न गर, गर न
ह्याप्पी बर्थ डे अन्याय !
सरकार ! आज तिम्रो छोरो एक वर्षको भयो। चल्न नसक्ने गरी गरिएको बलात्कार, ढाकछोप गर्न जन्मिएको तिम्रो अन्याय, टुकुटुकु हिँड्ने त भयो होला ? कस्तो अचम्म है ? बलात्कार एउटाको हुन्छ, छोरो तिमी पाउँछौ। धन्न छोरो पाएछौ। छोरी भएकी भए, केही वर्षपछि उखुबारीमा सुरुवाल खोलिएको अवस्थामा लास भेटिन्थ्यो। आजकाल त महिनैपिच्छे छोराको बाउ बन्छौ। अदालतमा बोर्डस् गरिएका तिम्रा छोराहरू रातबिरात पर्खाल नाघेर त भाग्दैनन् नि ? तिम्री छोरी पनि त्यही बाटो भएर स्कुल जान्छे। विचार गर है, हाडनाता करणीमा जेल जालान् तिम्रा अन्यायहरू।
भीमदत्त नगरकी निर्मलाले त्यस दिन कुनै भीम वा दत्तलाई अगाडि प्लिज थपेर ‘नगर’ पक्कै भनी होला। ‘छोरो’को पछाडी ‘रो’ हुनुको कारण बुझी होला। किनकि हरएक हरकतले उसलाई ‘रो’ भन्दै थियो। उखुको जराहरूले जमिन छोडौंला गरे होलान् जब उसको कपालका जराहरू लुछिए। शरीर हिलो माटोमा पिठो जसरी मुछिँदा, आमाले पकाइराखेको रोटीले उसको बाटो हेर्दै थियो होला। आत्था भन्दै आलीलाई ऐड्ढया हुने गरी उसको हातले झार उखाले होला। त्यो पीडा पोहोर बार्दलीको झ्यालले औंला च्याप्दाभन्दा बढी भयो होला।
ग्राभेल बाटोमा निर्जीव साइकलको सिटले चोट दिएजसरी सजीव मान्छे पनि सिट बन्यो। सिटभन्दा बढी ऊ ढिट बन्यो। आँखा चिम्लेर एथलिट बन्यो।
सरकार ! अब... एकछिन पज भएर आफ्नो मोबाइल हेर। मोबाइलको वालपेपरमा सँगै भएकी तिम्रो छोरी, निर्मलाको ठाउँमा हुन्थी भने ? अस्ति बर्थ डेमा तिम्ले गिफ्ट दिएको नीलो प्यान्ट रगतमा लतपत रातो भएर घुँडासम्म खोलिएको हुन्थ्यो भने ? निर्मलाको सुरुवाल पनि त उसको बुवाको पसिनाले किनेको थियो। त्यसमा रगतको छिटा देख्दा, पसिनाको थोपा कति रोयो होला ?
कल्पना गर न, सरकार। रेलको कल्पना गर्ने तिमी, छोरीलाई निर्मला बनाउँदा तेल निस्कियो नि ? तिम्लाई सोच्दा गाह्रो भयो, यज्ञराजलाई भोग्दा के भयो होला ? तिम्रो निधारको पसिना त एसीले सर्लक्कै सुकाइदिन्छ। वेदनामा दुर्गादेवीको आँखाको आँसु सुकाउन भारतबाट कुन एसी आयात गर्छौ ?
वर्ष दिन बित्यो, साथीको घरमा गृहकार्य गर्न गएकी छोरी नफर्किएको।
गएको हप्ता नानी ढिला घर आई। छटपटीले चोकसम्मको ओहोरदोहोर, फोन नउठ्दाको नाकभरिको पसिनामा प्रस्ट देख्दै थिएँ, आमाको डर अनि बेचैनी। ९ बजेसम्म घर नआउँदा, आमाको अनुहारमा १२ बजिसकेको थियो। त्यो आमाको अनुहारमा १२ बजेको एक वर्ष भयो तर घण्टाघर नजिकको सिंहदरबारले देखेको छैन। के सिंहदरबारमा उल्लुहरू बस्छन् ?
