। तर, निकै फैलिएको अवस्थामा खोलेरै निकाल्नुपर्छ। सिस्टलाई निकालेपछि त्यसमा क्यान्सरयुक्त कोषिका पत्ता लगाउन परीक्षणमा पठाउनुपर्छ।

ओभरियन सिस्टले महिलाको प्रजनन शक्तिलाई कुनै पनि असर पु¥याउँदैन। तर, यसले गर्भधारण प्रक्रियामा केही जटिलता पैदा गराउन सक्छ। कहिलेकाहीँ गर्भावस्थामा महिलाको अण्डाशयमा सिस्ट देखा पर्छन्। तर, समय क्रमसँगै दोस्रो त्रैमासिकमा ती सिस्ट आफैं हराउँदै जान्छन्। गर्भावस्थामा अलि तीव्र गतिमा बढिरहने सिस्टलाई भने शल्यक्रिया गरेर हटाउनुपर्छ। शल्यक्रिया गर्ने उचित समय दोस्रो त्रैमासिक हो।

त्यसैले गर्भावस्थामा ओभरियन सिस्ट पाइयो भने डराउनु हुँदैन। सिस्टको लक्षण देखिए बेवास्ता गर्नु हुँदैन। स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर बेलैमा यसको जाँच गराउनुपर्र्छ। समयमै उपचार गराउँदा महिला र गर्भमा रहेको बच्चा दुवै सुरक्षित हुन सक्छन्। प्रजनन स्वास्थ्यमा पनि कुनै असर पर्दैन।

(स्त्रीरोग विशेषज्ञ डा.आचार्यसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.