सुग्घर कार्यालय !

सुग्घर कार्यालय !

साविक राजस्व प्रशासन तालिम केन्द्रको कार्यको सिलसिलामा काठमाडौंबाहिर जानुपर्थ्यो। कतिपय जिल्लामा पुग्दा कार्यालयका सिँढीको कुनामा पान, गुटाका, खैनी थुकेको देखिन्थ्यो। त्यति मात्र होइन, खैनी ओठबाट निकालेर औँलाले भित्ताको सिलिङमा छर्केका थुप्रै दृश्य हेरियो।

वीरगन्जको ठूलै जनसम्पर्क हुने कार्यालयले सिँढीका कुनामा हुने पानको थुकाइ नियन्त्रण गर्न हिन्दु देवीदेवताका तस्बिर भएका सेरामिक टायल पनि राखेको थियो। थुक्न नरोकिएपछि फेरि हटाउनुपरेको पनि सुनियो। उक्त कार्यालयमा थुप्रै कर्मचारी थिए। उनीहरू सेवाग्राहीसँग एकान्त बात मार्न व्यस्त देखिन्थे। को आए; को गए; कसले परिसरमा जथाभावी कागज फाले; कसले जथाभावी थुके; कसले शौचालयको मात्र होइन देखिने ठाउँको पित्तलको धारा बटारेर लगे भन्नेबारेमा कसैलाई मतलब थिएन। कार्यालयले चाहेको भए उपयुक्त स्थानमा सीसी क्यामेरा राख्न कठिनाइ थिएन। कार्यालय प्रमुख प्रतिबद्ध भएका भए कसैले एउटा कागजको टुक्रा पनि जथाभावी फाल्न सोच्नुपथ्र्यो। तर, कार्यालयको सरसफाइप्रति कुनै कर्मचारीलाई चासो भएको पाइएन।

म विराटनगर महानगरपालिकाको एक शाखा (नाम नभनौं) मा पसें। भेट्न खोजेका कर्मचारी रमाना लिएर हाजिर हुन आएका रहेछन्। पानले फुलेका गाला र पानकै रसले भरिएका ओठ लिएर गफ गर्दा टेबलमाथि भएको तोक लागेको पत्रभरि छिटैछिटा लाग्यो। अझ भित्तामा पानको रसका राता लेग्रा पार्दै त्यहाँ अर्का अधिकृत पिच्चपिच्च डस्टबिनमा थुक्दै गरेको देखें। ‘यहीं थुक्ने गरेको यार !’ भन्ने मेरो जिज्ञासामा ‘यस्तै रहेछ यहाँको चलन’ भन्ने जवाफ पाइयो।

बढ्दो खैनी तथा गुटाका प्रयोग गर्ने रोग अब पहाड र हिमालतिर सर्दै छ। राष्ट्रिय ट्रमा सेन्टरमा गत जेठमा पहिलोपटक जाँदा सिँढीको कुनाकुनामा पानको दाग देखेपछि एकजना स्टाफलाई त्यहाँ पोतेर फूलका गमलाहरू राख्न उपयुक्त हुने सुझाव दिएँ। त्यो मानेर हो वा व्यवस्थापनले आफ्नै विवेक प्रयोग गरेर हो, १० दिनपछि जाँदा गमला राखेको पाइयो। अरू त छाडौं, सरकारी अस्पताल सुग्घरी छन् भन्ने आँट कसैको पुग्दैन। राजनीति हावी भएर आन्तरिक नियन्त्रण कमजोर हँुदै गएको र सुधार गर्नुपर्ने बहस चलिरहेको दक्षिण एसियाकै अलंकार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान फोहोरी हुँदै गएको देखिन्छ।

विराटनगरको मालपोत कार्यालयको तुलनामा भर्खर नयाँ बनेको भक्तपुरको मालपोत कार्यालय कम सफा देखिन्छ। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनको यात्रु प्रतीक्षालयका खम्बाका वालपेपरहरू च्यातिएको र फाटेर लत्रिएको प्रस्टै देखिन्छ। म नुवाकोटको प्रमुख जिल्ला अधिकारी भएर जाँदा नागरिकता फाँटको भित्ताबाहिरको अवस्था देखेर दिक्क लाग्यो। भवन कार्यालयका प्रमुखसँग अर्को मैलो नदेखिने रङ परिवर्तन गर्न प्रस्ताव राखें। सहरी विकास मन्त्रालयको स्वीकृत मापदण्डले नमिल्ने देखिएपछि हात पुछ्न ठूला–ठूला तन्ना नै राख्नुपरेको थियो।

भवनका भित्तामा धुलो जमेको हुन्छ। सडक बढारेर पेटीमै फोहोर थुपारिएको हुन्छ। गुटका र नीला पानीकागजका टुक्रा छरिएका हुन्छन्। पुराना काम नलाग्ने हेर्दै बिजोग लाग्ने सवारीसाधन जताततै राखिएका हुन्छन्। प्रधानमन्त्री, मन्त्री तथा सचिव हिँड्ने सिँढीका मार्बल फुटेर खँुडे भएका हुन्छन्। २० वर्षअगाडि टाँसेका सूचनामूलक सन्देशका कागज च्यातिएरर मैलिएर बिजोक देखिएका हुन्छन्। पानीसमेत नहालेर सुकेका फूलहरूले कार्यालयको शोभा बिगारिरहेका हुन्छन्। सबैभन्दा अचम्मचाहिँ प्रधानमन्त्रीले नै सिंहदरबार सफा गर्न निर्देशन दिएको र त्यो निर्देशन कार्यान्वयनका लागि संयोजक नै तोक्नुपरेको घटना पाइयो।