पोहोर साल बैनी छतबाट लड्दा गालाभरि आँसु बगाएर माँले मेरो छोरी मेरो बाबा भन्दै हस्पिटल लग्नुभयो। तर त्यो आमाले छोरी गुहार्दै रुँदै उखुबारीमा लड्दा लाससमेत अंकमाल गर्न पाइनन्। नानी दुई टाँका लगाएर आफैं हिँड्दै घर आई तर निर्मलाको साइकल मात्र, अरूसँग गुड्दै घर आयो। म मेरो माँको त्यो बेलाको डराएको आँखा सम्झेर महसुस गर्न सक्छु, निर्मलाको आमाको निचोरिएको मनको अमिलो बाध्यता। कर र महसुलमा अड्किएको सरकार, तिमीले कैले महसुस गर्ने ?
कागले चल्ला लाँदा त कुखुरी दिनभर क्वार क्वार गर्दै करेसतिर खोज्छे। त्यो आमाको चल्लीलाई त कालले लग्यो। सन्तान सबैलाई उस्तै हुन्छन्। म कामना मात्र गर्न सक्छु, सरकारको सन्तानलाई दुर्गादेवीको बाघले नलगोस्। उखुबारीमा भेटिएको चप्पल, आमासँग हाटमा बल्लबल्ल भेटिएको थियो। बुवाको पैसामा आमाको हातले किनिदिएको एक जोरी चप्पललाई बिजोरी बनाएर मिल्काउने हातमा हत्कडी कहिले लाग्छ ? त्यो हातमा हत्कडी नलगाउन तिमीले अपनाएका हत्कण्डाहरू बाहिर आयो भने ? पक्कै त्यो हत्कडीको गोलाकार ठूलो भएर फाँसी बन्नेछ। त्यो फाँसी तिम्रो गालामा पर्यो भने केही गम छैन। हार मानेर, यज्ञराज र दुर्गादेवीको गलामा पर्यो भने तिमी त्यही लाससँग सती जानुपर्छ किनकि सबै बाउआमा गंगामाया अधिकारीजस्तो पहाड हँदैनन्।
उसको स्कुलको झोला घरको कुनै कुनामा धुनामा परेको छ। नयाँ किताबका गाताले वर्ष दिनभरि नाता पनि गाँस्न पाएनन्। निर्मला आउँछे र स्कुल लैजान्छे भनेर कुरेको पनि एक वर्ष भयो। अक्षरहरू आक्रोशमा छन्। २.० फिल्ममा मोबाइल पसेर मान्छे फुटेजसरी ती अक्षर तिमीभित्र पसे भने ? ती किताबका पाठहरूबाट सर्वसहमतिमा ‘अ प रा अनि धी’ चारवटा अक्षर सिंहदरबारको ‘सिंह’ छोप्न आउँदै छन्। कञ्चनपुरमा फेरि कफ्र्यु लगाउने कि सरकार ? कि त्यो अक्षरलाई अन्धाधुन्द गोली चलाउने ? अपराध गर्ने र न्याय दिन नसक्ने दुवै अपराधी नै हो।
अपराधीको स्थान जेल हो, तिम्लाई सिंहदरबार सुहाएन सरकार। सबभन्दा राम्रो उपाय भन्दै छु, सिंहदरबारको बोर्ड नै हटाइदेऊ। त्यसपछि त सिंह छोपिने कुरै भएन। ओहो, फेरि तिम्रो निधार पछि त खाली छ। राष्ट्रियता झल्काउने टोपी तल निधारमा ‘अ प रा धी’ आएर टाँसियो भने ? आपैंm टाउको काटेर फाल्न त सक्दैनौ होला। तर सरकार, दुर्गादेवीले आफ्नो मुटुको टुक्रा नै काटेर फाली। टाउको काटिनु र मुटु काटिनु, दुवैमा मान्छे त मर्छ नै। तर हेर न, त्यो आमा मरेर पनि जिउँदै छे।
३६५ वटा रात छोरीको अनुहारले निद्रामा ऐँठन पर्दा, पानी पिउन हात काम्ने आमालाई, तिमीले सरकारी कार्यालयमा पानी पिलाउने जागिर दियौ। यही हो न्याय ? के अब बिस्तारै नेपालमा जागिर खानका लागि लोकसेवा लड्न छोडेर छोरी, बैनी, बुहारी बलात्कार गराउँदै हिँड्ने ? विधेयक संशोधन गरेर लेखिदेऊ संविधानमा, ‘पढे लेखेको हकमा सर्टिफिकेटअनुसार, अनुभवको हकमा अनुभवको म्यादानुसार र दुवै नभएको खण्डमा छोरी बलात्कार भएपश्चात् मात्र जागिर दिइनेछ।’
ती आमाको हातले तिमीसँग मासिक तलब मागेको छैन। सक्छौ भने एकमुष्ठ न्याय देऊ। मारिएर जाने मान्छे गइसकी। बाँचेका ती परिवारलाई वर्षभरि मार्यौ तिमीले। ३६५ पटकको सफल हत्यामा कति पटक तोपको सलामी चाहिन्छ ? टुँडिखेलमै सलामी दिने कि त्यही उखुबारीमा ? जहाँ निर्मलाको लास रातभर पानीमा ढाडिएको थियो।
बर्खाको पानीमा बसेलीमा, कागजको डुंगा बगाएको त्यो हातलाई के थाहा, एक दिन यही बर्खाको पानीमा रातभर सास बगाएर बस्नुपर्छ भनेर। सरकार ! तिम्रो छोरीलाई पनि कागजको डुंगासँग खेल्न खुब रहर लाग्छ नि है ? देशलाई एउटा घर मान्छौ भने निर्मलाको हत्या तिम्रै आँगनमा भएको हो। निर्मला पनि तिम्रै छोरी हो। कसरी भनेर नसोध। भाषण गर्दा ‘दाजुभाइ तथा दिदी बहिनी’ भनेर भन्ने तिम्रो मुखले निर्मलालाई छोरी वा भान्जी किन देख्न सकेनौ ?
