भित्रियो अलफ्ट ब्रान्ड
काठमाडौं : नेपालमा होटलको नयाँ ब्रान्ड अलफ्ट भित्रिएको छ। अन्तर्राष्ट्रिय चेन होटल मेरियट इन्टरनेसनलले उत्कृष्ट ब्रान्ड अलफ्ट औपचारिक रूपमा नेपाल भित्र्याएको हो। यो होटल ब्रान्डले ‘अलफ्ट काठमान्डु ठमेल’बाट नेपालमा औपचारिक सुरुवात गरेको हो। ठमेलस्थित छायाँ सेन्टरमा रहेको यो होटल ब्रान्ड नेपालका लागि नयाँ भएको होटलले जानकारी दिएको छ।
नेपाल भित्रिएको यो ब्रान्डको अलफ्ट काठमान्डु ठमेललाई भारतीय आतिथ्य सत्कार व्यवस्थापन कम्पनी शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) ले व्यवस्थापन गरेको छ। अलफ्ट काठमान्डु ठमेलमा आकर्षक बार, स्थानीय हस्तकला स्टोर र स्वादिष्ट खानपानको सुविधा छ।
अलफ्ट काठमान्डु ठमेलका महाप्रबन्धक विक्रम सिंहले नेपालको राजधानी काठमाडौंमा यस खालको ऊर्जावान ब्रान्ड सुरुवात गर्न पाउनु नै उत्साहको विषय भएको बताए। उनले आतिथ्य सत्कार उद्योगको बजारमा भिन्नै पहिचान निर्माण गर्न होटल सफल हुने बताए। सहर–प्रोत्साहित पाहुना कोठा, ऊर्जावान लाउन्ज, उत्कृष्ट प्रविधियुक्त सेवा, स्वादिष्ट खाना तथा पेयका विकल्पसहित पाहुनालाई सेवा उपलब्ध गराउन होटल प्रतिबद्ध रहेको सिंहको भनाइ छ।
‘अलफ्ट ब्रान्डमार्फत नेपाल भ्रमणमा आउने नयाँ पुस्तालाई होटलले सजिलै आकर्षण गर्न सक्नेछ। सहरी ढाँचामा निर्माण गरिएको अलफ्ट काठमान्डु ठमेलमा एक सय ६७ ठूला कोठा छन्। पाहुनाका लागि पर्याप्त खुला ठाउँ उपलब्ध छ। पाहुनाले डब्लूएक्सवाईजेड बारमा उत्कृष्ट पेयको मजा लिन सक्ने पनि होटलले जानकारी दिएको छ। यहाँ उदीयमान स्थानीय कलाकारका गीत–संगीतका नियमित प्रस्तुतिका साथमा कक्टेल र मक्टेलको मज्जा लिन सकिने होटलको भनाइ छ।
होटलको सहरी क्याफे स्टाइलको रेस्टुरेन्ट ‘नुक’मा पूरै दिन क्षेत्रीय र अन्तर्राष्ट्रिय खानाको मज्जा लिन सकिने व्यवस्था गरिएको छ। होटलमा स्पा, २४सैं घण्टा फिटनेस क्लब तथा पुलसाइडमा ‘अकुवा’ नामक बार छ। होटलको छानामा चाँडै ‘नीलगिरि स्काई लाउन्ज’ र पछाडिपट्टि ‘ब्याकयार्ड’ नामक अलफ्रेस्को लाउन्ज छ।
क्याफे स्टाइलको रेस्टुरेन्ट ‘नुक’मा पूरै दिन क्षेत्रीय र अन्तर्राष्ट्रिय खानाको मज्जा लिन सकिन्छ।
छायाँदेवी कम्प्लेक्समा रहेको यस होटलमा दुई सयभन्दा बढी विश्वस्तरीय ब्रान्डका आउटलेट, मल्टिप्लेक्स थिएटर, रेस्टुरेन्ट, ब्युटी सलुन, स्पा सेन्टर, नाइट क्लब, क्यासिनो, तीन सय ५० भन्दा बढी गाडी पार्किङ सुविधा छ।
होटलमा उच्च गतिको इन्टरनेट सुविधासहित दुईवटा ‘स्टेट अफ दी आर्ट’ सम्मेलन कक्ष, एक हजार तीन सय ९५ वर्गफिट क्षेत्रफलको ब्याङक्वेट हल छ। व्यापारिक भेटघाट, सम्मेलन दिउँसो तथा राति आयोजना गर्न सकिने विभिन्न कार्यक्रमको सुविधा पनि यसले दिएको छ। नियमित भ्रमण गरिरहने र जीवन्त सामाजिक दृश्यबाट मनोरन्जन लिन चाहने पर्यटकलाई अलफ्ट काठमान्डुले उपयुक्त सेवा–सुविधाको व्यवस्था गर्छ। संगीत, खाना र पेयलाई केन्द्रमा राखेर अलफ्ट काठमान्डुले अन्य परम्परागत होटलका तुलनामा भिन्नै परिचय दिएको होटलले जानकारी दिएको छ।
अलफ्ट विभिन्न २६ देशमा १४० भन्दा बढी होटल सञ्जाल भएको ब्रान्ड हो। अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई मनोरन्जन प्रदान गर्दै आएको छ।