संवेदनाहीन व्यापार
प्रसंगवश एक मित्रले भनेका थिए, ‘मेरा हाड कमजोर हुँदै छन्, क्याल्सियम पुगेको छैन भनेर डाक्टरले प्रशस्त दूध खानू भनेका छन् तर मलाई दूध मुखैमा हाल्न मन लाग्दैन ।’ हामीले उत्सुक हुँदै त्यसको कारण सोध्दा उनको जबाफ यस्तो थियो, ‘एकपटक सामाजिक सञ्जालमा असंख्य बाच्छालाई जिउँदै खाल्डोमा हालेर पुर्दै गरेको तस्बिर पोस्ट गरेको देखें, त्यसपछि मैले दूध खानै छाडें। मान्छे कतिसम्म स्वार्थी र निर्दयी बन्न सक्दो रहेछ ! जब–जब दूधको प्रसंग आउँछ त्यही दृश्य सम्झन्छु अनि कसरी खानु दूध ? बरु क्याल्सियमका यिनै चक्की खानु बेस ।’
ती मित्रले खल्तीबाट क्याल्सियमका थुप्रै पाता निकालेर देखाए। अर्का एकजनाले अविश्वास व्यक्त गरे, ‘त्यति साह्रो त हैन होला ! अलिअलि पानी तथा गुणस्तरहीन पाउडर त मिसाउँछन् नै तर बाच्छा नै मारेर गाई दुहुलान् र ? ’ अर्का मित्रले विचार राखे, ‘पैसाका लागि मानिसले जे पनि गर्न सक्ने अहिलेको समाजमा मलाई त यो कुरा सामान्य लाग्छ। किनकि, रसायनबाट नक्कली दूध, नक्कली अन्डा, प्लास्टिकका चामल बनाएर बेचिरहेका प्रसंग पनि सञ्जालमा भाइरल भइरहेका छन् नि। तरकारी–फलपूmलमा विषादी, मासुमा एन्टिबायोटिक, पानी प्रदूषित अब खानेचाहिँ के हो ? कि त गाउँ गएर आफैं खेती–किसानी गरेर बस्नुपर्यो अन्यथा... आपूm त सबै कुरा आँखा चिम्म गरेर खान्छु। साउनमा खीर खाने भन्दै छन् भुराहरू फर्कंदा दूध लिएर जानु छ ।’
केहीबेरमा हामी सबै आआफ्नो बाटो लाग्यौं। अघिको प्रसंगले भारी मन लिएर निवासतिर आउँदै गर्दा अनायास मेरा पाइला रोकिए बाटोछेउमै रहेका एक बथान दूधमुखे बाच्छा देखेर। दूध खान छाडेका मित्रको भनाइको सादृश्यमा ती कलिला छाडा बाच्छा देखेर मन चस्कियो ।रातारात कतैबाट ल्याएर मेरो निवास अर्थात् विश्वविद्यालयको खुला क्षेत्रमा छाडिएका त्यस्ता ससाना बाच्छासँगको यो पहिलो जम्काभेट कहाँ हो र ? यी सधैजसो भेटिन्छन्। बर्खामा घाँसपात खान सक्नेहरू केही समय बाँच्छन् अनि वरपरका झाडीमा आउने चितुवाका आहारा बन्छन्। धेरै साना भोकले थरथराउँदै भेलको पानीमा डुबेर मर्छन्। पुस–माघको कठ्यांग्रिने जाडोमा हृदयविदारक दृश्य देखिन्छ यहाँ। थाहा छैन कहाँबाट आएर एकाबिहानै थुप्रिएका हुन्छन् ती दुधे बाच्छा ! आवासपरिसरभित्र मरेकाहरूलाई त्यही खाल्डो खनेर विसर्जित गरिन्छ। त्यो बेला विश्वविद्यालय क्याम्पसको प्रिन्सिपल कार्यालयको मुख्य काम नै मरेका बाच्छा विर्सजन गर्नु हुन्छ।