उसको भाग पाकेको खाना अँगेनाअगाडि धेरै दिनसम्म त्यसैगरी थियो होला जसरी उसको लास जिल्ला प्रशासनअगाडि। खाना पनि बासी भयो। र, लास पनि। तर घटना अझै ताजै छ। तिमी बासी बनाउन नखोज। नत्र सरकार तिम्रो नियत देशभरि गनाउनेछ। लास बुझ्न मञ्जुरीनामामा सही गर्न कर लगायौ। त्यसरी कर त निर्मलाले बुवालाई साइकल किन्न पनि गरेकी थिइन होला।
निर्मलाको बिहेको बिदाइमा बग्नुपर्ने आँसु, समयभन्दा पहिला नै बगेर गयो। सोह्र दिनको साइतमा फर्काउन जन्माएकी छोरी अब कहिल्यै पनि फर्किन्न। त्यो साँझ अँगेनामा छोरीको लागि मकै पोलेर बसेकी आमाको अगाडि केही दिनपछि त्यही छोरी पोलिँदा, आमाको के चैँ पोल्न बाँकी थियो होला र ? तिमीले निर्मलाको शरीरलाई मकैसरि बनायौ। पहिला खोस्टा खोलेर नांगै पारियो। सास गयो। अनि पोलियो। जो पोलिँदा पनि तिमीलाई केही असर भएन।
सरकार ! तिम्री छोरी पनि त यही बारीमा उम्रेकी छे। कसैले उसलाई पनि त मकै बनाउन सक्छ। के मकै पोलेजसरी तिमी आफ्नो मुटुको टुक्रा पोल्न सक्छौ ? सक्दैनौ भने, त्यो अपराधीलाई पोल, जसले पन्त परिवारको आँगनमा जन्त ल्याउने सपनाको बलात्कार गर्यो। त्यो साँझ निर्मलाले हात जोडेर ‘न–गर’ भनेको कसैले सुनेन। तर सारा देशले सुन्ने गरी, सबैको आवाज एउटै छ ‘गर न’ सरकार। केही त गर न।
बाराको पूजा सम्झिन्छौ ? ६ वर्षकी बच्ची। पोखराकी श्रीया सुनार याद छ ? १० वर्षकी बालिका। भाँडाकुटी खेल्ने उमेरकी बच्चीलाई कुटीकुटी मार्ने ? ‘यो सामान्य घटना हो’ भन्ने तिम्रो अभिव्यक्तिलाई माझी औंलाको कोटी कोटी नमस्कार।
बलात्कार सामान्य हो। चिमोट्दा दुख्ने छालामा कोपर्नु सामान्य हो ? दुई चुल्ठी बाटेर रिबन बाँध्ने कपाल लुछिनु सामान्य हो ? कोपिलाजस्तो छाती निमोठिनु सामान्य हो ? कपडालाई नाना भन्ने उमेरको बच्चीको कपडा च्यातिनु सामान्य हो ? सरले गाली गर्दा साँझ आमाको फरिया समाएर रुने नानीहरूले सुनसान ठाउँमा दुख्यो भनेर चिच्याउनु सामान्य हो ? बलात्कारको अर्थ नबुझेका नानीहरू बलात्कृत हुनु सामान्य हो ? सामान्य हो भने, सरकार यो सामान्य घटना तिम्रो घरमा पनि घटोस्। अनि सारा देशले भन्नेछ, ‘यो त सामान्य घटना हो, घटिरहन्छ।’ (म माफी चाहन्छु। खासमा यस्तो तिम्रो वा कसैको घरमा नघटोस्।)
त्यो बेला तिमीले केही समयअगाडि असामान्य व्यवहार गरेको यज्ञराजलाई सम्झनेछौ। अनि बुझ्नेछौ, छोरी बलात्कार हुनु भनेको मुटु निस्किएर हातमा आउनु हो।
आन्दोलन भयो, तिमी निर्दयी भयौ। आवाज उठ्यो, तिमी निद्राबाट उठ्न सकेनौ। न्यायको माग हँदा, फिर्तामा गोली दियौ। अनुसन्धानको प्रगति माग्दा, जे मन लाग्यो त्यही बोली बोलि–दियौ। आफू ढल्ने डरले, निर्दोेषलाई उभ्याइदियौ। देश तात्यो, तिमी सेलायौ। न्याय दिनु पर्ने तिमीले, न्याय माग्न सिकायौ। न्याय भीख हो सरकार ?