सार्वजनिक निकायका कार्यालय सफा नगर्नु वा फोहोरै राख्नु भनेको सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नु पनि हो। यो काम फलानालाई तोकिएको छ भनेर पन्छिन मिल्दैन। तत्कालीन अर्थसचिव रामेश्वर खनाल आफैं कुचो लिएर कार्यालयको जालो झार्नु हुन्थ्यो। हेटौंडाका कोलोनीका प्रमुख दामोदर सुवेदीले परिसरमा कसैले फालेको कागज पनि आफैं उठाएर अरूलाई प्रेरित गर्नु हुन्थ्यो भन्ने त्यहाँ चर्चाको विषय बनेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २७ मेमा बनारसको जनसभालाई सम्बोधन गर्दै भनेका थिए, ‘निजी मोटरसाइकललाई सरसफाइ गरेजस्तै सार्वजनिक सम्पत्ति सफा र स्वच्छ राख्नु सबै नागरिकको कर्तव्य हो।’ चीन स्वतन्त्र भएपछि महात्मा गान्धीका समर्थक त्यहाँ पुगेपछि भर्खरै क्रान्तिले थिलथिलिएको चीनका कार्यालयहरू सफासुग्घर देखेर दंग परेका थिए रे !

प्रमुखको रूपमा जिम्मेवारी दिएर खटाइएको जोसुकै कर्मचारीलाई आफ्नो कार्यालयको भित्र–बाहिर सबैतिर सफासुग्घर कायम गर्नुहोला भनेर आदेश, निर्देश दिनु वा अलग्गै परिपत्र (वातावरण दिवसबाहेक ? ) गरिरहन आवश्यक पर्दैन। यो मन लागेको बेला वा आवश्यक परेको बखतमा मात्र पूरा गर्नुपर्ने नभई नियमित तवरले पालना गर्नुपर्ने स्वतः सिर्जित कर्तव्य र जिम्मेवारी हो। जवाफदेहिता पनि हो। साना हुन् या ठूला, आफ्नो कार्यालयलाई नियमित सफासुग्घर राख्नु; मर्मत–सम्भार गराउनु भनेको अनुशासित कर्तव्य हो। अनुशासन आचरणको पक्ष हो। आन्तरिक नियन्त्रणको अंश पनि हो।

अर्को शब्दमा यो सभ्यताको परिचायक हो। निजामती सेवा ऐन, २०४९ को दफा ५५ मा कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने भनिएको छ। नियमावली, २०५० को नियम १२१ मा अनुशासनमा नरही, असावधानीका साथ वा जानाजानी त्रुटिपूर्ण तरिकाले निजामती कर्मचारीले काम गरी नेपाल सरकार वा सरकारी कार्यालयलाई कुनै प्रकारको हानिनोक्सानी पुर्‍याउन नहुने भनिएको छ। नियम १२२(क) मा भएको व्यवस्थाअनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नैतिक दायित्व कर्मचारीको हुनुपर्छ। यी विषय सरसफाइसँग पक्कै जोडिन्छन्।

गृहमन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीको आचारसंहिता २०६९ मा आफ्नो कार्य क्षेत्रभित्र पर्ने सम्पूर्ण सार्वजनिक सम्पत्तिको विनाशमा रोक लगाउने कार्य गर्नुपर्छ भनिएको छ। ‘प्रहरी किताबखानामा कार्यरत कर्मचारीको एकीकृत आचारसंहिता दिग्दर्शन, २०७५’ को प्रारम्भिक मस्यौदामा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्भार गर्नुपर्ने कर्मचारीको दायित्व हुने व्यहोरा छ। सबै सार्वजनिक निकायले तयार गरेका आचारसंहितामा यही भाषा हुन्छन्। तर, त्यसको पालना कमैबाट हुन्छ।

वास्तवमा सार्वजनिक निकायका सम्पत्तिको मालिक त्यहाँका कर्मचारी नै हुन्। कार्यालय सफा राख्नु भनेको व्यवस्थापकीय वातावरणको सबलीकरणसमेत हो। सफा र सुग्घरी कागजपत्र मिलाएर व्यवस्थित गरिएका कार्यालयमा काम गर्दा उत्पादकत्व बढ्छ। सेवाप्रदायक सफा भए सेवाग्राही पनि सफा हुन कर लाग्छ। त्यसैले अब आफ्नो कार्यालय सफा राख्न फेरि पनि प्रधानमन्त्रीकै निर्देशन आवश्यक नपरे हुन्थ्यो। यो त आफ्नै लागि हो।

—बराल नेपाल सरकारका पूर्वमहानिर्देशक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.