बाच्छी पायो भने स्याहार गरेर हुर्काउँछन् र बाच्छो भयो भने यसरी रातारात कतै लगेर छाडिदिन्छन् ताकि गाईको पूरै दूध बेच्न सकियोस्।
बाहिर बाटो छेउछाउ र झाडीमा मर्नेहरूका कारण वातावरण नै दुर्गन्धित भएको हुन्छ। नयाँबाटो हुँदै कीर्तिपुर जाने सडकछेउको त्रिविको खाली जग्गालगायत विश्वविद्यालयपरिसर पनि यस्ता बाच्छा छाड्ने र मर्ने गन्तव्य बन्दै आएको छ। आफ्नो कार्यक्षेत्र र निवास यसैअन्तर्गत पर्ने हुनाले पनि यसले मलाई संवेदनशील बनाउने गर्छ ।
बर्खामा त मेरो आवास क्षेत्र प्रायः जलमग्न हुन्छ, बाटो छिचोल्नै धौ–धौ पर्ने तर हिउँदमा घाम ताप्न चौरमा टहलिएको बेला देखिने माटाका ढिस्काहरूमा अबोध बाच्छा अर्थात् दुधालु गाईका छोराको बाँ–बाँ सुनेजस्तो लाग्छ। दूध खान माउलाई पुकार्दै घाँटी सुकाएर जीवनलीला समाप्त गरेका ती बाच्छाका चिहानले त्यतिबेला मलाई बढी तर्साउने गर्छन् जतिबेला दूधवाला आएर गाईको दूध खन्याउन मेरो ढोका ढक्ढक्याउने गर्छ। उफ ! भाँडाभरिको त्यो दूध अनि बाहिर चौरभरिका ती बाच्छा र तिनको चीत्कार ! त्यसैले त म अदृश्य रूपमा हरेक दिन दूधसँगै एक प्रकारको पीडा पनि पिउने गर्छु। किनकि, म ती मित्रजस्तो त्यागी पनि त बन्न सक्दिनँ !
हो, अहिले हामीकहाँ अधिकांश गाईपालक किसानले जर्सी गाई पाल्ने गरेका छन्। त्यसैले उनीहरू बाच्छी पायो भने स्याहार गरेर हुर्काउँछन् र बाच्छो भयो भने यसरी रातारात कतै लगेर छाडिदिन्छन् ताकि गाईको पूरै दूध बेच्न सकियोस्। एक त अचेल गोरुले जोत्ने चलन कम भइसकेको छ, दोस्रो जर्सी गाईको बहरको जुरो नहुने हुँदा जोत्न काम आउँदैन। त्यसैले गाईले बहर पाउँदा उनीहरूलाई समस्या पर्ने गर्छ। त्यसबाट छुटकारा पाउनका लागि उनीहरूले मानवीय संवेदना नै गुमाएर दूधे बाच्छाहरूलाई अघोषित रूपमा मार्ने गर्छन् ।
यति मात्र होइन, केही व्यवस्थित गाई फर्मबाहेक अधिकांश गाईपालनमा संवेदनाहीन व्यापारबाहेक केही देखिँदैन। असाध्य फोहोर अनि नाममात्रको गोठ बनाएर गाई राख्नु, दुहुने बेलामा मात्र गोठमा ल्याउनु, बाँकी समय सडकमा यत्रतत्र छोडेर ट्राफिक व्यवस्थामै वाधा पुर्याउनु, घाँसे चरणका सट्टा चोक–बजारमाझ फालिएका कागज तथा प्लास्टिक अनि मण्डीमा मिल्काइएका सडेका दुर्गन्धित तरकारी र फलपूmल खुवाउनु, दानापानीमा खर्च गर्नुभन्दा सित्तैमा पाइने यस्तै आहाराका भरमा गाई पालेर दूध बिक्री गर्नु स्थानीय गाईपालकका विशेषता बनिरहेको देखिन्छ। यस्तो यथार्थबीच घरघरै आइपुग्ने ताजा दूध भन्दै खाने हामीले कति स्वस्थवर्धक दूध खाइरहेका रहेछौं त ? मानिसले त आफ्ना हक–अधिकार नपाएर नारा–जुलुस गरिरहनुपर्ने हाम्रो परिवेशमा पशु अधिकारका कुरा हास्यास्पदबाहेक के हुन सक्ला र ? तर, यो पशुअधिकार पनि मानव जीवनसँग आबद्ध हुनाले यसबारे मौन रहनु पनि उपयुक्त देखिँदैन।