हो भने, हर घरमा ग्यासको पाइप लाइन चाहिएन, कचौरा वितरण गरिदेऊ। किनकि ‘यस्तो घटना त हिजो पनि भएको थियो, भोलि पनि हुँदै गर्छ’, हैन त सरकार ? यसको मतलब मेरो बाउ आमा पनि त यज्ञराज र दुर्गादेवी हुन सक्छन् ? मलाई न्याय माग्न कचौरा चाहियो सरकार। कचौरा वितरण गरियोस्।
तिमीले नसक्ने के छ ? एक वर्षसम्म यो आक्रोशलाई थामथुम गर्न सक्नेले, हत्यारा पत्ता लगाउन सजिलै सक्छ। तिमीले सुन काण्डको गोरेलाई समायौ। अपराधको आकाशमा स्वतन्त्र उडेको चरीलाई खसाल्यौ। अपहृत तीन नेपाली विद्यार्थीलाई थाइल्यान्डबाट सकुशल नेपाल पनि त ल्यायौ। देशको सीमाबाहिर सफल हुन सक्नेले, देशभित्रै विफल भएको देख्दा भोट हाल्ने यी हातलाई के भनेर सम्झाउनु हामीले ? गर न सरकार, केही त गर।
निर्मलाको भीमदत्त नगरले पनि गर भन्दै छ। निर्मलाको ‘न–गर’ चित्कारलाई न्याय दिन हामी सबै ‘गर न’ भन्दै छैां।
प्रतिवेदनको प्रगति देखाउँदा तिम्रो घरको केही जान्छ र ? अपराधीलाई हत्कडी लगाउँदा तिम्रो इज्जत फुस्किन्छ र ? त्यो मान्छेलाई सार्वजनिक गर्दा तिमी भूमिगत हुने अवस्था आउँछ र ? अपराधीलाई सजाय सुनाउँदा तिम्रो कानको जाली फुट्छ र ? अपराध ढाकछोप गरेर के पायौ ? ढिलासुस्ती गरेर के पाउँदै छौ ?
हरसालको बजेटजस्तै तिमी घाटामा छौ सरकार। जनताको विश्वास गुमाउँदै छौ। त्यति धेरै प्रतिवेदन, त्यतिवटा समिति, त्यति धेरै अनुसन्धान र अन्त्यमा निचोड छैन। जाँचपास गर्न नसक्ने पढाइको के अर्थ ? गर्न सक्ने विद्यार्थी फेल हुँदा, शिक्षकलाई साह्रै पिर पर्छ। सारा नेपाली पिरमा छन् सरकार। निर्मलाको जाँचमा तिमी किन फेल भयौ ?
मलाई लाग्छ, तिमी पास हुन चाहँदैनौ। कि कतै त्यो साँझ, तिम्रो अन्याय अदालतको पर्खाल नाघेर कञ्चनपुर त पुगेको थिएन ? कतै शुक्रकीटको स्याम्पल लिन तिम्रो वरिपरि छुट्यो कि ? चोकचोकमा सीसी टीभी राख्न सक्ने सरकारसँग पर्खाल नाघेको फुटेज पनि त छ होला नि। त्यो फुटेज हेरौं न सरकार।
सबैलाई हेर्ने मन छ, तिम्रो अन्यायको अनुहार कस्तो छ ?
@subedishreyaj