मनोविश्लेषण : उपचार पद्धति
डा. कञ्चन दाहाल । फ्रायडलाई मनोविश्लेषणका प्रवर्तक मानिन्छ। मनोविश्लेषण विधिलाई चिकित्सा क्षेत्रमा पनि उपयोग गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चाले आफ्नो वरिपरिको वातावरण अनुभव गर्छ।
वातावरणीय परिवर्तनले शारीरिक प्रक्रियासँगै मानसिक अवस्थामा सुधार ल्याउँछ। शारीरिक अंगको विकाससँगै मानसिक अवस्थाका विभिन्न आयतनको विकास हुने गर्छ। वातावरणबाट पैदा हुने उत्तेजनाको अनुभव गर्नु, आवाज सुन्नु, देख्नु, छुट्याउनुलगायत पर्छन्। आमा र अन्य व्यक्तिको प्रभावको भिन्नता छुट्ट्याउन सक्नु, आमा टाढा गएका बेला चिन्ता, भोक अथवा रिसले रुनुलगायत कार्यले व्यक्तित्वमा प्रभाव पार्छ। यी अनुभवले तनाव तथा चिन्ता व्यवस्थापन गर्ने सीप सिकाउँछ।
त्यस्ता प्रक्रिया चेतनाको तहमा समाहित भएर बसेका हुन्छन्। जुन सामान्य समयमा व्यक्ति वा बिरामीले बिर्सेका वा सम्झेका पनि हुन सक्छन्। तर, मनमै हुन्छन्। झिल्कास्वरूप रहेका स्मृतिलाई अनुभव गर्न सक्ने चेतनाको तहमा उजागर गरेर लक्षण र व्यवहारका समस्यालाई व्यवस्थापन गर्ने कार्य मनोविश्लेषणले गर्छ।
मनोविश्लेषण उपचार पद्धतिको प्रभावकारिता मनोविश्लेषक हुन्छ। विषयगत ज्ञान, अर्थपूर्ण निचोड निकाल्ने खुवी र अनुभवमा भर पर्छ। यो विधि जुनसुकै उमेरका व्यक्तिमा प्रयोग गर्न सकिन्छ। व्यवस्थित र शान्तपूर्ण कोठामा निश्चित समयको अन्तरालमा तय गरिएको उपचार खर्चमा मनोविश्लेषण उपचार प्रक्रिया सुरु गर्न सकिन्छ। उपचार पद्धतिमा मिहिन ढंगले बिरामीको सम्बन्धको आयाम, तिनको घुलनशीलताको गाहिराइ र त्यसबाट उत्पन्न हुने मनोविकारलाई केलाउने गरिन्छ। व्यक्तिको सम्बन्धका आयाम र घुलनशीलताको गहिराइले उदासीपन, चिन्ता, डर, त्रासलगायत लक्षण देखा पर्ने गर्छन्। सम्बन्धहरूसँग फरक किसिमका प्रक्रिया र प्रतिक्रिया हुँदा लक्षण र व्यवहार अनगिन्ती वा व्यक्तिगत हुन्छन्।
प्रक्रिया तथा प्रतिक्रियाबाट मनोविकारयुक्त सोचाइले जन्म लिन्छ। यसका लक्षण व्यवहारमा देखिन्छन्। यसलाई मनमा गाँठो परेको र अनौठो व्यवहार गरेको भन्ने हुन्छ। मनोविश्लेषणले मनका गाँठोलाई फुकाउने र तिनबाट उत्पन्न भएका लक्षण र व्यवहारलाई सुधार्छ। मनमा प्रश्न उब्जिने गाँठो फुकाएपछि सबै ठीक हुनुपर्ने हो। तर, समस्या किन बल्झिने गर्छन् ? यहाँनेर मन र मस्तिष्कको सम्बन्ध विचार गर्नुपर्छ। मन र मस्तिष्कमा भएका परिवर्तनले आपसमा अन्तरक्रिया गर्छन्। लामो समयसम्म उदासीपन रहँदा मस्तिष्कमा रहेका तत्वमा परिवर्तन देखा पर्छ। ती परिवर्तित तत्त्वलाई सन्तुलनमा ल्याउन समय लाग्छ। छोटो समयको उपचारपछि देखिने सुधार दीर्घकालीन नहुन सक्छ।
मनोविश्लेषण उपचार विधिको सिद्धान्त नै व्यक्ति वा बिरामीलाई पहिलेको अवस्थाबाट फरक र नयाँ अवस्थामा पुर्याउनु हो। पुरानै अवस्थामा पुर्याउनु समस्या बल्झिने बातावरण रहिरहनु हो। यो उपचार विधि लामो हुन्छ। जसमा बिरामीको स्मृतिलाई शब्द वा हाउभाउमा प्रस्फुटित गरिन्छ। समस्याको चित्रण प्रस्तुत गरिन्छ। उपयुक्त विचार, व्यवहार र जीवनशैली अपनाउन सकिन्छ। पहिलेको अवस्थाभन्दा फरक अवस्थामा व्यक्ति वा बिरामी पुगोस्। यस पद्धतिबाट व्यक्ति वा बिरामीले नयाँ अनुभव प्राप्त गर्छन्। जसको सहयोगले पहिलेका नसुल्झिएका मनोविकारलाई व्यवस्थापन गर्न सक्ने हुन्छ।
फ्रायडको ऐतिहासिक मनोविश्लेषणात्मक सिद्धान्तको जगमा टेकेर नयाँ–नयाँ विचार र विधि पनि आएका छन्। यसरी आएका नयाँ प्रयोगले मनोविश्लेषण विज्ञानमा विवाद देखिए पनि उपचार प्रक्रिया परिस्कृत भएका छन्। आधुनिक मनोविश्लेषण विधिले कडा मनोरोगको उपचारमा पनि टेवा पुर्याउन सक्छ। यद्यपि, यस रोगको प्रमुख उपचार विधि भनेको औषधोपचार नै हो।
मानसिक रोग विधामा व्यक्ति वा बिरामीको लक्षण र व्यावहारलाई जैविक, स्नायुगत, शारीरिक कारणको परिभाषामा बुझ्नुपर्छ। मनोविश्लेषणले मनको गहिरायीको व्याख्या, त्यसको अवस्थासँगको सम्बन्ध र सम्बन्धले उत्पादन गर्ने प्रेरणाको विश्लेषण गर्छ। जसले चेतनाका विभिन्न तहमा रहेका कारण र तिनका उत्पादनलाई पुनर्परिभाषित गरेर उपचार प्रक्रिया तय गर्ने गर्छ। कतिपय सन्दर्भमा फ्रायडले मनोविश्लेषणलाई मानसिक रोग विधाको खम्बाका रूपमा पनि चित्रण गरेका छन्। मानसिक रोगको औषधि सेवन गरिरहेका व्यक्तिले औषधि बन्द गर्ने र यो पद्धति अँगाल्ने भन्ने होइन। दुवै उपचार पद्धति एकअर्काका परिपूरक हुन्। आवश्यकताअनुसार दुवैलाई प्रयोग गरेर मानसिक स्वस्थतातिर लाग्नुपर्छ।