विकसित मुलुकमा हरेक व्यापार–व्यवसायका निश्चित नियम–कानुन हुन्छन्। व्यवसायीले स्वतस्पूmर्तरूपमा त्यसको पालना गर्ने गर्छन्। त्यसैले ती मुलुक विकसित हुनाका साथै त्यहाँका नागरिकले गुणस्तरीय तथा स्वस्थकर खाद्यपदार्थ उपभोग गर्न पाउँछन्। हामीकहाँ भने एकातिर नियम–कानुनको अभाव, अनुगमनको शून्यता, सरकारको उदासीनता अनि व्यवसायीको मनोमानी। यसबाट न व्यवसाय दीर्घकालीन बन्न सक्छ न त उपभोक्ताले गुणस्तरीय वस्तु नै प्राप्त गर्न सक्छन्। दुग्ध व्यवसायको यथार्थ पनि यही हो। पशुपालकले कामचलाउ किसिमबाट पशु पाल्छ। नाफामुखी उद्देश्यले आफ्ना गतिविधि अघि बढाउँछ तर त्यसको नकारात्मक असर समाजमा परिरहेको हुन्छ। त्यसैले अब गाईपालनलाई व्यवस्थित गराउनु आवश्यक छ ।
स्थानीय निकायले अधिकार पाएको वर्तमान राज्य संरचनामा यससम्बन्धी नियम बनाइनुपर्छ। नगर तथा गाउँपालिकाका वडाअन्तर्गत सञ्चालित यस्ता व्यवसाय निरीक्षण र अनुगमन गरेर त्यसलाई व्यवस्थित गराउन सकिन्छ। व्यवसायी तथा स्थानीय निकायको समन्वयमा व्यवसायीका समस्याको सहजीकरण पनि हुन सक्छ। अहिले गाईपालकहरूको मुख्य समस्या भनेको बाच्छा (बहर) व्यवस्थापन हो। त्यसपछि उनीहरूले सिर्जने अर्को समस्या दूध दिन छाडेका र अशक्त गाई गोप्यरूपमा जथाभावी छाडिदिनु हो। केही समयअघि तिलोत्तमा नगरपालिकामा गाईलाई कृत्रिम गर्भाधान गराएर क्लोनिङ प्रविधिका माध्यमबाट बाच्छी मात्र जन्माएको समाचार सार्वजनिक भएको थियो। त्यसले साँच्चै सफलता पाएको हो भने अन्य क्षेत्रमा पनि सोही प्रविधिबाट बाच्छी उत्पादन गर्न सकेमा हाल दुधे बाच्छामाथि भइरहेको अपराध रोक्न सकिन्छ। यसका लागि स्थानीय निकाय, पशुपालक तथा पशु विज्ञानसँग सम्बन्धित प्राविधिक पक्षबीच समन्वय आवश्यक हुन्छ ।
गाईपालनलाई व्यवस्थित बनाएर लैजानु आरम्भमा चुनौतीका रूपमा देखिए पनि यसले सफलता पाउने हो भने यसबाट एकातिर उपभोक्ताले स्वस्थकर दूध उपभोग गर्न पाउनेछन् र अर्कोतिर सहरका चोक–बजार, सडक–पेटी, बाटोघाटो तथा खुला ठाउँ, आवास क्षेत्रवरिपरि परिरहेको नकारात्मक प्रभावको पनि न्यूनीकरण हुनेछ। जहाँतहीं दुधे बाच्छाहरूको अपहत्ते देखेर मेरा संवेदनशील मित्रले जस्तै संवेदनाहीन व्यवसायबाट उत्पादित दूध नै बहिष्कार गरेर बस्नुपर्ने अवस्था पनि रहने छैन।